म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि १७औं अन्तरमावि हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ सुरु भएको छ । प्रतियोगिताको सुरुवातमा साविक विजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र उप–विजेता माउण्ट एभरेष्टले विजयी सुरुवात गरेका छन् ।
म्याग्दी जेसीजद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता वेष्ट प्वाइन्टले महेन्द्ररत्न मावि बराङ्जालाई शुन्यका विरुद्ध ९ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै साविक उप–विजेता माउण्ट एभरेष्टले बुद्ध एकेडेमी बगरफाँटलाई शुन्यका विरुद्ध २ गोल गर्दै पहिलो चरणमा जित निकालेको छ । यसैगरी बेनी सामुदायिक माविले १ का विरुद्ध ३ गोल गर्दै लोकदीप आवासीय माविलाई पराजित गरेको छ ।
त्यस्तै केबी एकेडेमी दरबाङले शुन्यका विरुद्ध २ गोल गर्दै भीम मावि राजदाङलाई पराजित गरेको प्रतियोगिताका प्रवक्ता सुजन बरुवालले बताए । प्रतियोगितामा जिल्लाका विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई जेसीजकप, ट्रफी, मेडल, प्रमाणपत्र र नगद ४० हजार तथा उपविजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले जानकारी दिए ।
अनुशासित टिमलाई पाँचहजार पाँचसय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एकहजार पाँचसय रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले १७ वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जेसीजकप प्रतियोगिताले म्याग्दीमा नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
प्रतियोगिता सञ्चालनको लागि बेनीका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उनका परिवारले दुईलाख ५० हजार रुपैयाँको सन्तोष स्मृति अक्षयकोष स्थापना गरी सहयोग गर्दै आएका प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोबाइलका बेनीस्थित नरेश मोबाइलका सञ्चालक नरेश श्रेष्ठले एकलाख रुपैयाँ सहयोग गरेका छन् ।
Previous Articleअन्नपूर्णका मेलमिलापकर्तालाई तालिम
Next Article मृगौला पीडित सुरेशलाई कोरियाबाट सहयोग