अमृत बास्कुने
विश्वका कुनै पनि देश त्यस्ता छैनन् कि जहाँ युवाको परिचालन र युवाले खेलेको भूमिका विना परिवर्तन सम्भव भएका । युवाले आफ्नो मुलुकको परिवर्तनका लागि निकै मेहनत गरेका उदाहरणहरु थुप्रै छन् । ७० वर्ष अधि नेपालले सहयोग गर्नु पर्ने कोरियामा अहिले नेपालीहरु श्रम गर्न जानका लागि मरी मेट्छन् । तर त्यही कोरियाको विकासको गति र त्यहाँ भएको विकास कसरी सम्भव भयो भन्ने बारेमा कसैले पनि सोच्न र अध्ययन गर्नसम्म पनि नचाहेको हो कि भन्ने भान हुन थालेको छ । नेपाली युवा विद्यार्थीहरुले पनि नेपालको समग्र विकासका लागि युवाको भूमिकालाई अपरिहार्य ठान्दै शक्तिशाली युवा मन्त्रालय आवश्यक पर्ने ठानेर युवा मन्त्रालय गठनलाई मूल मुद्दा बनाएर थालेको आन्दोलनका बलमा नेपालमा २०६५ सालमा युवा मन्त्रालय गठन भएको थियो । नेपाली युवा विकास र परिचालनका लागि भन्दै गठन भएको युवा मन्त्रालयले युवाको पक्षमा तत्कालिन अवस्थामा पनि सोचे जस्तो काम गर्न सकेको थिएन त्यो सबैलाई यथार्थ जानकारी भएकै कुरा हो । मन्त्रालयको स्थापना पछि युवा नीति तर्जुमा भएको थियो । त्यसकै बलमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आए तर पनि त्यसले सोचे अनुरुपको गति लिन भने सकेन । खासमा युवाका लागि मुख्य आवश्यकता भनेको उद्यमशीलता र स्वरोजगार एवम् क्षमता अभिवृद्धिका साथै आय आर्जनका कार्यक्रम आवश्यक हुन्छ विश्वभरका युवाहरुमा नै र त्यो नेपालमा पनि टड्कारो आवश्यकता थियो । सोही आवश्यकतालाई महसुस गरी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा राष्ट्रिय युवा परिषद् गठन भयो र त्यसको उपाध्यक्षमा युवा व्यक्तित्व माधवप्रसाद ढुङ्गेललाई नियुक्त गरिएको थियो ।
२०७२ साल फागुन १९ गते माधवप्रसाद ढुङ्गेललाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरे सँगै नेपाली युवाका लागि थप सम्भावनाका ढोकाहरु खुल्दै गए । युवा परिषद्ले युवाको पक्षमा काम गर्नुका साथै युवा लक्षित कार्यक्रमहरु ल्याउने र युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि धेरै कार्यक्रमहरु पनि सञ्चालनमा आए । फागुनमा उपाध्यक्षमा नियुक्त भएका ढुङ्गेलकै पहलकदमीमा तत्कालिन युवा तथा खेलकुद मन्त्रीले २०७३ साउनमा आएर ६० जिल्लामा जिल्ला युवा समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेका थिए । जिल्ला युवा समितिको अध्यक्ष नियुक्त गरेको भए पनि जिल्लामा कार्यालयको संरचना र कर्मचारी नभएका कारण कार्यक्रम सञ्चालन हुनका लागि भने पुस सम्म कुर्नै परेको थियो । मंसिरमा शिक्षा सेवाका उपसचिवलाई कार्यालय प्रमुख तोकिएसँगै युवा लक्षित कार्यक्रमहरु अगाडि आए । प्रत्येक जिल्लामा सोही वर्ष १० जनाका दरले ७५० जना युवालाई सिप विकास तालिम प्रदान गर्ने कार्यक्रम आयो भने तत्कालिन संरचना अनुसार एक निर्वाचन क्षेत्र एक युवा उद्यम कार्यक्रम पनि सञ्चालन भयो । २४० निर्वाचन क्षेत्रमा युवा उद्यम कार्यक्रम मार्फत् ५÷५ लाख रुपैंयाका दरले निव्र्याजी ऋण प्रवाह हुँदा २ हजार ४ सय युवाहरु युवा परिषद्को कार्यक्रममा जोडिए । युवा उद्यममा २४ सय युवा जोडिए भने सिप विकास तालिम लिएका ७५० युवा पनि युवा परिषद्मा जोडिएर आफैं आत्मनिर्भर बन्न तर्फ अग्रसर भए भने अर्को वर्ष पनि त्यसै अनुपातमा युवाहरुलाई कार्यक्रममा समाहित गराइयो ।
राष्ट्रिय युवा परिषद्को सक्षम नेतृत्व अनि जिल्ला नेटवर्कमा भएको सोही प्रकृतिको कार्यक्षमता भएका युवाहरुको जमातका कारण नेपालको युवा विकास सूचकाङ्कमा बृद्धि मात्रै आएन युवाको क्षेत्रमा राम्रो कार्य गरेको र युवाको बृत्ति विकासमा उल्लेख्य योगदान पु¥याउन सफल भएकोले युवा परिषद् र परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेललाई अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार समेत प्राप्त भयो । राष्ट्रिय युवा परिषद्ले सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रका रुपमा नेपाललाई उभ्याउनका लागि भिजन २०२५ अगाडि ल्याएको छ । युवामा गुणस्तरीय शिक्षा, उद्यमशीलताको विकाससँगै रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा एवम् युवा परिचालन, सहभागिता र नेतृत्व विकासलाई मूल मर्म मान्दै युवा विकास कार्यक्रम, युवा उद्यम, खेलकुद मनोरञ्जन लगायतका सम्पूर्ण युवाका लागि ल्याएका कर्याक्रमहरुको प्रभाव बढ्दै गएको थियो र युवालाई स्वदेशमै पनि काम गर्न सकिन्छ भन्ने मानसिकता विकास हुँदै थियो । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्क अनुसार नेपालमा २० प्रतिशत युवा पूर्ण वेरोजगार छन् । तीनै युवालाई रोजगार बनाउनका लागि र देश विकासका लागि भनेर स्थापना भएको राष्ट्रिय युवा परिषद् अहिले बेरोजागर बन्ने मार्गमा छ ।
नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकता पछि निर्माण भएका एसियाकै टप पार्टी मध्येको एक नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष केपी शर्मा ओली सरकारका अंगहरु यतिखेरसम्म सक्रिय नै छन् । अन्य क्षेत्रमा पनि ओलीले चयन गरेका र जनताका मतबाट चुनिएका सक्षम नेतृत्वका कारण नै प्रगति सम्भव छ भन्ने अहिलेसम्मको अवस्थाले देखाएको पनि छ । राष्ट्रिय युवा परिषद्ले केपी शर्मा ओली नेतृत्वमा आए पछि ९ महिनाको अवधिमा पनि धेरै काम गरेको छ । युवाको क्षेत्रमा ब्यापक सुधार गरेर वल्र्ड युथ पुरस्कार समेत परिषद्का उपाध्यक्ष माधव ढुंगेलले प्राप्त गरेका छन् । यसले पनि के देखाउँछ भने नेपाल र नेपालका युवाले मात्रै नभएर विश्वले नै नेपालका युवाको विकासलाई हेरेको छ र राष्ट्रिय युवा परिषद्को भूमिका बुझेको छ ।
नेपालमा नेपाली युवाहरुको क्षमतालाई मध्यनजर गरेर प्रथम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन युवा परिषद्को अगुवाइमा सम्पन्न भएको थियो । गुणस्तरीय, मौलिक र विपन्न वर्गको पहुँचमा आधारित नेपालको शिक्षा नीति निर्माणका लागि राष्ट्रिय शैक्षिक सम्मेलन भव्य रुपमै सम्पन्न भएको थियो । नेपालमा रहेका शारीरिक रुपमा असक्त चार सय दुई जना अपाङ्ग युवालाई उनीहरुको दैनिक जीवनलाई सहजता प्रदान गर्न सक्ने खालका कृत्रिम अङ्ग तथा सहयोग सामग्री वितरण गर्ने कार्यमा पनि युवा परिषद्को भूमिका रह्यो । यही ९ महिनाको अवधिमा पाँच सय १४ जना युवालाई लामो अवधिको र तीन सय ६८ जना युवालाई छोटो अवधिको सीप विकास तालिम प्रदान गरेको युवा परिषद्ले तराईका ११ जिल्लाका १८ वटा महिला उद्यम समूहका ३६० जना महिला उद्यमीका लागि कार्यक्रम सञ्चालन गरेको छ । तराइका निकै पिछडिएका समुदायमा पुगेर गरिएको कार्यक्रमको दिगो असर देखिन्छ नै । विदेश जान रोक्ने त छँदै छ त्यस पछि विदेशबाट नेपाल फर्केका युवाहरूको उद्यमशीलतातर्फ आकर्षण गर्न रिटर्नी माइग्रेन्ट नेपाल संस्था गठन गरेर विदेशबाट फर्कने युवालाई विमानस्थलमै उसको क्षमताका बारेमा सोधी त्यही अनुरुपको कार्य गर्नका लागि प्रोत्साहन गर्ने कार्यमा पनि युवा परिषद् लागेकै छ । केपी शर्मा ओलीले २०७२ सालमा प्रधानमन्त्री हँुदा घोषणा गरेको शैक्षिक प्रमाणपत्रका आधारमा ऋण कार्यक्रम नेपालका ४७ जना शिक्षित बेरोजगार युवालाई प्रतिव्यक्ति रु. २ लाखको दरले उद्यम सञ्चालनको लागि ऋण सहयोग गर्नका लागि छनोट गरि सकेको छ भने ऋण प्रदान गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ । गत आर्थिक वर्षमा १६५ वटा संघीय संसदीय निर्वाचन क्षेत्रमध्येका ७४ जिल्लाका १७४ वटा उद्यम समूह स्विकृत भई उद्यम कार्यक्रम सञ्चालन हुँदै छन् भने नेपालमा ४ हजार ७ सय ९७ जना युवालाई परामर्श सेवा प्रदान गरिएको छ अहिले पछिल्लो ९ महिनाको अवधिमा ।
युवाका पक्षमा भएका राम्रा र सकारात्मक कुराहरु आउँदै गर्दा अहिले पछिल्लो समय भने युवा तथा खेलकुद मन्त्रीको कारणले गर्दा युवा लक्षित कार्यक्रमहरु अन्यौलमा परेका छन् । नेपालका ७७ जिल्लामा रहेका युवा समिति र त्यस मातहत रहेका कर्मचारीहरु र युवा समिति मार्फत् चल्ने कार्यक्रमहरु पनि अन्यौलमा छन् । चालु आर्थिक वर्षको पहिलो ५ महिना बितिसक्दा पनि अन्यौलतामै राष्ट्रिय युवा परिषद् छ भने त्यस मातहतका सबै निकाय पनि त्यही अन्यौलताको शिकार बनेको छ । युवाको क्षेत्रमा काम गर्नका लागि भनेर नियुक्ति भएका मन्त्रीलाई युवाको आवश्यकता परेन वा युवालाई स्वदेशमा रोक्ने होइन, विदेश पलायनका लागि बाध्य पार्नु पर्छ भन्ने मन्त्रीको मानसिकता हो बुझ्न कठिन भएको छ । विश्वका परिप्रेक्षमा निकै पछाडि रहेको युवा विकास सूचकांकमा केही भए पनि सुधारको सङ्केत देखिएको अहिलेको अवस्थामा युवा परिषद् र त्यसबाट केही हुन्छ कि भनेर आशामा बसेका लाखौं युवाको चाहनामा कुठाराघात गर्ने काम युवा तथा खेलकुद मन्त्रालयबाट जसरी भएको छ त्यसको दिर्घकालिन असरले देशलाई कहाँ पु¥याउला भन्ने हेक्का किन सरकार र युवा तथा खेलकुद मन्त्रीले राख्न सकेनन् ? गम्भीर विषय भए पनि सामान्य तबरले लिँदै अन्यौलताको भूमरीमा पार्नुले भोलिको देशको भविष्य त पछाडि पर्छ नै त्यस माथि पनि मन्त्रीकै भूमिका र उनले बोकेको जिम्मेवारीको पनि कुरा आउला नि ?
युवा विकास र युवालाई स्वदेशमा रोकेर उद्यमशील र स्वरोजगार बनाउनु पर्ने सरकारको जिम्मेवारी हो । तर युवाको पक्षमा काम त हुने छाँट त मन्त्रीबाट आएन अझै युवाको पक्षमा काम गर्नका लागि स्थापना भएको राष्ट्रिय युवा परिषद्लाई नै अन्यौलमा राखेर युवा तथा खेलकुद मन्त्रीले देशलाई कुन दिशामा आगडी बढाउन खोजेका हुन्? युवाको भूमिका अब देशलाई आवश्यक छैन या मन्त्रीका लागि आवश्यक नभएको हो । युवाका लागि गुणस्तरीयता, समय सापेक्ष र रोजगारमुलक शिक्षा चाहिन्छ । उपलब्ध श्रोत साधनको परिचालन गर्न र रोजगार मुलक प्राविधिक शिक्षालयको स्थापना अनि निजी क्षेत्रसँगको सहकार्यमा कार्यक्रम ल्याउन पर्नु अहिलेको आवश्यकता हो । तर युवाको क्षेत्रमा कुनै पनि कार्यक्रम नै नगर्ने ? राष्ट्रिय युवा परिषद्ले आयोजना गर्नु पर्ने दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिा(साग) पनि अगाडी बढ्न सकेको छैन । यसले के देखाएको छ भने युवा तथा खेलकुद मन्त्रीलाई देशका युवाको आवश्यकता छैन र नेपाली युवाहरुको कुनै ‘भ्यालु’ नै छैन भन्ने हो त?
अबको प्रश्न
देशका लागि अब युवाको कुनै महत्व नै छैन ? राष्ट्रिय युवा परिषद् मातहतका ७७ जिल्ला कार्यालयका कर्मचारी चालु आर्थिक वर्षकौ छ महिनादेखि अन्यौलतामा छन् । उनीहरुले न तलबभत्ता पाएका छन् न त उनीहरुले पाउने हो या हैन भन्ने कुनै निचोडमा पुगिएको अवस्था छ । यसले के देखायो भने युवा देशका लागि आवश्यक नै होइनन् त?
Previous Articleआफ्नो विरुद्ध साक्षी हुन कर नलगाइने
Next Article किन आगो निकाले वामदेव विरुद्ध पृथ्वीसुब्बा गुरूङले