अहिले विश्व क्रिकेटमा नेपालको उपस्थिति त्यत्ती दमदार नभए पनि नेपाली क्रिकेटर सन्दीप लामिछाने विनाको कुनैपनि फ्रेन्चाइज प्रतियोगिता हुँदैनन कि जस्तो हुन थालेको छ । नेपाली खेलाडीमा क्षमता तथा प्रतिभाको कुनै कमि छैन भन्ने कुरा सन्दीपले प्रष्ट पारेका छन् । यो त भयो क्रिकेटका कुरा लागौं अब नेपाली भलिबल तिर्फ । लामो समय सम्मको खडेरीलाई चिर्दै जब २०७० मा नेपाली महिला भलिबलको राष्ट्रिय टिमको छनौट भयो त्यही समय देखि म्याग्दीका दुई जना त्यस टिमका प्रमुख सदस्य भए । ती थिए म्याग्दी रुमकी कमला पुन र पिप्लेकी अरुण शाही । अहिले हामी यहाँ कमला पुनको वारेमा चर्चा गर्दै छौं ।
बाल्यकाल
म्याग्दी जिल्लाको साविक रुम गाविसमा २०५१ कार्तिक २० गते बाबा चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको कोखबाट दोश्रो सन्तानको रुपमा जन्मेकी कमला पुनले आफ्नो बाल्यकालमा अमर ज्योती प्रावि रुम डाँडागाउँमा अध्ययन गरेकी थिइन् । कक्षा ५ सम्मको अध्ययन पछि राष्ट्रिय मावि रुममा कक्षा ६ मा केही समय अध्ययन गरेपछि उनी लागिन ओखरबोट मावि ओखरबोट तर्फ । त्यस विद्यालयमा पनि लामो अध्ययन भने उनको भएन । कक्षा ८ पढ्दै गर्दा उनमा भएको भलिबल खेलको प्रतिभा र उनीमा भएको लगाबका कारण उनलाई पु¥यायो काठमाडौंको एन्जलहार्ड विद्यालयमा । उनले एसएलसी परीक्षा एन्जलहार्टबाट दिइन् । त्यस पछि उनको पढाइलाई भलिबलले सर्लक्क निल्यो अर्थात् पढाइ भन्दा पनि भलिबलबाटै अगाडी आइन् र अहिले सम्म पनि त्यसैमा छिन् ।
बाबा सँगको विछोड
कमला ९ वर्षको उमेरमा उनका बाबाले संसार छाडेका थिए । २०६० सालमा बाबा गुमाएकी कमलाले अध्ययन सँगै भलिबललाई पनि प्राथमिकता दिँदै आएकी थिइन् । उनको भलिबल खेलप्रतिको लगावका कारण गाउँमा हुने मेला पर्वहरुमा पनि सहभागिता अनि पुरस्कार जित्ने क्रम निरन्तर थियो । त्यसै शिलशिलामा उनले २०६४ सालमा बीरेन्द्र शिल्ड प्रतियोगितामा ओखरबोट माविको भलिबल टिमबाट आएकी कमला जिल्ला स्तरमा छनौट भएर क्षेत्रीय स्तरको प्रतियोगिताका लागि स्याङ्जा पुगेकी थिइन् । स्याङ्जामा भएको पश्चिमाञ्चल क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उनी पश्चिमाञ्चल क्षेत्रीय टोलीमा छनौट भइन् । उनी सहितको टोलीले काठमाडौमा भएको राष्ट्रिय स्तरको वीरेन्द्र शिल्ड अन्तरगतको भलिबल प्रतियोगिता नै जित्यो र त्यस बेला पिप्लेकी अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । त्यसबेलाको प्रदर्शनको कारणले गर्दा ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा एन्जलहार्टको टोली खेल्ने भएपछि कमलालाई एन्जलहार्टको टोलीमा बोलाइयो । पढाइ सँगै खेललाई पनि अगाडी बढाइ रहेकी कमलाले २०६९ देखि नेपाल प्रहरी क्लबबाट खेल्न थालिन भने २०७० देखि प्रहरीमा जागीर खानै थालिन् । सोही वर्ष राष्ट्रिय टोली घोषणा भए सँगै उनी निरन्तर राष्ट्रिय टिमको महत्वपूर्ण सदस्यका रुपमा रहेकी छिन् ।
कुनै पनि भूमिकामा फिट हुने कमला राष्ट्रिय टिममा लिब्रोको भूमिकामा छिन् भने पुलिस क्लबबाट भने सबै पोजिसनमा खेल्छीन् । एसएलसी पछि कक्षा ११ को परीक्षाको समयमा चीनमा भएको भलिबल प्रतियोगितामा सहभागिता जनाउनु पर्ने भएकाले उनको पढाइ अगाडी बढ्न सकेन । चीन अनि अर्को वर्ष भियतनामको प्रतियोगिताले गर्दा पढाइ भन्दा पनि खेलमै बढी फोकस गरायो । पहिलो पटक कमलाले २०७० मा पाँचौं एसियन बीच भलिबल प्रतियोगिता चीनमा खेलेकी थिइन् । अहिले सम्म उनले माल्दीप्स, भियतनाम, चीन, भारत लगायतका देशमा गएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी छिन् । माल्दीप्समा भाएको एसियन गेममा तेश्रो र दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगितामा तेश्रो भएको उनको उपलब्धी मुलक खेल हुन् ।
भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको भएपनि पछिल्लो पाँच वर्षको अवधिमा मात्र छ वट अन्तर्राट्रिय खेलमा नेपालले सहभागिता जनायो र त्यसमा पनि कमलापनि सहभागी भइन् । तीन वटा अन्तर्राष्ट्रिय इन्डोर गेम भए भने तीन वटा बीच भलिबल प्रतियोगिता । दक्षिण एसियाली भलिबल प्रतियोगिता, साग, ५ औं एसियन खेल, एविसी सेन्ट्रल जोन भलिबल माल्दीप्स, ओलम्पीक छनौट, दक्षिण एसियाली आमन्त्रण भलिबल लगायतका प्रतियोगिता कुनैमा पनि छुटिनन् कमला ।
कहिले मिल्यो त पहिलो पदक र पुरस्कार
पहिलो पटक रुम गाविसले आयोजना गरेको भलिबल प्रतियोगितामा कमलाले मेडल पाएको याद छ । उनले मेडल पाएको पहिलो प्रतियोगिता भनेकै गाविसले आयोजना गरेको २०६१ को थियो र त्यस बेला त्यसलाई तक्मा भनिन्थ्यो गाउँमा । त्यस बखत खेल जितेर तक्मा बोकेर घर पुगेकी थिइन कमला । त्यस पछि २०६४ मा भएको वीरेन्द्र शिल्ड प्रतियोगितामा पश्चिमाञ्चलको टोलीले राष्ट्रिय स्तरमा जितेको थियो । त्यस बेला वीरेन्द्र शिल्ड जिल्ला शिक्षा कार्यालयले आयोजना गर्ने गर्दथ्यो । पहिलो पटक शिक्षाबाट त्यही समय एक हजार रुपैंया पाएकी थिइन् । त्यसबेला लामो समय बेनी स्याङ्जा, काठमाडौ हुँदै फर्केर घर पुगेर आफ्नो पहिलो कमाइ अर्थात् पुरस्कार आमालाई दिएकी थिइन् । खेलेर केही हुँदैन भन्ने समाज घरमा पुग्दासाथ सुरुमा त अमाले खेद्नु भयो तर पछि कन्भीन्स हुनु भयो ।
भलिबल प्रतियोगितामा कमलाको सहभागिता
अहिले देशमा भने थुप्रै लिग भलिबल प्रतियोगिता र अन्य प्रतियोगिता पनि हुन्छन् । नियमित रुपमा ढोरपाटन डबल लिग भलिबल प्रतियोगिता हुन्छ । भने महिला भलिबल लिग काठमाडौमा २०१८ मा भएको थियो । भलिबल संघ र भारतको आदी आवादी फाउण्डेसनले संयुक्त रुपमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । त्यस्तै नेपाल गञ्जमा भएको पहिलो प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा कमलाको टिम पुलिस क्लब पहिलो भएको थियो । त्यस्तै कुश्मामा हुने रेडियो दिदीबहीनीको आयोजनामा हुने महिला भलिबल, राष्ट्रिय खेलकुद प्रतियोगिता, एपीएफ आइजीपी कप लगायतका १० भन्दा बढी भलिबल प्रतियोगितामा देशमा सञ्चालन हुने र सबैमा कमलाको टिमको सहभागिता रहने गरेको छ ।
अन्तर्राष्ट्रिय खेलमा के कस्तो छ त?
कमला राष्ट्रिय टिमबाट सहभागि भएको पहिलो दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता २०१४ मा नेपालले दोश्रो स्थान हासिल गरेको थियो । त्यस्तै दक्षिण एसियाली खेलकुद प्रतियागिता साग २०१६ मा नेपाल तेश्रो भएको थियो । अन्य डोमेस्टीक खेलकुदमा भने व्यक्तिगत अवार्डहरु थुप्रै हात लागेका छन् कमलालाई ।
को को छन् त प्रतिस्पर्धी ?
नेपाली राष्ट्रिय टोली सहभागि प्रतियोगितामा पनि नेपालले पोजिसन हात पार्दा कमलाले पनि उत्कृष्ट विधाका केही न केही अवार्डको आशा गरेकै हुन्छीन् तर घरेलु प्रतियोगितामा कमलाका प्रतिस्पर्धीहरु न्यू डाइमण्डकी सलिना श्रेष्ठ, एपिएफकी ज्योती चौधरी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने लिब्रोमा उनी निकै जमेकी छिन् । नेपालले पोजिसन हात पारेको खण्डमा कमलाले पनि व्यक्तिगत उपाधि उचालेकै हुन्छीन् ।
अहिले सम्म पाएका ठूला पुरस्कार
कमलाले व्यक्तिगत रुपमा धेरै पुरस्कारहरु जितेकी छन् । उनले ढोरपाटन लिग भलिवलमा उत्कृष्ट हुँदै २ पटक स्कुटर जितेकी थिइन् । पहिलो पटक एन्जलहार्टमा हुँदै जितेकी थिइन् भने पछि पुलिसको जागिरे भएपछि तर अहिले जितेका दुवै स्कुटर उनी सँग छैनन् । उनले दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग)मा नेपालले तेश्रो स्थान अर्थात् कास्य पदक जितेपछि नेपाल सरकारले प्रदान गरेको १ लाख नेपाल भलिबल संघले १० हजार र नेपाल प्रहरीबाट १० हजार नगद पुरस्कार प्राप्त गरेकी थिइन् । त्यस्तै दक्षिण एसियाली भलिबल प्रतियोगितामा २५ हजार रुपैंया नगद प्राप्त गरेकी थिइन् ।
सँधै सम्झने
इम राना कमलाले सँधै सम्झने र भूल्नै नसक्ने व्यक्ती हुन् । नेपालको राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लब भलिबल क्याप्टेन रानाले कमलालाई भलिबलमा सँधै सहयोग गरे र गरि रहेका पनि छन् । रानाले कमलालाई खेल्ने तौर तरिकाहरु सिकाउनुका साथै बाँच्ने तरीका पनि सिकाउछन् । कसरी खेल्दा सहज हुन्छ भन्ने सन्दर्भमा इम रानाको शुझाबलाई कमला सँधै शिरोधार्य गर्दछिन् । त्यस्तै मिडियाको क्षेत्रमा अमृत बास्कुने । कमलाले पहिलो पटक कुनै मिडियाका लागि अन्तरवार्ता गरेकी थिइन् भने त्यो अमृत बास्कुने सँग थियो ।