सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे अफवाह फैल्याएको भन्दै प्रहरीले एकजना पत्रकारलाई पक्राउ गरेको छ । अध्यक्ष प्रचण्ड चितवन गएका बेला उनीमाथि खुकुरीले आक्रमण भएको झुटो समाचार लेखेको अभियोमा प्रहरीले पोस्ट्पाटी डटकमका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको हो ।
चन्द सम्पादक रहेको पोस्ट्पाटी डटकमले गत मंसिर ६ गते प्रचण्डमाथि चितवनको कृष्ण चोकमा ‘स्थानीयले खुकुरी प्रहारको प्रयास’ शीर्षकको भ्रमपूर्ण र झुटो समाचार लेखेको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
चन्दलाई मंगलबार काठमाण्डुको तारकेश्वर नगरपालिकास्थित मनमैजूबाट पक्राउ गरि हिरासतमा लिइएको अपराध महाशाखाका सूचना अधिकृत एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । रोल्पाको गंगादेव गाउँपालिका–३ भएका चन्द हाल भक्तपुरको सानोठिमीमा बस्दै आएका थिए । चन्द नेत्रविक्रम चन्द विप्लव निकट क्रान्तिकारी पत्रकार संगठननिकट पत्रकार हुन् ।
यसैबीच उनलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै क्रान्तिकारी पत्रकार संगठनले मंगलबारै विज्ञप्ति निकालेको छ । संगठनका महासचिव हिम विष्टले समाचारको विषयमा आपत्ति भए प्रेस काउन्सिलमार्फत् कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै पूर्वाग्राही बनेर चन्दलाई पक्राउ गरिएको जनाएका छन् ।
चन्दलाई पक्राउ गरिनुले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको पनि उनले बताएका छन् । संगठनले चन्दलाई बिनाशर्त रिहा गर्न पनि माग गरेको छ।