म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारको विरेन्द्रचोक टोल सुधार समितिले शनिबार सहयोगदातालाई सम्मान गरेको छ । टोल सुधारको अभियानमा आर्थिक सहयोग गर्ने चन्दादाता सम्मान तथा भाडामा बस्नेलाई स्वागत र विदाई गरिएको हो ।
वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समाजसेवी रुपप्रसाद पुन, श्रीमती खमिस्ता पुनलाई सम्मान गरिएको थियो । पुन दम्पत्तिले टोल सुधारका अभियानका एकलाख २५ हजार बराबरको सहयोग गरेका थिए । सम्मान कार्यक्रममको अवसरमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले नगरपालिका भित्रको नमुना टोल सुधार समितिको रुपमा चिनिएको बताए । उनले टोलवासीको सक्रियताले टोल विकासमा सरकारी बजेटलाई नै कुर्ने प्रवृत्तिको अन्त्य गरेको समेत बताएका छन् ।
यसैगरी समाजसेवी सुवासकुमार श्रेष्ठले हरेक रचनात्मक कार्यले टोलवासी हुनुमा गर्व लागेको प्रतिक्रिया दिए । सोही अवसरमा टोल सुधार समितिले टोलवासी सृजना भट्टचन, मानुष गौतमको जन्मदिन समेत मनाइदिएको थियो । टोलभित्र रहेका २२ घरधुरीका सदस्यको जन्मदिन टोल सुधार समितिमार्फत मनाउने घोषणा समेत गरिएको छ । कार्यक्रममा भट्टचनले चारहजार र श्यर्ली गौतमले तीनहजार एकसय रुपैयाँ सहयोग समेत गरेका थिए । कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले मन्तव्य राखेका थिए ।
कार्यक्रम टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठको अध्यक्षता, सल्लाहकार कुलप्रसाद श्रेष्ठको स्वागत र सचिव लालबहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । टोल सुधार समितिले सार्वजनिकस्थल वरिपरीको फोहोर, नाली, बाटोघाटोमा हुन फोहोर व्यवस्थापन, युरो गार्ड जडान गरी चौतारीमा निःशुल्क एवं शुद्ध खानेपानी, पदमार्ग, पुरानो चौतारी मर्मत, सहिदस्तम्भ सरसफाई, फुलको बगैंचा, भाडामा बस्नेलाई स्वागत जस्ता रचनात्मक कार्यहरु गर्दै आइरहेको छ ।