म्याग्दी बहुमुखी क्याम्पसले बुधबार आफ्नो २८औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ । २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसले ‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गर्दै मन्तव्यको अधिकांश समय शिक्षा क्षेत्रका विषयमा खर्चिएका थिए । कार्यक्रममा सांसद भूपेन्द्रबहादुर थापाले देश विकासको पहिलो खुड्किलो शिक्षा भएको बताउँदै सबै नागरिकलाई शिक्षा दिनका लागि सरकार जिम्मेवार रहेको बताउँदै शैक्षिक विकासका लागि जनप्रतिनिधि, प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावक सबैले आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
हाम्रो भन्दापनि राम्रो क्याम्पस बनाउनुपर्नेमा जोड दिँदै उनले आफ्नो तर्फदेखि क्याम्पसको विकासमा आवश्यक पहल गर्ने बताए । गण्डकी प्रदेशका सदस्य विनोद केसीले प्रदेश सरकारबाट विनियोजन हुने बजेटमा क्याम्पसको विकासका लागि सहयोग गरिने जानकारी दिए । कार्यक्रमको अवसरमा क्याम्पसमा स्थापना गरिएका छात्रवृत्ति कोषबाट गरिब तथा विपन्न विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै सप्ताहव्यापी विविध खेलकुद एवं कार्यक्रमहरुको पुरस्कार वितरण पनि गरिएको थियो ।
कार्यक्रममा पूर्व सभासद गोविन्द पौडेल, नेपाली कांग्रेसका जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, म्याग्दीका निमित्त प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, म्याग्दी क्याम्पसका संस्थापक डाक्टर भूपेन्द्रबहादुर खड्का, बेनी नगरपालिका–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, क्याम्पस अभिभावक संघका अध्यक्ष रामप्रसाद सुवेदी, प्राध्यापक संघका प्रतिनिधि भोलानाथ घिमिरे र स्वतन्त्र विद्यार्थी युनियनका कार्यवाहक सभापति ईश्वर सुवेदीले मन्तव्य राखेका थिए ।
म्याग्दी बहमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष सोमनाथ ढुङ्गानाको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रथम गण्डकी प्रदेशस्तरीय प्रथम छात्रछात्रा भलिबल, गजल, निबन्ध, निवेदन, तमसुकलेखन, टेबुलटेनिस, बुद्धिचाल, अन्धनिशान र छेलो प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा भलिबल प्रतियोगिताको रेफ्री संयोजक तेजेन्द्र बानियाँ, गंगाराज बानियाँ, लक्षु श्रेष्ठ, सन्दीप क्षत्रीलाई पुरस्कृत गरिएको थियो । भलिबल प्रतियोगितामा उत्कृष्ट हुने विभिन्न विधातर्फ पनि खेलाडीहरुलाई सम्मान गरिएको छ ।
Previous Articleमाघेसंक्रान्ति पर्वमा बेनीमा माघी मेला हुँदै
Next Article टप्सले जित्यो छात्रा भलिबल उपाधि