तीते करेली
कृष्णराज शर्मा
राधा तिमी किन हो टोलाको ।
वंशी बजाई मैले हो बोलाको ।।
झीम् झीम् राधा नझिम्काऊ परेली
भुतुक्कै हुन्छु म !
यो भजनको टुक्का गाउँदै गर्दा म पनि टुप्लुक्क त्यहीं पुगें । स्थानीय विद्यामन्दिर उमाविको प्राङ्गणमा लगाईएको भव्य पण्डाल भित्र यो लोक भजनमा एक युगल जोडीको नृत्य चलिरहेको थियो । भगवान श्रीकृष्ण र राधाको भेषमा यो जोडीको नृत्य रन्केको थियो । मानौं त्याहाँ साक्षात् भगवान श्रीकृष्ण र राधाले प्रेमलीलाको रास देखाउँदै थिए । पहेंलो पण्डाल लगाईएकोले पीत रङ्गले युगल जोडी अझ शोभायमान देखिन्थे । कति राम्रा ! बृन्दावनबाट भर्खरै ओर्लेका श्रीकृष्ण र राधा जस्ता । बाँसुरी बादकको धूनपनि श्रीकृष्णको दुई ओठको बीचमा परेको बाँसुरीको धून जस्तो । पीरीरीरी बाँसुरीको धूनले राधा त नागकन्या बनेकी । लल्याक् लुलुक् परेकी ! राधाको त्यो रूप देखेर कृष्ण कालेले नखरा पार्थे । वाह् कन्हैया काले ! अझ देखाऊ तिम्रो लीला भन्न मन लाग्थ्यो । अथवा भनौं, यस्तो माहौल थियो बागलुङको विद्यामन्दिरमा चलिरहेको धान्याञ्चलको दोश्रो त्यो दिन !
पण्डाल मुनी जमीनमा बिच्छ्याईएको रातो कार्पेटमा पण्डितको भाषामा सम्बोधन हुने मातृशक्ति बसेर धार्मीक प्रवचन श्रबण गर्दै नृत्यको रसास्वादन लिई रहेका थिए । उत्तापट्टी पितृशक्ति बिराजित थिए । कोही कुर्चीमा कोही कार्पेटमा । यसैबीच २०१६ देखि २०३० सम्मका एसएलसी समूहका बुढा विद्यार्थीहरू पुनर्मिलन भए । गर्धनमा पहेंलो खादा र हात हातमा भएका सम्मान–पत्र छातीमा टाँस्दै फोटो खिचे । उनीहरूको मुहारमा प्रफुल्लता भरिएको छ । यही मेसोमा पण्डित गोविन्द शरण महाराजले बुढा विद्यार्थीलाई तन्नेरी बनाउने प्रयत्न गरे । नृत्य लहरीमा पुर्याए । वक्तृत्वकलाका धनी पण्डित गोविन्दशरण पनि कम थिएनन् । संगीत तथा बाध्यवादन टोलीलाई संकेत गरे । बुढा विद्यार्थीहरू पनि औधी खुशी थिए । नाती पनातीका बाजे विद्यार्थीहरूलाई विद्यार्थी बनेर सम्बोधित हुँदा त्यसो हुनु स्वाभाविक पनि हो । म बाजे हुँ भन्ने कुरा त्यतिखेर उनीहरूलाई पत्तै भएन । हेक्कै राखेनन् । आफ्नो बुढौली फर्काएर केटौले हुन यो आवश्यक पनि थियो । लोकलयको भजन टुक्कामा यिनीहरूलाई सोह्रबर्षे जवानी सँझाउन खोजे । यो पुनर्मिलन पछि बुढा विद्यार्थीहरू सोह्र बर्षे हुन खोजे । जवानीको जोश झार्न खोजे । झर्न त के को झर्थ्यो, यो बुढेसकालमा ! यसो उसो हात हल्लाए, लुत्रुक्कै भए ! विद्यार्थी विश्वानाथ रेग्मीले मलाई त हाम्रा पालाको रोदीको याद आयो भन्दै थिए । महेन्द्र खड्का हरिप्रसाद श्रेष्ठ मुरारीदत्त शर्मा राम प्रसाद श्रेष्ठले उनको कुरा सुनेर मसक्कै परे । तिम्लाई बुढा हो ! भन्दै मैले मनमनै गमें ।
म पनि उनीहरूकै पदमार्गमा डोरिन थालेको मान्छे हुँ । उनीहरूकै लयमा दरिने बेला भयो । मान्छेको जीवनलाई छोएपछि छोड्दै नछोड्ने तत्व यही बुढौली हो । जीवनमा बालापन आउँछ जान्छ । बैंश आउँछ जान्छ । घमण्ड आउँछ तोडिन्छ । मायाँ बस्छ भाग्छ । तर मान्छेको जीवनमा बुढौलीले बास गरेपछि बसेको बसेई गर्छ । नमरूञ्जेल पालेर राख्नु पर्छ । धपाउन र लखेट्न सकिंदैन । यहीबेला पारिवारिक रूपमा ‘हरो अथवा बोझ’ भएको ठानिदिन्छन कतिपयका सन्तानहरूले । यहाँ नाच्ने बुढा विद्यार्थीहरूको जीवनमा पनि उपेक्षित र अपहेलित हुनु परेका कथा नहोलान भन्न सक्दिन । जे होस् सबैका व्यथा कथा बिर्साएर यो बुढौलीमा हँसाए नचाए पण्डित गोविन्दशरणले । यो धान्याचलको महत्व नाप्ने यतिखेर दानवीरहरूका दानबाट संकलित एकमुष्ठ रकम होला । तर मैले त्यो दोश्रोदिनका बृद्ध बृद्धालाई मनमा शान्ति दिने त्यो खुशीको क्षण साँच्चिनै भोली एकमुष्ठ सँकलन हुने रकम भन्दा सयगुणा बढी गह्रुङ्गो लागेको ठानेको छु । बुढाहरूको तन नफर्के पनि मन त फर्काएकै थिए । हौशिएका थिए । त्यति वजनदार थियो बुढा विद्यार्थीहरूको एकछिनलाई फर्केको जवानी ।
म पछाडी बसेर यिनै दृश्य हेर्दै थिएँ । सुन्दै थिएँ । यस्ता सामाजिक कार्यमा दुईचार पैसा दान नगरे असामाजिक मानिन्छ । असामाजिक हुनपनि भएन । सामाजिक हुनै पर्यो । सामाजिक हुन मन पघ्रिनु पर्छ । त्यसैले आफ्नै मन पघार्न पनि ज्ञान महायज्ञमा ध्यान पुर्याउनु पर्छ । प्रवचन सुन्नु पर्छ । पण्डितले भक्तजनको जति मन चोर्छन् उती भक्तको मन पघ्रिन्छ । गाई भैंसी नपघारे दुध झर्दैन । कति मन पघ्रो पघ्रेन मेरो मन भित्रै छ । मेरो मन पघार्न पनि पछाडीबाट ध्यानपूर्वक सुन्दै थिएं । सुन्दासुन्दै एकाएक ध्यान भङ्ग भयो । बाजागाजा सहीत आधुनिक बग्गीमा एक जोडी दानवीर पण्डाल भित्र पदार्पण गरे । पण्डितको वाचन कम यि जोडीका पट्टी ध्यान बढी भयो । सबैलाई त्यस्तै भयो होला भन्छु म । म बसेको ठाउँबाट यसो हेरेको चिनीहालें दानवीरलाई । राजा आए राजा आए भनेको त त्यही जँगे पो रहेछ भनेजस्तै भो मलाई । बग्गीमा आउने त त्यही विद्यालयमा सबैभन्दा लामो समय सम्म अध्यापन गर्ने आफ्नै छिमेकी सूर्यप्रसाद श्रेष्ठ मिलन गुरू पो रहेछन् । उनले ४१ बर्ष ६ महिना छ दिन त्याहाँ पढाएका रहेछन् । पढाउन पनि सबैले भन्दा धेरै पढाएका र विद्यालयलाई पनि अहिलेसम्म सबैभन्दा धेरै दान गर्नेमा (तेह्रलाख पचपन्न हजार) परे । एकलाख माथी दानगर्ने दानवीरलाई घरबाटै ताम्दानीमा बोकेर यज्ञस्थलमा सम्मानपूर्वक ल्याउने यज्ञमा तय भएको नियम अनुसार उनी त्यसरी आएका रहेछन् । ताम्दानी भन्दा गाडीमा सजिलो र आरामदायी ढङ्गले दानवीरहरूलाई ल्याउने तरिका ठीक थियो । बग्गीलाई घोडाले तान्छ तर यो बग्गीलाई भने मोटर चालकले तान्छ । त्याहाँ उपस्थित सबैले तालीको गड्गडाहट्ले उनको स्वागत गरे । पण्डितले उसै गरे । प्रमुख अतिथी ॐकार प्रसाद गौचन सँगै उनी पनि मञ्चासिन भए । ॐकार विद्यामन्दिर विद्यालयका संस्थापक ॐप्रसाद गौचनका छोरा हुन् । यि दुईटाले मञ्चमै खासाखुसु गर्दै थिए । एकछिन पछि त झ्याप्पै साढे बाह्रलाखको एउटा कोठै बनाई दिन्छु भनेर रोष्टमबाटै घोषणा गरे मिलन गुरूले । पण्डालको हलमा झन् रौनक थपियो । उनले सबैलाई हौसला प्रदान गरे । आयोजकको मनोबल उचो बनाए । पण्डितमा पनि गौरब थपियो । यहीबेला लोकभजन फुर्यो पण्डितको मुखारविन्द बाट (
बजाऊँ सबले ताली बजाऊँ सबले ताली
दानवीरको सम्मानमा कोही नबसौ खाली
……. ……………. ………….
मिलन गुरू उनको पालाका रसिक मान्छे हुन् । हामी केटाकेटी हुँदा मिलन गुरू र नारन गुरू ठेट्टरमा नाच्ने नामी कलाकार हुन् । अँग्रेजी थिएटर शब्दलाई अपभ्रमित पारेर ठेट्टर भन्ने गरिएको रहेछ । त्यही थिएटर (कलामञ्च) ठेट्टरमा यि दुई पात्र जमेर नाच्थे । गुरूङसिनीको भेषमा अचम्मका पात्र थिए यि दुई । भदौ महिनाको गाईजात्राका दिन देखि बागलुङ बजारमा भदौरे नाच देखाउने परम्परा यद्यपी छ । भदौरे नाचमा नेवार समुदायद्वारा देखाईने रोपाईं नाच, जोगी नाच, घोडा नाच, लाखे नाच र हनुमान नाचभन्दा यही ठेट्टर नाचहेर्न बजार आसपासका गाउँलेहरू बढी झुम्मीन्थे । यही नौटंकी नाचका आकर्षण यिनै मिलन र नारन गुरू हुन् । यिनीहरूको अहिले तन बुढो भएपनि मन बुढो पक्कै भएको छैन । परारसम्म मखमली चोली,कालो घलेकी, कालो छिट्को गून्यू, शीरमा शीरफूल, हरियो पोतेमा पहेंलो तिलहरी, नाकमा बुलाकी, नक्कली चूलठीमा चन्द्रमा, ओठमा लाली र गालामा पाउडर धसेर धपक्कै बलेका गुरूङसिनी भएकै हुन् । नाचेकै हुन् । आज त्यो कहाँ पाई ? बागलुङको हिमाली फोटो सेण्टरका फोटोग्राफर गगन शाक्यले समय सन्दर्भमा फेसबुकमा यिनका फोटो सार्वजनिक गरेको देखेको छु । देख्ने जान्नेले त्यो पनि याद गरे । जेहोस् मिलन गुरू बृद्धै भएपनि पण्डितले भजन हालेपछि उसैगरी नाच्लान भन्ने लागेको थियो । त्यसो भएन । उनको स्वास्थ्यले त्यति साथ दिएन होला । र पनि भजन शुरूभयो । बुढा विद्यार्थीहरू माझका एक विद्यार्थी मिलन पनि हुन् । उनको नेतृत्वमा अरू सहपाठी बुढाहरू नाच्न आश गर्दै्थिए ।
ॐकार प्रसाद गौचन लालचन्द्र राजभण्डारी देवबहादुर श्रेष्ठ मालिकाका कृष्णराज शर्मा मुकुन्द शाक्य लगाएत दर्जन बढी बुढाबुढी विद्यार्थी स्टेजमा उभीए । भुईंमा बसेका र पछाडी बसेका सबैलाई यिनको नाचहेर्न आतुरता थियो । नाच्न पनि नाचे तर, खेतबारीमा ठड्याएको बुख्याँचालाई हावाले हल्लाउँदा दायाँवायाँ ढल्के जसरी यि विद्यार्थीले पनि त्यसैगरी नाचे । दर्शकदीर्घामा रहेका भक्तजनहरू मजाले हाँसे । जे जसो भएपनि ०१६ सालदेखि ०३० सालसम्ममा विद्यालयबाट एसएलसीमा उत्तिर्ण हुने विद्यार्थीहरूको पुनर्मिलनले धन धान्याञ्चल महायज्ञलाई ठूलै मद्दत पुर्यायो । यही समूहको जोडबलले गर्दा भूकम्पले क्षेति पुर्याएको अञ्चलकै जेठो विद्यालयले आधुनिक ढाँचामा ढालिने निश्चित भयो । यो समूहको सकृयता उल्लेखनीय छ ।
यो स्कुलमा पढ्ने विद्यार्थी बुढा भएर नाचेको कुरा त भयो । तर यो स्कुलै बुढो कसरी भयो त्यो नबुझे बुढाहरू नचाएको मज्जै आउन्न । बि.सं. १९९७ सालमा यो स्कुलको स्थापना भएको हो । राणाकालिन समयमा जनताका छोराछोरीले पढ्न पाउने अबसर नै हुँदैन्थ्यो । अझ जनताकै छोराछोरीले स्कुल खोल्नु संभवै थिएन । तैपनि यो स्कुल खुल्यो । यसको बैंशालु उमेरदेखि मात्रै विद्यालयले एसएलसीका विद्यार्थी उत्पादन गर्न थाल्यो । स्कुल १९ बर्षको भएपछि एसएलसी दिने विद्यार्थी तयार हुन थालेका हुन् । पहिला खरको ठाँटीबाट यसको शुरूवात भएको हो । बि.सं.२००३ सालमा मात्र भव्य स्कुल बनेको रहेछ । यो ठाउँमा घरेलु उद्योग चल्दाचल्दै स्कुलको स्थापना भएको हो । यहाँको तानमा बुनेर कपडा उत्पादन हुन्थ्यो । मेघ कुमार बैद्यको बुद्धि र ॐ प्रसाद गौचनको ताकत लगाएर यहाँ उद्योग धन्दा र शिक्षाको दियो बालिएको रहेछ । बि.सं.२००४ सालमा प्रावि, ००८ सालमा निमावि हुँदै ०१६ सालमा माविको रूप धारण गर्यो यो विद्यालयले । त्यो बेलाका नन्द कुमार श्रेष्ठले कालिगण्डकी निरहेको पुल आँफु एक्लैले ३६ हजार रूपैयाँको लगानीमा बनाएका रहेछन् । यस अघि गण्डकी वारपार गर्न डुङ्गाको सहारा लिनु पर्थ्यो । यि त्यो बेलाका अति धनीमानीमा गनिने व्यक्ति रहेछन् । यहींका केही नेवारहरूले उनको सम्पत्तिमा आँखा गाडेर दिउसै लुट्न आएका रहेछन् । पछि छोटी अड्डाका डिट्ठाले ति लुटेराहरूलाई तह लगाएपछि केही समय बसेर बागलुङ छोडेको भनाई छ । मेघकुमारलाई ॐ प्रसादले तोपेका कारण उनी त्यसरी पलाएन हुन परेन । यिनै मेघकुमारको सल्लाहमा ॐ प्रसादले यो स्कुल स्थापना गरेको ऊ बेलाका व्यक्तिहरू बताउँछन् । त्यसरी जन्मेर यसरी बुढो भएको विद्यामन्दिर स्कुल अहिले उच्च मावि बनिसकेको छ । यो बुढो र जीर्ण भएकै समयमा भूईंचालो आयो । पोहोर बैशाख १२ गतेको त्यो महाभूकम्पले स्कुल थला पर्यो । विनाश पछि नवनिर्माण भनेझैं अझ राम्रो भौतिक संरचना र उच्चशिक्षा दिने उद्देश्यले अहिले बुढा र तन्नेरी मिलेर लागि परेको छन् । अहिले चलिरहेको कालीगण्डकी बागलुङ कालिका धार्मीक तथा शैक्षिक महोत्सवद्वारा विद्यामन्दिर धन धान्याचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बाट करिब दश करोड संकलन गर्ने आयोजक समितिले लक्ष लिएको छ । यो आर्थिक संकलनबाट अवश्य पनि विद्यालयले अत्याधुनिक स्वरूप लिने छ । यो विद्यामन्दिर स्कुल साँच्चीकै विद्याको मन्दिरै होस् भन्ने सबैको चाहना र कामना छ । यसो हुन विद्यालय भित्र राजनीतिको गन्ध आउन दिनु हुँदैन । त्यसो भयो भने सबै दानीहरूको मन भत्किने छ । र दान खेर गए सरह हुनेछ । के को पुच्छर काटेर के लाई सजिलो भने जस्तो नहोस् । समाजसेवी शिक्षाप्रेमी दानवीहरू सबैको यो आवाज छ । विद्यार्थी बुढा भएर गएपनि विद्यालय युवावयमा जाज्वल्यमान बनोस् । सबैको मूठी फूकोस् । मन फूरोस् । यो विद्यालय सँधै हाँसीरहोस् । नाची रहोस् ! युग युग सम्म बुढा विद्यार्थीहरूको पुनर्मिलन भैरहोस् । बुढा विद्यार्थीहरू यसैगरी नाची रहून् । हाँसी रहून् ।