भारतको मध्य प्रदेशमा रहेको कटनीमा आत्महत्या गरेकी एक महिलाको शव डोरीमा झुण्डिरहेको अनि उनको नवजात शिशु आफ्नो गर्भनालमा झुण्डिरहेको पाइएको छ ।
घटनास्थलमा पुगेकी सई कविता साहनीले शिशु जीवित अवस्थामा रहेको लागेपछि एक क्षण पनि खेर नफाली शिशुलाई सफा गरेर काखमा राखिन् । शिशुलाई स्वास्थ्य सेवा प्राप्त नहुन्जेल उनले अँगालोमा राखिरहिन् ।
चिकित्सकहरूका अनुसार, शिशुको बाँच्ने सम्भावना कायम छ ।
आत्महत्या गर्ने ३६ वर्षीया महिला लक्ष्मी ठाकुर नौ महिनाकी गर्भवती थिइन् ।
महिलाका पति सन्तोषले आफूहरूबीच कुनै विवाद नरहेको प्रहरीलाई बताए । उनका अनुसार, टीभी हेरेपछि राति ९ बजे उनी सुते । बिहान ६ बजे उठ्दा लक्ष्मी देखिइनन् । उनलाई खोज्न जाँदा उनको लाश गोठमा झुण्डिरहेको
अवस्थामा देखियो ।
प्रहरीले महिलाको सारीमा बच्चा अड्किएको देखेपछि स्वास्थ्यकर्मीलाई बोलाएर उनको गर्भनाल काटेर महिलाको शव निकालेर पोस्टमार्टम गर्न पठायो ।
नवजातलाई महिलाको गर्भनाल काटेर अलग्याइएको थियो । अहिले नवजातलाई सरकारी अस्पतालको एनआईसीयूमा भर्ना गरिएको छ ।
सई कविता भन्छिन्, ‘यो दुर्भाग्यपूर्ण घटना हो तर कम्तीमा हामीले बच्चालाई बचायौं । चिकित्सकहरूले अलिकति मात्र ढिलाइ भएको भए बच्चाको ज्यान खतरामा पर्न सक्ने बताएका थिए । आमाको मृत्युपछि बच्चा जीवित हुनु वास्तवमै चमत्कार हो ।’
मृत लक्ष्मी चार बालबालिकाकी आमा थिइन् । सबभन्दा ठूली छोरी १६ वर्षकी छिन् ।
लक्ष्मीले किन आत्महत्या गरेकी हुन् भनी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
एजेन्सी