धिरन खत्री
म्याग्दीको बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटी गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरी जिफन्ट युवा नगर कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या नेपाली, सह–सचिवमा महेश बरुवाल रहेको जिफन्टको सदस्यहरुमा जितबहादुर सुनार, तेजबहादुर परियार र प्रतिक्षा किसान चयन भएका छन् ।
जिफन्ट म्याग्दीका उपाध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्तममा जिफन्ट गण्डकी प्रदेशका उपाध्यक्ष नन्दलाल अधिकारीले ‘योग्यता अनुसारको काम र काम अनुसारको दाम’को व्यवस्था भएको नीतिलाई स्थानीय सरकारले श्रमिकहरुको पक्षमा लागू गर्नुपर्ने बताए । सरकारले लिएको श्रमिक नीति श्रम गर्ने श्रमिकको पक्षमा भएको बताउँदै नयाँ नीतिलाई कार्यान्वयनमा ल्याउन सबै श्रमिकको एकता आवश्यक रहेको हुँदा स्थानीयस्तरमा श्रमिकहरुको एकता आवश्यक रहेको बताए ।
त्यस्तै सामाजिक सुरक्षा कोषका प्रवन्धका केन्द्रिय सदस्य किशोरप्रसाद आचार्य र जिफन्ट गण्डकी प्रदेशका युवा अध्यक्ष तीर्थ मगरले श्रमिकहरुको एकता भएमा मर्यादित रोजगारलाई लागू गर्न सक्नेमा जोड दिएका थिए । जसले काम गर्छ त्यो युवा हो, काम गर्ने श्रमिकहरुको आम्दानीले परिवारको आधारभूत आवश्यकताका लागि पुग्ने तलब सुविधा काम गर्ने श्रमिकको पक्षमा व्यवस्था हुनुपर्नेे बताए । जिफन्ट गण्डकी प्रदेशकी सदस्य प्रमिला शर्मा (परि)ले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।