प्रताप बानियाँ
पर्यटकीयस्थलका रुपमा चिनिएको लभ्लीहिलको विकासका लागि म्याग्दीका सरोकारवालाहरुले जोड दिएका छन् । बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरास्थित रहेको लभ्लीहिलमा मङ्गलबार आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा सरोकारवालाले लभ्लीहिल क्षेत्रमा विकासका पूर्वाधारहरु बनाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यका क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि आवश्यक पहल थालिएको बताए । मोना आइईसीका अध्यक्ष चक्रबहादुर थापाले सबै मिलेर जिल्लाको विकास निर्माणमा अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । मोना, बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा बेनीदेखि लभ्लीहिलसम्म पुग्नका लागि पदमार्ग निर्माण थालिएको छ । मोना आइईसीका संरक्षक योगेन क्षत्रीले प्रवासमा रहेर पनि आफ्नो जिल्लाका पर्यटकीय क्षेत्रहरुको विकासमा सहयोग गरिने बताएका छन् ।
बेनी नगरपालिकाको कार्यालय, म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण हुन लागेको बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने पदमार्गको गत भदौ ८ गते शिलान्यास गरिएको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको स्वागत र द्वितीय उपाध्यक्ष राजेश शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनपाका उपप्रमुख सन्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो भने प्रवासीहरुलाई स्वागत गरिएको थियो ।
प्रवासी नेपालीहरुलाई साझेदार बनाएर नयाँ अवधारणामा सञ्चालित योजनालाई मोना–बेनी–लभ्लीहिल पदमार्ग नामाकरण गरिएको छ । म्याग्दी भ्रमण वर्ष–२०७५ को अवसर पारेर सरकारी निकाय, निजी क्षेत्र र प्रवासीको संयुक्त साझेदारीमा पर्यटन पूर्वाधार योजना अन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । कुल ५७ लाख आठहजार २६० रुपैयाँ लागत अनुमान गरिएको पदमार्गको निर्माणमा बेनी नगरपालिका, मोना र उवासंघले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्नेगरी यसअघि समझदारीपत्रमा हस्ताक्षर समेत गरिसकिएको छ ।
बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य पुलहाश्रम, गुफाको डाँडो, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ । त्यहाँबाट बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ ।
लभ्लीहिलमा विगतको समयमा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिका, वडा कार्यालय र स्थानीयको आर्थिक सहयोग तथा श्रमदानमा गोलघर निर्माण गरिएको छ । यसका साथै लभ्लीहिलको डिलमा रेलिङ र बस्नका लागि बेन्चहरु राखिएपछि पछिल्लो समय लभ्लीहिल पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।
Previous Articleमराङमा दन्त शिविर
Next Article आठौँ राष्ट्रिय खेलकूदका लागि खेलाडी छनौट