शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दशौँ चरणमा शुक्रबार तीन खेल हुँदैछन् । पहिलो खेलमा मछिन्द्र र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल ललितपुरको एन्फा टेक्निकल सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ । सरस्वती १० अंक सहित तालिकाको नवौ स्थानमा छ । मछिन्द्र ३ अंक सहित पुछार देखि दोस्रोमा छ ।
दोस्रो खेलमा जावलाखेल र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एपीएफ मैदान दिउँसो साढे २ बजे सुरु हुनेछ । जावलाखेल ८ अंक सहित दशौं स्थानमा छ । एनआरटी एक अंक सहित पुछारमा छ ।
सोही समयमा एन्फा टेक्निकल सेन्टरमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब भिड्ने छन् । शेर्पा क्लब १४ अंक सहित छैटौ स्थानमा छ । फ्रेन्ड्स ५ अंक सहित १२ औ स्थानमा छ ।
नवौँ चरणसम्मको यात्रामा जारी लिगमा मनाङ उपाधि होडमा एकपक्षीय रूपमा अघि बढेको छ । मनाङलाई पछ्याउँदै आएको थ्रीस्टार नवौँ चरणमा आर्मीसँग बराबरीमा रोकिँदा पाँच अंकले पछि छ ।
यद्यपि मनाङका लागि अबको अवरोध संकटा रहेको छ । उपाधि रक्षाका लागि संकटाले मनाङलाई रोक्नु त पर्छ नै साथमा अन्य कुनै टिमले पनि मनाङलाई रोक्नुपर्ने आवश्यक छ ।
तर, जारी लिगमा एकमात्र निरन्तर जित निकाल्ने टिमका रूपमा रहेको मनाङ थप बलियो बन्दै गइरहेको छ ।