प्रताप बानियाँ
म्याग्दी, पुस १० – आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीबाट विभिन्न ८ ओटा खेलमा १ सय ५६ जना खेलाडीहरु छनौट भएका छन् । जिल्ला खेलकुद समिति म्याग्दीको आयोजनामा मङ्गलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी खेलाडीहरु छनौट गरिएको जानकारी गराइएको हो ।
समितिले छनौट भएकामध्ये पुरुष फुटबलतर्फ २०, महिलातर्फ १९, पुरुष भलिबलमा १२, महिलामा १४, पुरुष बास्केटबलमा १२, एथ्लेटिक्सतर्फ पुरुष ४ र महिला ४ जना खेलाडी छनोट भएको जनाएको छ । यसैगरी उसुमा पुरुष ५, महिला २, व्याडमेन्टिनमा पुरुष ५, महिला ३, कबड्डीमा पुरुष १०, महिला १०, तेक्वान्डो पुरुष १२, महिला १२, टेबल टेनिसमा पुरुष ३, कराँतेमा पुरुष ८ र महिला ७ जना रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिए ।
उत्कृष्ट खेलका आधारमा छनौट गरिएको बताउँदै अध्यक्ष विश्वकर्माले जिल्लाबाट छनौट भएका खेलाडीहरु गण्डकी प्रदेशको छनौट खेलमा सहभागी हुने बताएका छन् । उनले प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट हुनेगरी केही दिन बन्द प्रशिक्षणको तयारी समेत गरिएको बताए ।
म्याग्दी जिल्लाबाट प्रदेशस्तरीय खेलमा भलिबल, कराँते, उसु, तेक्वान्डो र बास्केटबल खेलमा पदकको सम्भावना रहेको छ । छनौट भएका खेलाडीहरुलाई औपचारिक कार्यक्रममार्फत विदाई गरिने बताइएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी माघ २५ देखि फागुन ३ गतेसम्म प्रदेशनम्बर ५ मा हुँदैछ ।
Previous Articleलभ्लीहिलको विकासमा सरोकारवालाको जोड
Next Article २०७५ पुस १२ गते बिहिबार