एएफपी
रियो डे जेनेरियो, ३० साउन – पौडीका महान् खेलाडी माइकल फेल्प्सले शनिबार रियो ओलम्पिकबाट बिदाइ लिनेछन् । अब ओलम्पिकका अर्का महान् खेलाडी स्प्रिन्टर युसेन बोल्ट रियोमा छाउनेछन् र उनी तीन स्वर्णका लागि प्रयासरत रहनेछन् । जमैकाका बोल्ट सबैभन्दा पहिले पुरुष सय मिटर हिट्समा सहभागी हुनेछन् । अर्कोतर्फ ओलम्पिक इतिहासमा अहिलेसम्म सबैभन्दा बढी पदक जितेका फेल्प्सले २३ औं स्वर्णको प्रयासका लागि चार गुणा सय मिटर मिड्लेमा खेल्नेछन् ।
फेल्प्स र बोल्ट दुवैले रियो ओलम्पिक आफ्नो अन्तिम हुने बताइसकेका छन् । अमेरिकी खेलाडी फेल्प्स सय मिटर पुरुष बटरफ्लाइमा सिंगापुरका स्कुलका विद्यार्थी जोसेफ स्कुलिङसँग दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएपछि अन्तिम ठूलो उपलब्धितर्फ अग्रसर छन् । बोल्टले भने पुरुष सय र दुई सय मिटरसँगै चार गुणा सय मिटर रिलेमा सहभागिता जनाउनेछन् । भर्खर २१ वर्ष पुगेका स्कुलिङले आफ्ना आदर्श रहेका ३१ वर्षीय खेलाडीलाई हराएर सनसनी मच्चाएका हुन् ।
त्यसमा फेल्प्ससँगै दक्षिण अफ्रिकाका चाड ले क्लोस र हंगेरीका लासज्लो चेस सबैले समान समयमा दोस्रो स्थान हात पारे । सिंगापुरले ओलम्पिकमा स्वर्ण जितेको यो पहिलोपल्ट हो । स्कुलिङले त्यस क्रममा ५०.३८ सेकेन्डको ओलम्पिक कीर्तिमान पनि बनाए । अर्का स्विमिङ सेनसेसन किशोरी खेलाडी केटी लेडेकी सन् १९६८ यता फ्रि–स्टायल महिला दुई सय, चार सय र आठ सय मिटरमा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् ।
एथलेटिक्सतर्फ सुरुमै महिला दस हजार मिटरमा ऐतिहासिक प्रदर्शन देखियो । इथियोपियाकी एलामज आयनाले २३ वर्ष पुराना स्पर्धाको विश्व कीर्तिमात तोड्दै २९ मिनेट १७.४५ सेकेन्डको नयाँ समय निकालिन् । उनले १४ सेकेन्डले कीर्तिमानमा सुधार गरेकी हुन् । ‘मैले भगवान्सँग मागेको थिएँ र उनले मलाई साथथोक दिए,’ उनले भनिन् । चीनकी वाङ चेनले पुरुष २० किलोमिटर दौड जिते र रजत जितेका आफ्नै देशका चाइ जेलिनलाई १५ सेकेन्डले पछाडि छाडे ।
महिला फुटबलमा सन् २००४, २००८ र २०१२ को स्वर्णपदक विजेता अमेरिका रियो ओलम्पिबाट बाहिरियो । उसलाई स्वीडेनले टाइब्रेकरमा ४–३ ले हरायो । जितले स्वीडेन भने अर्को चरण पुग्न सफल रह्यो । आयोजक ब्राजिल भने अस्ट्रेलियालाई टाइब्रेकरमा ७–६ ले हराएर सेमिफाइनल पुग्न सफल रह्यो । निर्धारित समयसम्म दुवै टिम गोलरहित बराबरीमा थिए । यस्तै अरू क्वाटरफाइनल खेलमा जर्मनीले चीनलाई १–०, क्यानडाले फ्रान्सलाई १–० ले हराए ।
Previous Article‘अधिकांश उपभोक्ताको भान्सामा सिलिन्डर बम’
Next Article नेयमारको गोलसँगै ब्राजिल सेमिफाइनलमा