प्रताप बानियाँ
विगतका समयमा व्यक्तिगत तथा पारिवारीक चिठीले भरिभराउ हुने हुलाक कार्यालय पछिल्लो समय खाली जस्तै छ । मोबाइल फोन विस्तारले तिब्रता लिएसँगै इमेल, इन्टरनेट, फेसबुक, म्यासेन्जरसहित सामाजिक सञ्जालको प्रयोग बढेपछि पछिल्लो समय हुलाकमा व्यक्तिगत चिठीपत्र आउन छाडेको हो ।
दिनहुँ सयौं चिठीपत्र आउने हुलाक कार्यालयमा अहिले कहिलेकाहीं मात्रै चिठी आउने गरेका छन् । त्यो पनि व्यक्तिगत नभई संघसंस्था र केही कार्यालय वा सदरमुकामबाट निस्कने पत्रपत्रिका मात्रै जिल्ला हुलाक कार्यालयमा पुग्छन् । विगतमा खासगरी विदेशबाट धेरै चिठीहरु आउने गरेको भए पनि अहिले चिठी आउन छाडेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
पछिल्लो समय जिल्ला हुलाक कार्यालयमा व्यक्तिगत र पारिवारीक चिठी आउन छाडेको जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले बताइन् । प्रमाणहरु पेश गर्नुपर्ने चिठी र स्वदेश तथा विदेशमा पठाउनुपर्ने पार्सलहरु आउने गरेको बताउँदै उनले पहिले–पहिले घरायसी र पत्रमित्रताका चिठीहरु थुप्रै आउने गरेपनि अहिले त्यो घटेको बताएकी छिन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै हुलाकमा सामान्य चिठी मात्रै पुग्ने गरेका छन् ।
अहिले पुग्ने चिठी पनि साधारण चिठीपत्र र राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरु रहेको इलाका हुलाक कार्यालय बाबियाचौरका कम्प्युटर सहायक पवित्रा सापकोटाले जानकारी दिइन् । सबैको हातहातमा मोबाइल फोन र इन्टरनेटमाथि पहुँच बढेको हुँदा हुलाकमा चिठी आउने क्रम ह्वात्तै घटेको उनले बताइन् । व्यक्तिगत रुपमा केही रजिष्टर चिठी र बैंक तथा वित्तीय संघसंस्थाका चिठीपत्र आउने गरेपनि पहिला–पहिला जस्तो गरी चिठी आउने क्रम घट्दै गएको देखिन्छ ।
मोबाइल फोनको तीव्र विस्तारले चिठी लेख्ने क्रम नै हराउँदै जान थालेको छ । सूचना आदानप्रदानको रुपमा कुनै समय एक अर्कालाई पठाउने प्रमुख माध्यम हुलाक र चिठी भए पनि अहिले त्यो सबै ठाउँ फोनले लिएको छ । मोबाइल फोन, टेलिफोनका साथै फेसबुक, ट्वीटर, म्यासेन्जर, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरुको प्रयोग चर्को रुपमा बढेको छ । सामाजिक सञ्जालको सहयोगले विश्वको कुनै एक ठाउँको खबरहरु छिनमै थाहा पाइने भएपछि चिठी पठाउने चलन घटेको हो ।
अब पछिल्लो पुस्ताले चिठी भनेको के हो भनेर सोध्ने अवस्था समेत आइसकेको बताइन्छ । विदेशमा पुग्नेहरुले पनि तत्कालै टेलिफोन र सामाजिक सञ्जालको प्रयोगमा आफन्तसँग कुराकानी गर्ने गरेका छन् । टेलिफोन र सामाजिक सञ्जालका कारण विगतमा चिठी लेखाउन र पढ्न लगाउन अर्काको घरदैलोमा पुग्नुपर्ने बाध्यता भए पनि अहिले त्यो भने अन्त्य भएको छ । सामाजिक सञ्जाल र टेलिफोनको सहज उपलब्धताले दुर्गमका स्थानीयलाई समेत सहज भएको छ । अझै पनि चिठीलगायत महत्वपूर्ण कागजात र पार्सलहरु पठाउने भरपर्दो माध्यम हुलाकलाई नै मानिन्छ ।