वि.सं. १७७९ पुस २७ गते अर्थात् आजकै दिन विशाल नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्म भएको थियो । पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका सन्तानको रुपमा जन्मेका पृथ्वीनारायणले आजको वर्तमान विशाल नेपाल एकिकरणको अभियान थालेका थिए । २२ से र २४ राज्यका रुपमा बिभाजित स–साना राजारजौटाहरुलाई एकिकृत गरेर विशाल नेपाल निर्माणको लागि सपना देखेरै त्यस सपनालाई मूर्तरुप दिनका लागि अहोरात्र खट्दै अहिलेको विशाल नेपाल निर्माणको महान अभियान थालेका उनै शाहको जन्मदिनलाइ नै एकता दिवसको रुपमा मनाइदै आएको छ । आज भन्दा तीन सय वर्ष पहिला पनि निकै पछि सम्मको सोचाइ अनि भविष्यको बारेमा अध्ययन गरेर त्यसका लागि चालिएको कदम अहिले पनि निकै अपरिहार्य छ ।
एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक महान राजा पृथ्वीनारायण नै थिए । विश्वभर ब्रिटिस साम्राज्यले हडप्दै गएको समयमा त्यो भन्दा पहिल्यै गोर्खाली साम्राज्य विस्तारका लागि अघि बढे र उनको अभियानलाई निरन्तरता दिँदै पूर्वमा टिस्टा र पश्चिममा काँगडा सम्मको नेपाल निर्माण भयो । तर पछि बेलायती महाशक्ति संग सम्झौता गर्दा इष्ट इन्डिया कम्पनिले नेपालको धेरै भूभाग हडप्यो र अहिलेको नेपाल रहन गयो । तर पनि उनको अभियान खेर गएन । स–साना टुक्रामा खण्डखण्ड भएको राज्य विशाल राज्यको रुपमा अगाडी आयो र अहिले सम्म कसैको गुलाम बन्न परेन यसको श्रेय पनि उनै राजालाई नै जान्छ ।
पृथ्वीनारायण शाहलाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र आफ्नोपनलाई जोगाइराख्न झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो । त्यो कुनै कालखण्डमा आएको समयक्रमले हाम्रो हातबाट फुत्काएर लग्यो । तर पनि हामी संग विशाल नेपाल अनि त्यसकोलागि बिगुल फुक्ने र विश्वभर विर गोर्खाली भनेर चिनाउने एउटा अमर छाप बाँकी नै छ । त्यसैले आजको दिनमा पृथ्वीनारायण शाहको सकारात्मक कदमलाई शिरोधार्य गर्दै अगाडी बढौं । एकता दिवसको शुभकामना ।
Previous Articleभारतमा अहिले सम्मकै ठूलो ह्याकर आक्रमण, करोडौं डलर चोरी
Next Article होस ठेगानामा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिने