काठमाण्डुमा शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटमा आउने पाहुनालाई गाडीको व्यवस्था गर्न सरकारलाई सास्ति भएको छ ।
समिटमा आउने भिभिआइपी र भिआइपीका लागि गृह मन्त्रालयले सरकारका सचिव र विभाग प्रमुखको गाडी तानेको छ ।
समिटमा आउने पाहुनाका लागि ४८ वटा गाडी मगाइएको गृह मन्त्रालयले जनाएको छ । गृहले मन्त्रीहरूलाई उपलब्ध गराएको १३ वटा सोनाटा कारसमेत भिआइपीलाई दिने भएको छ ।
परराष्ट्र मन्त्रालयबाट ७, भूमि व्यवस्थाबाट ५ र अर्थ मन्त्रालयबाट ४ वटा गाडी गृहले तानेको हो । भिआइपीका लागि पुरानो गाडी दिन नमिल्ने भएका कारण सचिवहरूले प्रयोग गरेका कार समिटसम्मका लागि तानिएको हो ।
सचिवहरू आफ्ना गाडी गृहलाई दिएर पुराना गाडीमा चढिरहेका छन् । नेपाल प्रहरीले पनि उपत्यकामा भएका गाडी अपुग भएपछि अगुवापछुवाका लागि प्रदेशहरूबाट गाडी मगाएको छ ।
गृहले गाडीहरू नेपाली सेनाको नारायणहिटीस्थित गणमा पठाएको छ । एसिया प्यासिफिक समिटमा ३ मुलुकका राष्ट्रपतिसहित ५ सय ६७ विदेशी पाहुना आउँदैछन् ।
फिलिपिन्सकी उपराष्ट्रपति, म्यानमारकी विदेश मन्त्री पनि नेपाल आउँदैछिन् । कम्बोडियाबाट प्रधानमन्त्री नेपाल आउनेछन् ।
त्यस्तै रिपब्लिक अफ नाउरू, रिपब्लिक टुभालु र इन्डिपेन्डेन्टस् स्टेट अफ सामवाका राष्ट्रपतिहरू समिटमा सहभागी हुनेछन् । विभिन्न मुलुकका पूर्वप्रधानमन्त्री र राष्ट्रपतिसमेत सम्मेलनमा सहभागी हँदैछन् ।