गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस प्रथम छात्रछात्रा भलिबल प्रतियोगितामा मंगला शिक्षा क्याम्पस सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा पर्वतको गुप्तेश्वर बुहुमुखी क्याम्पसलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको मंगलाले दोस्रो खेलमा विद्याज्योती मावि पर्वत अनु्पस्थित भएपछि सेमीफाइनलको यात्रा तय गरेको हो ।
आइतबार सम्पन्न खेलमा अर्जुन मावि भकुण्डेलाई पराजित गर्दै गलेश्वर मावि, पौलस्त्य माविलाई म्याग्दी बहुमुखी ‘ए’, न्यू वेष्ट पोइन्टलाई प्रकाश मावि, शिवालय मावि पर्वतलाई धौलागिरी क्याम्पस र म्याग्दी बहुमुखी सी समूहलाई हराउँदै माउण्ट एभरेष्ट आवासीय मावि क्वाटरफाइनलमा प्रवेश गरेको रेफ्री संयोजक तेजेन्द्र बानियाँले जानकारी दिएका छन् ।
उनका अनुसार सोमबार बिहानदेखि क्वाटर फाइनलका खेलहरु सुरु हुनेछन् । ‘सु–सम्बन्ध आत्मीयता र सहकार्यको मेल, स्वास्थ्य अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको मूल आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
क्याम्पसको आसन्न २८औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पस र स्ववियुद्वारा सप्ताहव्यापी खेलकुदका साथै विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको छ । छात्रतर्फ कुल २४ टिमले सहभागिता जनाएका छन् भने छात्रातर्फ हालसम्म ८ टिमले नामदर्ता गराएको हुँदा आजसम्म नामदर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
Previous Articleअदालतको सम्मान गरौं
Next Article तातोपानी कुण्डका विषयमा स्थानीयसँग छलफल