मेरा ओठ नीलो भयो, मैले सास फेर्नै सकिनँ, मेरो मुटुको ढुकढुकी रोकिएको थियो ।’
लरा डालेसियो आफ्नो कथा सुनाउँछिन् । भन्छिन्, ‘मेरो ज्यान बाँचेन भन्ने मलाई त्यतिखेर लाग्यो । म पाँच मिनेटका लागि मरें । चिकित्सकहरू मलाई बचाउन पूरै कोशिश गरिरहेका थिए ।’
सत्ताईस वर्षीया लरा तीन वर्षअघि कामबाट घर फर्केपछि अचानक बेहोश भएर भुइँमा लडिन् ।
नर्स पेशामा रहेकी लरालाई कार्डियाक अरेस्ट भएको थियो ।
बेलायतमा ८० हजारभन्दा बढी युवालाई आफू मुटुरोग लिएर बाँचिरहेको थाहै छैन । बेलायती हृदय फाउन्डेसनले यस विषयमा चेतावनी जारी गरेको छ । फाउन्डेसनका अनुसार, यस्ता मानिसका लागि मुटुरोग खतरनाक हुन्छ ।
अन्य युवाजस्तै लरालाई पनि आफूसँग मुटुरोग भएको थाहा थिएन ।
कार्डियाक अरेस्ट भएपछि उनलाई साथीले अस्पताल पु–याए । इमर्जेन्सीमा उपचारपछि लराको ज्यान बाँच्यो ।
अस्पतालमा उनी तीन दिनसम्म कोमामा रहिन् । उनी भन्छिन्, ‘होशमा आउँदा मैले केही बुझ्नै सकिनँ । म रुन थालें ।’
जाँचेपछि थाहा भयो, लरा लंग क्युटी सिन्ड्रोमबाट पीडित छिन् । यो आनुवंशिक रोग हो जसले मुटुको ढुकढुकीलाई प्रभावित पार्छ ।
लरा भन्छिन्, ‘त्यतिखेर मेरो उमेर जम्मा २४ वर्ष थियो । मलाई यो उमेरमा पनि यस्तो रोग लाग्ला भन्ने लागेकै थिएन । मैले बूढा मान्छेहरू मुटुरोगका कारण मरेको देखेकी थिएँ तर युवालाई त यस्तो हुनु नपर्ने हो ।’
बेलायती हृदय फाउन्डेसनको ताजा अनुसन्धानअनुसार, १५ देखि २५ वर्ष उमेरका लगभग ८३ हजार मानिसमा आनुवंशिक कारणले मुटुरोग लाग्ने जोखिम छ । सानै उमेरमा यसै कारणले उनीहरूको मृत्यु समेत हुन सक्छ ।
यी मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन । तर केही मानिसलाई कार्डियाक अरेस्टको समयमा समस्याको बारेमा थाहा हुन्छ ।
धेरै कम मानिसले मात्र आफ्नो रोगको बारेमा थाहा पाउँछन् । धेरैलाई रोगै थाहा हुन्न ।
सेन्ट जर्ज विश्वविद्यालयमा मुटुरोगका प्राध्यापक एलाइजा बेहर भन्छन्, ‘एकदमै कम मानिसलाई आनुवंशिक कारणले मुटुरोग हुने कुरा थाहा हुन्छ । तर हामी यो रोगबाट पीडित सबै मानिसलाई एकै ठाउँमा मिसाएर हेर्दा यसको
संख्या ठूलो छ । यस्तो मुटुरोगका कारण बेलायतमा हरेक वर्ष लगभग १५ सय मानिस अचानक मर्छन् । यस्ता रोगीको पहिचान गरेर ज्यान बचाउन एकदम गाह्रो हुन्छ ।’
प्राध्यापक बेहर आनुवंशिक कारणले हुने हृदयघातमा अनुसन्धान गरिरहेका छन् । यसको जानकारीले अचानक हुने मृत्यु रोक्न सहायता गर्ने उनले आशा गरेका छन् ।
केही चिकित्सकहरूले रोग पत्ता लगाउनका लागि युवाले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने मान्यता राख्छन् । अन्य चिकित्सकहरू यस क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको बताउँछन् ।
लरा आफ्नो अनुभव शेयर गरेर मानिसहरूमाझ जागरुकता फैलाउन चाहन्छिन् ।
उनी भन्छिन्, ‘तपाईंहरूलाई पनि यो रोग लागेको हुन सक्छ भनी म बताउन चाहन्छु । मुटुरोग जोकोहीलाई पनि हुन सक्छ ।’
लराको छातीमा एक डिफिब्रिलेटर र पेसमेकर हालिएको छ । आवश्यकता पर्दा उनी यसको उपयोग गर्छिन् ।
लरा भन्छिन्, ‘अहिले म साथीहरूसँग मज्जाले घुमिरहेकी छु किनकि फेरि कहिले मुटु हान्ने हो थाहा छैन । अर्कोपालि म नबाँच्न पनि सक्छु । म जिन्दगी खुलेर बाँचिरहेकी छु । म बाँचेकोमा भाग्यमानी छु ।’
बीबीसीबाट