बेनीबजारको प्रमुख प्रशासनिक क्षेत्र विरेन्द्रचोकको सरसफाइमा हरेक दिन बिहानै सरसफाइमा निस्कन्छन् दलप्रसाद श्रेष्ठ । टोलका हरेक घरमा सूचना पु¥याउने, हरेक दिन टोलको सरसफाइको अगुवाई नै श्रेष्ठले गर्छन् । बिरामी अवस्थामा घरमा आराम नगरी औषधी खाई हातमा कुचो लिएर सडकको फोहोर उठाउँछन् उनी ।
उनले सरसफाइदेखि निःशुल्क खानेपानी, पुष्प बाटिका, बराहपाखो सामुदायिक वनमा लगाइएको वृक्षारोपणलगायत करिब दर्जनको हाराहारीमा रहेका टोलभित्रका गतिविधिमा हरेक दिन सहभागिता जनाउँछन् । घरभित्रका आफ्ना गतिविधिभन्दा सयौं गुणा उनले टोलका अभियानमा बिताउँछन् । बेनीबजारमा धेरै व्यस्त हुने टोलमा उनले निःशुल्क शुद्ध खानेपानीको सुविधासहित धुलोधुँवामुक्त बनाउने प्रयासले यात्रुलाई समेत सहज भएको छ । सयौंवर्ष पुरानो पिपलको रुखमा विश्राम लिने यात्रुले उनको सक्रियतालाई खुलेर प्रशंसा गर्छन् ।
२०७२ साल असार १३ गते टोल सुधार समितिको गठन भएपछि श्रेष्ठले पहिलो काम घरघरमा ‘फोहोर मलाई’ भन्ने डस्टविन वितरण गरेर अभियानको सु्रुवात भयो । टोलभित्र लोर्डसेडिङमा अँध्यारो हुँदा डिउटीमा बस्ने सुरक्षाकर्मीलाई समस्या भएपछि त्यसलाई मध्यनजर गरी १० वटा सोलार बल्ब जडान गरियो । चोकभित्र पार्किङ क्षेत्र, पिपलबोटमा जोखिम हाँगा कटान, ढलान, द्वन्द्वकालीन समयमा बन्द भएको बहुउदेश्यीय मैदान जोड्ने बाटो नियमित सुचारु तथा फुलको बगैंचा व्यवस्थापनसहित दर्जनौं काम भएका छन् । उनी टोल सुधार समितिका अध्यक्ष पनि हुन् । टोल सुधार समितिमध्ये जिल्लामै नमुना र सकारात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेका श्रेष्ठले आफ्नो घरायसी कामलाई समेत छाडेर टोलको अभियानमा समय खर्चने गरेका छन् । सदरमुकाम बेनीको प्रशासनिक केन्द्र रहेको विरेन्द्रचोक जिल्लामै नमुना टोल सुधार समितिको रुपमा देखिएको छ । ‘मैले घरलाईभन्दा समाजलाई समय दिएको छु, ‘बिरामी हुँदा धेरैपल्ट औषधी हातमै समाएर टोलको काममा जुट्छु’ अध्यक्ष श्रेष्ठले भने । उनले टोलभित्रका गतिविधिमा टोलवासीको सहयोगले आफूले काम गर्न सहज भएको बताए ।
शनिबार सहयोगदातालाई सम्मान कार्यक्रममा उनले आफ्नो कार्यकालमा गरिएका दर्जनौं कार्यहरु प्रस्तुत गदैं अझै धेरै काम गर्ने योजना रहेको बताए । उनले नेपालकै नमुना टोल भएको घोषित भएकै दिन आफू जिम्मेवारीबाट बाहिरिने बताए । सार्वजनिक ठाउँमा खानेपानी, भाडामा बस्नेलाई स्वागत तथा विदाई, टोलवासीको जन्मदिन मनाउने, सरसफाइमा सक्रियलाई पुरस्कार जस्ता थप नयाँ योजनाहरु रहेको बताए ।
बजारभित्र व्यक्तिगत कामलाई प्राथमिकता दिने प्रबृत्ति मौलाइरहेको बेलामा श्रेष्ठको कार्यले टोल सुधार समितिको जिम्मेवारीलाई प्रष्टयाएको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । टोल सुधार समितिसँग सहकार्य गरी सरसफाइसहित विभिन्न अभियान सञ्चालन गर्ने योजना रहेको उनले बताए । बेनी नगरपालिकाले टोल सुधार समितिलाई ५० हजार बजेट विनियोजनका साथै हरेक अभियानमा सहयोग समेत गर्ने गरेको छ । हाल टोलको खातामा करिब तीनलाख बचत रहेको छ । नगरपालिकाले नमुना टोलको रुपमा सम्मान पनि गरिसकेको छ ।
Previous Articleव्यक्तिगत चिठी आउँदैन हुलाकमा
Next Article टोल सुधार समितिद्वारा चन्दादाता सम्मानित