यात्रा गर्नुअघि लिनुपर्ने सवारीसाधनको टिकट घरमै बसीबसी काट्न सकिने सुविधा कार्यान्वयनमा ल्याइएको छ ।
घरमै बसेर अनलाइनबाटै टिकट काट्न सकिने, अनलाइनबाट नै रकम भुक्तानी गर्न सकिने र अनलाइनबाट नै बुकिङ गर्न सकिने ‘मेरो यात्रा डटकम डट एनपी’ले नयाँ सेवाको शुरूवात गरेको छ ।
मेरो यात्रा डटकममा गएर आफूलाई आवश्यक परेको बेला तत्कालै विभिन्न प्रकारका सवारीसाधन रिजर्ब पनि गर्न सकिने सञ्चालक उमेश खड्काले बताए ।
समयसापेक्ष र प्रविधिको प्रयोग गर्दै सरल र सहज रूपमा यात्रुहरू र व्यवसायीलाई यसले सहयोग पुग्नुका साथै झन्झटबाट पनि मुक्त हुने सञ्चालक खड्काको दावी छ ।
लामो दूरीको यात्राको लागि लाइन बस्नु नपर्ने, ठगिनबाट जोगिने र सजिलै टिकट बुकिङ गर्न तथा रिजर्ब गर्न सकिने जनाइएको छ । त्यसका लागि यात्रुले नजिकैको साइवर, कम्यूनिकेशन, ट्राभल एजेन्सी तथा आधिकारिकता प्राप्त टिकट काउन्टरबाट घरमा नै बसीबसी टिकट खरिद गर्न सकिने छ ।
सञ्चालक खड्काका अनुसार अब केही समयपछि मेरो यात्रा मोवाइल एप पनि कम्पनीले सार्वजनिक गर्नेछ । निकट भविष्यमा अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङसँग सहकार्य गरी रकम भुक्तानी गर्न मिल्ने योजना रहेको खड्का बताउँछन् ।