गण्डकी प्रदेश सरकारले जिल्लास्तरमा सुझाव सङ्कलन अभियान थालेको छ । यसैक्रममा नीति तथा योजना निर्माणका लागि जिल्लास्तरीय सुझाव सङ्कलन अभियान अन्तर्गत शुक्रबार म्याग्दीमा सुझाव सङ्कलन गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको टोलीले सुझाव सङ्कलन गरेको हो ।
टोलीले प्रथम पञ्चवर्षीय योजना तर्जुमा निर्माणका लागि जिल्लाका छ वटै स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, गैरसरकारीमा आबद्ध प्रतिनिधि तथा विभिन्न सरोकारवाला र व्यक्तिहरुको बिचमा जिल्लाको वस्तुगत अवस्था, नीति, योजना, कार्यक्रम तथा सम्भावित योजनाहरुमाथि छलफल गरी सुझाव सङ्कलन गरेको जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री पुनले जिल्लाबाट आएको सुझावले प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले जिल्लाबाट आएको सुझावलाई प्रदेश सरकारले आगामी नीति तथा योजनामा समावेश गरी जिल्लाको विकासका लागि अगाडि बढ्न सहयोग पुग्ने बताउँदै प्रदेश सरकारले पञ्चवर्षीय योजनामा दीगो विकासलाई जोड दिइएको बताएकी छिन् ।
कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले प्रदेश भित्रका सबै जिल्लाको वस्तुगत अवस्था जिल्लावासीले दिएको सुझावको आधारमा आयोगले नीति तथा योजना निर्माण गर्ने बताए । कार्यक्रममा जिल्लावासीहरुले म्याग्दी दुर्गम तथा विकट जिल्ला भएको बताउँदै भौतिक विकास र पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेकोमा ध्यानाकर्षण गराएका थिए ।
सरकारलाई जिल्लाको कृषि, स्वास्थ्य, जलविद्युत, पर्यटन, शिक्षा, ऊर्जा, खेलकुद, सिँचाई, खानेपानी, पशुपालन, भूमी, भौतिक पूर्वाधार निर्माण, महिला बालबालिका तथा युवा स्वरोजगारलक्षित कार्यक्रम एवं अपाङ्गमैत्री वातावरण सिर्जना गर्ने खालका उत्पादनमूलक कार्यक्रमहरु नीति तथा योजनामा समावेश गर्नुपर्ने सहभागीहरुले सुझाव दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रमा सञ्चालित योजनाहरुका बारेमा जानकारी गराएका थिएभने ठूला योजनामा प्रदेश सरकारले योजना बनाई बजेट निर्माणमा सहकार्य गरिदिन आग्रह समेत गरेका थिए ।
मन्त्री पुन मगरको अध्यक्षता, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. पौडेलको सहजीकरण र आयोग सदस्य विष्णु बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको सहभागिता रहेको थियो । त्यस्तै धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, मंगलाका अध्यक्ष शतप्रसाद रोका, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, मालिकाका उपाध्यक्ष खरमाया बिटालु, प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, रघुगंगा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मालगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।