प्रताप बानियाँ
म्याग्दी, कात्तिक ३० – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आठौं गाउँसभा शुक्रबार गाउँपालिका सदरमुकाम पोखरेबगरमा सुरु भएको छ । गत आर्थिक वर्षको बाँकी तथा थप बजेट र गाउँपालिकालाई आवश्यक विधेयकहरु पारित गर्नका लागि गाउँसभा आयोजना गरिएको हो ।
आठौं गाउँसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाका सबै स्थानीय तहहरुमध्ये अन्नपूर्ण गाउँपालिका हरेक हिसाबले सम्भावनायुक्त रहेको बताएका छन् । उनले अन्नपूर्ण गाउँपालिका पर्यटन, जलविद्युत, कृषि उपजलगायत प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भएको बताउँदै सबै मिलेर यसको विकास र उत्थानमा लाग्नुपर्ने बताएका थिए ।
प्रमुख केसीले देशका सबै ७६१ ओटै सरकारहरु आफैमा स्वायत्त भएकोमा जोड दिँदै स्थानीय तहलाई आवश्यक ऐन, कानुन र नीतिनियम बनाएर लागू गर्न सकिने बताएका छन् । एकात्मक शासन प्रणालीको व्यवस्थाबाट सङ्घीय व्यवस्थामा गएको हुनाले काम गर्ने सवालमा केही समस्या रहेको भन्दै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी सबै मिलेर विकास निर्माणमा लाग्नुको विकल्प नभएको उनको भनाइ छ । जिल्ला समन्वय समितिको काम समन्वय र अनुगमन गर्ने भएको हुँदा गाउँपालिकाको विकासका लागि आवश्यक सहयोग गर्ने केसीले प्रतिबद्धता जनाए ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले गाउँपालिका भित्रका विद्यालयहरुमा टेलिटिचिङको अभ्यास गरिएको बताउँदै निकै प्रभावकारी भएको बताए । उनले गाउँपालिकामा कृषि उपज सङ्कलन केन्द्रको स्थापना भएको जानकारी गराउँदै गाउँपालिकाको तर्फदेखि स्थानीय जनतालाई प्रभावकारी सेवासुविधा दिने प्रयास गरिएको बताएका छन् । गाउँपालिका उपाध्यक्ष केशमाया मगरले गाउँपालिकास्तरमा विकास निर्माणका योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दा जिल्ला समन्वय समितिसँग समन्वय र छलफल गरेर गर्ने गरिएको बताइन् ।
जिल्ला समन्वय समिति सदस्य बोमाया गर्बुजाले गाउँपालिकाको विभिन्न वडामा योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दा समन्वय नभएको गुनासो गरेकी थिइन् । कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्य ओमप्रसाद फगामी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रतिनिधि खड्ग गिरी र नेपाली कांग्रेसका अनिल हिराचनले मन्तव्य राखेका थिए । गाउँपालिका अध्यक्ष क्या. पुनको अध्यक्षता, प्रवक्ता कृष्णप्रसाद बरुवालको सञ्चालन र न्यायिक समिति सदस्य बुद्धि पुनको स्वागतमा उद्घाटनसत्र सम्पन्न भएको थियो ।
यसैबीच गाउँसभाले उपाध्यक्ष केशमाया मगरले पेश गरेको तीन करोड २७ लाख रुपैयाँ बराबरको बजेट छलफलसहित पारित गरेको छ । यसैगरी गाउँसभामा पेश भएको सहकारी विधेयक–२०७५, संस्था दर्ता तथा नवीकरणसम्बन्धी विधेयक–२०७५ र न्यायिक समितिले उजुुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ माथि छलफल सुरु भएको गाउँपालिकाले जनाएको छ । यसअघि गाउँसभा बोल्दै सभासदहरुले गाउँसभाको सूचना समयमै नपाएको, विभिन्न ऐन तथा विधेयकहरु नबनाइएको र उपसमिति गठन नगरिएको भन्दै आपत्ति जनाएका थिए ।