प्रताप बानियाँ/रुप्से दैनिक
गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागूऔषध नियन्त्रण गर्नका लागि सशक्त अभियान चलाइने बताएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा हालै निर्माण गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको आज उद्घाटन गर्दै उनले मदिरा तथा लागूऔषध नियन्त्रण र निर्मुल पार्न अभियान अगाडि बढाइने बताए ।
गृहमन्त्री थापाले मदिरा र लागूऔषध निषेधको अभियान सुरु गरिएको बताउँदै कालोबजारी नियन्त्रण एवं विकास निर्माणका कामलाई तीव्रता दिन गृह मन्त्रालयको तर्फबाट आवश्यक कदम चालिने बताए । उनले देशमा शान्ति र स्थायित्वलाई सुदृढ पार्ने नीति लिइएकाले शान्ति र स्थायित्व कायम गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको हुँदा मन्त्रालयमार्फत प्रभावकारी योजना अगाडि बढाइएको बताए ।
गृह प्रशासन सुधार योजना अन्तर्गत ८२ बुँदे कार्ययोजना अगाडि सारिएको गृहमन्त्री थापाको भनाइ छ । उनले मानवीय लापर्वाहीका कारण हुने क्षति न्युनीकरणमा सतर्कता अपनाउन स्थानीय सरकारलाई आग्रह गर्दै जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने मानवीय र भौतिक क्षति न्युनीकरण गर्न विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिए । विकास निर्माणसँगै हुने आकस्मिक घटनाहरुलाई सहज बनाउन जिल्लामा विपद् व्यवस्थापनको पूर्वतयारी गर्नुपर्नेमा उनले जोड दिए ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले विपद्को हिसाबले म्याग्दी जिल्ला अत्यन्तै जोखिमयुक्त रहेको हुँदा विपद्को अवस्थामा सूचना सङ्कलन तथा राहतको कामलाई व्यवस्थित बनाउन जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको बताए । उनले आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सूचना प्रविधिको सुविधा रहेको हुँदा सूचना सङ्कलन तथा प्रवाहका लागि जनपद र सशस्त्र प्रहरी एवं प्रशासनबाट चौबीसै घण्टा एकएक जना जनशक्ति खटाइने जानकारी दिए । प्रजिअ अधिकारीले म्याग्दी हिमालै हिमालको जिल्ला भए पनि हिमाली जिल्लामा सुचीकृत नहुँदा दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्ने भएकाले हिमाली जिल्लामा पार्नलाई गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।