प्रताप बानियाँ
म्याग्दी, मंसिर ११ – सरकारले आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरहरुले खुसियाली मनाएका छन् । निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरहरुलाई लक्षित गरेर ल्याइएको सामाजिक सुरक्षा योजनाको म्याग्दीमा कार्यरत मजदुरले मैनबत्ती प्रज्ज्वलन गरेर स्वागत गरेका हुन् ।
सदरमुकाम बेनीबजारस्थित क्याम्पसचोकमा जम्मा भएका मजदुरहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५¬–८–११ को स्वागत गर्दछौं’ भन्ने लेखेर मैनबत्ती प्रज्ज्वलन गरेका थिए । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) र क्युपेक म्याग्दीको अगुवाइमा सामाजिक सुरक्षा योजनाको स्वागत कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिफन्टका जिल्ला अध्यक्ष बलादेवी राईले मजदुरहरुको तर्फबाट सामाजिक सुरक्षा ऐन ल्याउन ठूलो संघर्ष गरिएको बताउनुभयो । उहाँले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएर मजदुरहरुको हित गरेको बताउँदै अझै पनि सङ्गठित क्षेत्रबाहेक अन्यत्र धेरै मजदुरहरु समस्यामा रहेकाले सामाजिक सुरक्षा ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।
यसअघि सरकारी सेवामा रहेकाले मात्र पेन्सन वा उपदान पाउने भए पनि अन्य श्रमिकले यस्तो सेवा पाउनबाट बन्चित हुँदै आएका थिए । अब भने निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि सामाजिक सुरक्षा भक्ता पाउने व्यवस्था ल्याइएको हो । सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले अब यो व्यवस्था गरेको हो । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिने र व्यक्ति स्वयंले पनि योगदान गरेको रकमबाट पेन्सन या उपदान लिनसक्ने व्यवस्था गरिएको छ । पेन्सन योजना आउँदो २०७६ साल साउन १ गतेपछि मात्रै लागू हुनेछ ।