उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मङ्गलबार सामुदायिक मेलमिलापकर्ताहरुका लागि आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको तालिमको समापनमा जिल्ला न्यायाधीश राजकुमार कोईरालाले कसैको दवाव र प्रभावमा नपरी संविधानले दिएको अधिकार प्रयोग गरेर न्याय सम्पादन र मेलमिलापमा सहजीकरण गर्न सहभागीहरुलाई आग्रह गरे ।
आठवटै वडाका ३४ जना मेलमिलापकर्ताहरु सहभागी तालिमको ममतादेवी शर्मा र गीता श्रीसले सहजीकरण गरेका थिए । वडास्तरमा मेलमिलाप गर्न सकिने देवानी प्रकृतिका मुद्दाहरुको वडामै व्यवस्थापन गर्न मेलमिलापकर्ताहरुलाई सूचीकृत गरेर कामको जिम्मेवारी दिइने न्यायिक समितिका संयोजक समेत रहेकी गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताइन् ।
उनका अनुसार अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा सामुदायिक मेलमिलाप केन्द्र सञ्चालनको तयारी गरिएको छ । न्यायिक समितिका सदस्य रविन्द्र गर्बुजा पुनको अध्यक्षता, सामाजिक विकास अधिकृत तथा उजुरी प्रशासक हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा न्यायिक समितिका अर्का सदस्य बुद्धिबहादुर पुनले तालिमले वडास्तरमै मेलमिलापको वातावरण मिलाउन सहज हुने बताएका थिए ।
Previous Articleप्रहरीकै मिलेमतोमा तस्करी
Next Article बेनीमा १७औं अन्तरमावि जेसीज कप फुटबल सुरु