‘जेसीज कप फुटबल, अवसर र सम्मान’ भन्ने मूल नारासहित १७औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता–२०१८ आगामी मंसिरमा हुने भएको छ । म्याग्दी जेसीजको आयोजनामा हरेक वर्ष हुँदै आइरहेको प्रतियोगिता यसवर्ष मंसिरको ११ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो ।
आइतबार बेनीमा पत्रकार सम्मेलन गरेर १७औं जेसीज कप फुटबल प्रतियोगिताको तयारीका बारेमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले प्रतियोगिता सफल पार्नका लागि तयारीलाई अगाडि बढाइएको बताउँदै विभिन्न उपसमितिहरु गरिएको जानकारी दिएका छन् । प्रतियोगितामा सहभागिता जनाउन जिल्लाका विभिन्न विद्यालयहरुमा पत्राचार गरिसकिएको म्याग्दी जेसीजले जनाएको छ ।
प्रतियोगिताका प्रवक्ता एवं स्वयंसेवक परिचालन उपसमितिका संयोजक सुजन बरुवालका अनुसार विजेता र उपविजेतालाई क्रमशः नगद ४० हजार र २५ हजार रुपैयाँसहित जेसीज कप, ट्रफी, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । यसैगरी अनुशासित टिमलाई पाँचहजार ५५५, उत्कृष्ट खेलाडी, डिफेन्डर, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक, सर्वाधिक गोलकर्ता र राईजिङ्ग प्लेयरलाई जनही एकहजार पाँचसय रुपैयाँले पुरस्कृत गरिने प्रवक्ता बरुवालले बताएका छन् ।
प्रतियोगिता सञ्चालनमा कुल सातलाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ भने सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक रहेको छ । प्रतियोगिताको लागि प्रायोजक र सहयोगदाताहरुको खोजी भैरहेको मूल संयोजक विरेन्द्र श्रेष्ठले बताए । प्रतियोगितामा नरेश मोबाइल सेन्टर बेनीले ५० हजार रुपैयाँ सहयोग घोषणा गरी सहप्रायोजक बनेको छ भने प्रतियोगितामा खेल खेल्दै गर्दा खेलाडीहरु घाइते भएमा उपचारको लागि शिखर इन्सुरेन्ससँग सहकार्य गरी निःशुल्क बीमा गर्ने निर्णय गरिएको शाखा अध्यक्ष विश्व्कर्माको भनाइ छ ।
फुटबल प्रतियोगिताको लागि एकलाख ५० हजार सहयोग गर्नेलाई टाइटल स्पोन्सरको रुपमा प्रतियोगितामा नाम जोडिने बताइएको छ । त्यसैगरी ७५ हजार सहयोग गर्नेलाई प्रायोजक र ५० हजार सहयोग गर्नेलाई सह–प्रायोजक संस्थाको रुपमा सम्मान गरिने आयोजकले बताएको छ ।