भीम घिमिरे
पोखरा, ३० साउन – कार्यक्रम, घुमघाम वा आफ्ना फिल्मको बजार प्रवर्द्धन आदि जुन उद्देश्यले आएका भए पनि कलाकार दीपाश्री निरौला र दीपकराज गिरीसँगका भेटघाट रसिला हुन्छन् । सञ्चारकर्मी भेट्दा दुवै ठटयौली पारामा कुरा गर्छन् । हास्यप्रधान रेडियो र टेलिभिजनका कार्यक्रम प्रस्तुत गर्दै ठूलो पर्दाको फिल्मतर्फ लागेका यी कलाकारले हँसाउने कुरा गर्नु नौलो पनि होइन । भदौ तेस्रो सातादेखि प्रदर्शन थाल्न लागेको आगामी फिल्म ‘छक्का पञ्जा’ बारे बताउन शनिबार यहाँ आइपुगेका दुवै यसपटक अलि गम्भीर देखिए ।
शनिबार मात्रै कान्तिपुरले प्रकाशित गरेको फिल्मसम्बन्धी समाचार ‘बजार आफ्नो, वर्चस्व अरूकै’ बारे गिरी केही गम्भीर थिए । ‘सीमा मिचियो भने उजुरी गर्ने ठाउँ छन्,’ उनले भने, ‘संस्कृति मिचियो भने भन्न जाने ठाउँ कहीँ छैन ।’ शुक्रबार रिलिज गर्ने भारतीय फिल्मलाई उही दिन नेपालीभन्दा बढी महत्त्व दिएर निर्बाध चलाउन दिने चलनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए । ‘नेपाली फिल्मको अबको समय आसलाग्दो छ । अब नेपालीले नेपाली फिल्म हेरेर सन्तोष मान्ने विषय र प्रस्तुति आइरहेको बेला छ,’ उनले भने, ‘तैपनि सानो लगानीमा निर्माण हुने नेपाली फिल्मलाई संरक्षणको नीति सरकारले नलिएसम्म यो उद्योगको बजार फराकिलो हुन गाह्रो छ ।’ यसका लागि सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्ड नै नीति तहको व्यवस्थाका लागि जिम्मेवार रहेको उनले बताए ।
‘हामीजस्ता कलाकार र निर्माताले सकेको गरेका छौं । काम छाडेर नेता भएर हिँड्न भएन,’ उनले भने, ‘बोल्दा मुख छुच्चो भएजस्तो देखिन्छ तर अझै पनि नेपाली फिल्मलाई संरक्षण गर्ने नीति हामीकहाँ छैन ।’ पछिल्लो समय पर्दा पछाडि खटिने प्राविधिक लगायतका फिल्मकर्मी आसलाग्दो भएको उनले बताए । नेपालीले रुचाउने विषयमाथि फिल्म निर्माणको क्रम आसलाग्दो भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सम्बद्ध निकायले ध्यान दिनुपर्ने भनाइ उनले राखे ।
टेलिशृंखला निर्माण र अभिनयसँगै फिल्ममा हात हालेका दीपक र दीपाको ‘छक्का पञ्जा’ तेस्रो प्रोजेक्ट हो । ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ पछिको यो फिल्मबाट निर्देशनमा दीपाश्रीले डेब्यु गरेकी हुन् । ‘पहिलो फिल्ममा हामीले दिनेश डिसी र दोस्रोमा उज्ज्वल घिमिरेबाट निर्देशन गराएका हौं,’ दीपाले भनिन्, ‘छक्का पञ्जामा टिमले निर्देशनको जिम्मेवारी मलाई दिए पनि यो हामी सबै मिलेर बनाएको फिल्म हो ।’ हास्यरसमा आधारित कथाबाट गम्भीर विषयको उठानलाई निर्माण समूहले केलाएकाले नयाँ फिल्मको कथा अपेक्षाकृत रूपमा नेपाली दर्शकले रुचाउने उनले बताइन् । आठजना कलाकारको लगानी रहेको फिल्ममा वैदेशिक रोजगारीको कथालाई काभ्रे, काठमाडौं र केही दृश्य नवलपरासीमा छायांकन गरेको देख्न पाइने जानकारी उनले दिइन् ।
‘काभ्रेमा यस्ता राम्रा ठाउँ पनि छन् जसलाई हामीले ख्याल नै गरेका रहेनछौं, त्यो हामी यो सिनेमामा देखाउँछौं,’ उनले भनिन्, ‘टिम लिडर भएर डाइरेक्सनको जिम्मेवारी पहिलोपटक सम्हाल्नुपरेकाले तयार नहुन्जेल मलाई आराम थिएन ।’ फिल्मका निर्माता तथा कलाकार जितु नेपालले पहिलो र दोस्रो फिल्मजस्तै तेस्रोमा केही कलाकार फरक भएको बताए । छक्का पञ्जामा शिवहरि पौडेल, वसुन्धरा भुसाल, नवोदित नम्रता सापकोटा र वर्षा राउत आदि थपिएका छन् । अघिल्लो फिल्ममा काम गरेका दयाहाङ राई र सीताराम कट्टेल (धुर्मुस) भने छक्का पञ्जामा छैनन् । ‘हामी स्टेज र टेलिभिजन हुँदै फिचर फिल्ममा आएका कलाकार,’ उनले भने, ‘नयाँ प्रोजेक्टअनुसार हाम्रो अनुभव पनि फरक पर्दै आएको छ ।’
९० लाखको लागतमा निर्मित ‘छक्का पञ्जा’ ले आगामी भदौ २४ देखि प्रदर्शनको मिति पाएको छ । यो दिन अरू नेपाली फिल्म रिलिज नभएकाले आन्तरिक प्रतिस्पर्धा नहुनेमा निर्माण युनिट ढुक्क देखिएको छ । कैट्रिना क्याफ र सिद्धार्थ मलहोत्रा अभिनीत ‘बार बार देखो’ र सोहेल खानको नवाजुद्दिन सिद्दिकी अभिनीत ‘फ्रिकी अलि’ लगायतका दुई ठूलो बजेटका हिन्दी फिल्म पनि सोही दिन रिलिज हुने भएकाले छक्का पञ्जाको प्रतिस्पर्धा हलहरूमा तिनीहरूसँग हुने नै छ । दीपकले भने ‘टिजर रिलिज गरेदेखि नै राम्रो रेस्पोन्स पाएकाले दर्शकको माया पाउनेमा हामी ढुक्क छौं ।’