एजेन्सी । अभिनेता सैफ अली खान र उनकी पहिलो पत्नी अमृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ बाट बलिउड डेब्यूको तयारीमा छिन् ।
अहिले यस फिल्मको प्रमोशनमा व्यस्त सारा उनको पहिलो फिल्मको प्रमोशनको लागि हरेक किसिमका उपायहरु अपनाइरहेकी छिन् । एकपछि अर्का मिडिया च्यानलमा उनका अन्तरवार्ताहरु आइरहेका छन् ।
साथै उनले दिएका हरेक अन्तरवार्ताबाट बलिउड फिल्म उद्योगमा चर्चा पनि बटुलिरहेकी छिन् । उनको हिन्दी भाषामा भएको दख्खल र उनको आत्मविश्वासको प्रशंसा हुनुका साथै अन्तवार्ता हेरेर सारा डेब्यू अभिनेत्रीभन्दा पनि स्थापित अभिनेत्री भन्दै चर्चा भइरहेको छ ।
मिडियासँगको कुराकानीमासमेत पत्रकारसँग साराले गर्ने व्यवहारका कारण पत्रकारहरुबिच पनि राम्रो सम्बन्ध स्थापित गर्न सफल भइसकेकी छिन् ।
सायद साराले पनि राम्रोसँग बुझिसकेकी छिन् कि उनको तस्बिर खिच्ने र उनका बारेमा समाचार लेख्ने पत्रकारहरु उनको फिल्मी करियरमा महत्वपूर्ण भूमिका खेल्छन् । यही कारण साराले पत्रकारका लागि एउटा छुट्टै योजना बनाएकी छिन् ।
अहिलेको डिजिटल जमानामा साराले मिडिया तथा फोटो पत्रकारलाई हातले चिठ्ठी लेखेर धन्यवाद दिएकी छिन् । साथै उनले पत्रकारहरुलाई कफीका लागि निमन्त्रण दिएकी छिन् ।
साराले चिठ्ठीमा लेखेकी छिन्, ‘मेरो डेब्यू फिल्मबाटै यति धेरै अटेन्सन दिनु भएकोमा धन्यवाद ! यदि तपाइहरुसँग समय छ भने मसँग एक कप कफी पिउनका लागि आइदिनुहोला । म सधैं तपाईँहरुकी आभारी हुनेछु ।’
साराले हातले लेखेर पत्रकारहरुलाई पठाएको चिठ्ठी सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ । फिल्म ‘केदारनाथ’ मा सुशात सिंह राजपुत र सारा अली खान जोडीको रुपमा छन् । प्रेम कहानीमा आधारित यो फिल्म यही डिसेम्बर ७ मा प्रदर्शन हुनेछ ।