म्यान्मार वा बर्मालाई स्वर्णभूमि पनि भनेर चिनिन्छ ।
बर्माका शहरहरू माथिबाट हेर्दा जमीनभरि सुनौलो कम्बल ओछ्याइएको जस्तो देखिन्छ । स्तूप, मन्दिर र पगोडा सबै सुनौला छन् । शहरका व्यस्त सडक र गाउँका शान्त इलाका पनि सुनौला छन् ।
इरावती नदी यही स्वर्णभूमिको बीचबाट बग्छ । त्यसैको किनारमा वास्तविक बर्मा छ ।
पहाडहरूमा बनेका विशाल बौद्ध मन्दिर, पानी भरिएका बादल, टाढा टाढासम्म फैलिएका जंगल र किनारहरूमा रहेका साना ठूला घर कुनै कलाकारको सिर्जना जस्ता देखिन्छन् ।
मान्डले बिजनेस फोरमका अनुसार, मान्डलेवरिपरिका पहाडमा नै सातसयभन्दा बढी स्वर्ण मन्दिर छन् ।
एघारौं र १३औं शताब्दीको बीचमा पगान साम्राज्यका बेलामा यहाँ दश हजारभन्दा बढी मन्दिर हुन्थे ।
त्यतिखेर बौद्ध धर्म बर्माभरि फैलिएको थियो ।
मान्डलेका व्यावसायिक पथप्रदर्शक सिथु हतुन बर्माको संस्कृतिमा सुनको धेरै महत्त्व रहेको बताउँछन् ।
त्यहाँ अहिले पनि परम्परागत तरिकाले सुनलाई फरक फरक रंगरूपमा ढालिन्छ ।
सुन २४ क्यारेट शुद्ध भएको नभएको विचार गरिन्छ ।
बाँसका पातहरूको बीचमा सुन राखेर सयदेदि दुई सयसम्म पातो बनाइन्छ ।
अनि यिनीहरूलाई साढे दुई किलोको हतौडाले ६ घन्टासम्म पिटिन्छ । त्यसपछि सुनको सही आकार आउँछ ।
अनि त्यसलाई पातलो र सानो एक एक इन्चको टुक्रामा काटिन्छ ।
सुनका पत्ताहरू मन्दिरमा चढाइन्छन् । सुनको प्रयोग परम्परागत औषधि बनाउनका लागि गरिन्छ ।
त्यति मात्र नभई त्यहाँका स्थानीयहरू रक्सीमा सुनको टुक्रा हाल्छन् । स्थानीय रक्सीलाई ह्वाइट ह्विस्की भनी चिनिन्छ ।
त्यसका बोतलहरूमा सुनको पातलो पातो हालेर हल्लाइन्छ । अनि यो सुन मिसिएको रक्सीलाई गिलासमा हालेर मानिसले त्यसको आनन्द उठाउँछन् ।
म्यान्मारमा सुनलाई एकदम पवित्र मानिन्छ । बौद्ध धर्ममा सुनको धेरै महत्त्व छ ।
सुनलाई सूर्यको प्रतीक मानिन्छ र सूर्य ज्ञान तथा बुद्धिको प्रतिनिधि गर्छ ।
मान्डले शहरमा बर्माको सबभन्दा पवित्र मन्दिर महामुनि पाया छ । त्यहाँ बिहान चार बजेदेखि नै भीड लाग्छ ।
त्यहाँ सुनौलो बुद्ध विराजमान हुनुहुन्छ । मानिसहरू स्थानीय बजारबाट सुनको पातो किनेर भगवान् बुद्धलाई अर्पण गर्छन् ।
सिथु भन्छन्, ‘हामीहरू भगवान् बुद्धलाई धेरै सुन अर्पण गर्न चाहन्छौं । उहाँका मन्दिर र पगोडा बनाउन चाहन्छौं । तिनै मन्दिरलाई आफ्नो पवित्र जमीनमा पाइने सुनले सजाउन चाहन्छौं ।’
एजेन्सी