चिनियाँ एप टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्ने विषयमा छलफल भइरहेको खुलासा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयको खुलासा गर्दै टिकटकलाई माइक्रोसफ्टले किन्ने विषयमा कुराकानी भइरहेको बताए।
‘टिकटक अधिग्रहण गर्ने विषयमा अमेरिकाका धेरै कम्पनीहरूसँग छलफल भइरहेको छ। सम्भवतः ३० दिनभित्र यस विषयको छिनोफानो हुन्छ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। अमेरिकामा टिकटकको १७ करोड प्रयोगकर्ता रहेका छन्।
ट्रम्पले राष्ट्रपतिमा सपथ लिएलगत्तै टिकटकसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेका थिए। उक्त आदेशअन्तर्गत टिकटकलाई अमेरिकी साझेदारलाई बिक्री गर्ने ७५ दिनको समय दिइएको छ।
बाइटडान्सले सो अवधिमा अमेरिकी कम्पनीलाई कम्तीमा ५० प्रतिशत हिस्सा बिक्री गर्नुपर्ने छ। यदि अमेरिकी कम्पनीलाई उक्त हिस्सा बिक्री नगरिए ७५ दिनपछि टिकटक पुनः अमेरिकामा बन्द हुनेछ। टिकटकलाई कि अमेरिकी साझेदारलाई बेच्ने वा बन्द गर्नेबाहेक विकल्प नरहेको ट्रम्पले यसअघि नै बताइसकेका छन्। चिनियाँ कम्पनी बाइटडान्सले भने अमेरिकालाई ५० प्रतिशत हिस्सा बिक्री गर्न आनाकानी गरिरहेको छ। अन्नपुर्ण पोष्टबाट