४० वर्ष काटेपछि महिलाको अण्डाशयमा डिम्बको संख्या घट्दै जान्छ । र, केही वर्षपछि डिम्ब नै रित्तिन्छ । डिम्ब रित्तिनु भनेको महिनावारी सुक्नु हो । एस्ट्रोजिन र प्रवजेस्टेरोन हर्मोनको उत्पादन रोकिएपछि महिनावारी पूर्ण रूपमा बन्द हुन्छ । नेपाली महिलाको महिनावारी सुक्ने औसत उमेर ४७ वर्ष हो । महिनावारी सुक्ने प्रक्रियामा रहँदा या सुकेपछि महिलामा विभिन्न समस्या निम्तिने गर्छ ।
समस्याः महिनावारी सुक्ने समयमा शरीरमा शक्ति नभएजस्तो, थाकाइ लाग्ने, जिउ तात्ने, पोल्ने, औडाहा हुने, चिसो पसिना आउने, राति निद्रा नपर्ने, अरूसँग बोल्न झिँजो लाग्ने, चिडचिडापन हुने र डिप्रेसनसमेत हुन सक्ने समस्या निम्तिन्छन् । यो समयमा एस्ट्रोजिन हर्मोनको कमी हुने भएकाले शरीरका सबै अंगलाई असर गरेको हुन्छ । हाड तथा जोर्नी खिइने र भाँचिने समस्या पनि निम्तिन सक्छ । एस्ट्रोजिन हर्मोनको कमीले गर्दा ३५–४० वर्षपछि महिलामा हाड खिइने प्रक्रिया तुलनात्मक रूपमा पुरुषभन्दा छिटो हुन्छ । यसकारण महिनावारी सुकेका महिलामा हाडजोर्नी खिइने समस्या बढी हुन्छ । हर्मोनको कमीकै कारण ढाड दुख्ने, जोर्नी दुख्ने, मेरुदण्डको हाड खिइएर नसा च्यापिने भएर हातखुट्टा झमझमाउने लगायतका समस्या पनि देखिन सक्छन् । एस्ट्रोजिन हर्मोनको कमीले महिलामा मुटुको समस्या देखिने, बिर्सने समस्या हुने तथा छाला सुक्खा हुनेजस्ता समस्यासमेत देखिन्छन् । महिनावारी सुकेसँगै हुने हर्मोनहरूको कमीले प्रजनन र मूत्र प्रणालीमा अनेक समस्या देखिन्छन् । योनी सुक्खा हुने, योनीको बाहिर चिलाउने तथा पोल्ने समस्या हुन सक्छ । महिलामा यौनेच्छा पनि कम भएर जान्छ । यौनी सुक्खा हुने भएकाले यौनसम्पर्कका वेला दुखाइ हुन्छ । शरीरका तन्तु तन्काउन पनि एस्ट्रोजिन हर्मोनको भूमिका हुन्छ । यो हर्मोनको कमी भएपछि पाठेघर तथा पिसाबथैली आफ्नो स्थानमा अड्काएर राख्ने तन्तु पनि खुकुला तथा कमजोर हुन्छन् । पिसाबथैली र पाठेघर आफ्नो ठाउँबाट तल खस्ने सम्भावना बढी हुन्छ । पिसाबथैली आफ्नो ठाँउबाट खस्केपछि हाँस्दा, खोक्दा, हाछ्युँ गर्दा तथा सामान उचाल्दा पिसाब झर्ने, पिसाब रोक्न नसकिने, राति धेरैपटक पिसाब फेर्न उठ्नुपर्ने, पिसाबथैलीमा पटक–पटक संक्रमण भइराख्ने हुन सक्छ । कतिपय महिलामा पिसाब नै रोकिने समस्या पनि हुन सक्छ ।
समाधानः महिनावारी सुक्नु र यो अवधिमा विभिन्न लक्षण देखिनु कुनै रोग होइन । यो अवस्थामा केहीलाई सामान्य उपचारको आवश्यकता पर्छ भने केहीलाई हर्मोन दिएर नै उपचार गर्नुपर्ने हुन्छ । जिउ तात्दा काम गर्ने ठाउँमा तथा सुत्ने कोठामा पंखाको प्रयोग गर्ने । चिसो पानीले नुहाउने । पातलो र तह–तह भएको लुगा लगाउने । जिउ तात्ने तथा चिसो पसिना आउने समस्या धेरै महिलामा समय बित्दै जाँदा कम भएर जान्छ । डिप्रेसनजस्तो समस्या देखिएमा केही न केही काममा व्यस्त रहिरहने गर्नुपर्छ । योग तथा व्यायाम गर्ने गर्नुपर्छ । तौल बढी छ भने घटाउने, धुम्रपान तथा मध्यपान गर्न छोड्ने । खानामा मसलाको प्रयोग सकेसम्म कम गर्ने । भटमास, तोफु, गेडागुडी, सागपात तथा फलफूल र दूधको मात्रा बढाउने गर्नुपर्छ । यी उपायबाट समस्यामा राहत नमिले चिकित्सकको परामर्श आवश्यक पर्छ । हर्मोनको प्रयोगबाट सजिलै समस्याको समाधान खोज्न सकिन्छ । तर, हर्मोनको प्रयोग सबै महिलाका लागि सुरक्षित हुँदैन । शरीरका रक्तनलीमा रगत जम्ने समस्या भएका, आफन्त, आमा तथा दिदी–बहिनीहरूमा स्तन तथा पाठेघरको क्यान्सर भएका, कलेजो र मुटुरोग तथा उच्च रक्तचाप भएका महिलालाई हर्मोन दिन मिल्दैन । हाँस्दा, खोक्दा पिसाब झर्ने, योनी सुक्खा हुने तथा पोल्ने महिलाले योनीमा हर्मोनको क्रिम प्रयोग गर्दा फाइदा हुन्छ । पिसाब चुहिने समस्या भए पिसाबथैलीको व्यायाम गर्नुपर्छ । पिसाबथैली तथा पाठेघर निकै खसेको छभने शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । पिसाब तथा हाडजोर्नीसम्बन्धी समस्या अधिकांशमा निको नभएर बढ्दै जाने खतरा रहन्छ । हाडजोर्नी खिइएका महिलाको हकमा नियमित योग, व्यायाम तथा फिजियोथेरापी सहयोगी हुन सक्छ, तर हाडजोर्नी विशेषज्ञको सल्लाह लिनु अति उपयुक्त हुन्छ । –विभिन्न एजेन्सीको सहयोगमा
Previous Articleकात्तिक ९ गते देखि १५ गतेसम्मको साप्ताहिक राशिफल
Next Article राम्रो फलेछ