म्याग्दीको सदरमुकाम बेनीबजारदेखि २६ कोष टाढा रहेको धौलागिरी गाउँपालिका–१, गूर्जामा सञ्चालित एकीकृत घुम्ती शिविरले गूर्जावासीलाई राहत मिलेको छ । जिल्ला प्रशासन कार्यालयको प्राविधिक तथा धौलागिरी गाउँपालिकाको समन्वयमा सञ्चालित दुईदिने घुम्ती शिविरमार्फत सरकारी सेवासुविधा घरदैलोमै उपलब्ध गराइएको हो ।
शिविरमा गूर्जाकी उदिकला छन्त्यालले ७७ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । नागरिकता नभएकै कारण सरकारले प्रदान गर्दै आइरहेको सामाजिक सुरक्षाभत्ता लिनबाट बञ्चित छन्त्यालले गाउँमै नागरिकता पाएपछि उत्साहित भएको बताइन् । यसैगरी शिविरमार्फत ७७ वर्षका झकप्रसाद छन्त्याल, ७३ वर्षीया सस्तिमा विक, ७२ वर्षीय थमान छन्त्याल, ७१ वर्षका खगी छन्त्यालसहित नागरिकता नभएकै कारण सरकारी सेवासुविधा लिनबाट बञ्चित झण्डै १० जनाले एकैदिन नागरिकता पाएका थिए ।
गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले विगतमा नागरिकताको अभावले निकै समस्या भएको बताउँदै अब वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ताको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए । आर्थिक, पारिवारीक र भौगोलिक रुपमै अति विकट भएकै कारण सदरमुकाम बेनीसम्म आउन नपाएका गूर्जावासीले घर आँगनमै सदरमुकाम बेनीमा रहेका सरकारी कार्यालयबाट प्रदान हुने सरकारी सेवासुविधा पाएपछि दङ्ग परेका छन् । एकैपटक सरकारी सेवासुविधा लिएर गाउँमा आएको टोलीलाई स्थानीयले स्वागत, सत्कारका साथै सरकारी सेवासुविधा लिएका थिए ।
शिविरको अवसरमा जग्गा राजीनामा, नामसारी, श्रेस्ता कायमसहित नापी कार्यालयबाट उपलब्ध सम्पूर्ण सेवासुविधा गाउँमै उपलब्ध गराइएको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गूर्जावासीको प्रमुख समस्यालाई शिविरमार्फत पुरा गरिएको बताउँदै ज्येष्ठनागरिकले नागरिता पाउँदा निकै उत्साहित भएको उनले बताए । शिविरमार्फत ७८ जनाले नागरिकताको प्रमाणपत्र, १ सय ५० जनाले स्वास्थ्य परीक्षण, नेपाली सेनाको ईन्द्रबक्स गुल्मले हेलिप्याड बनाउन आवश्यक जग्गा पहिचान, जिल्ला प्रहरी कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम, महिला तथा बालबालिका कार्यालयबाट १० ओटा अपाङ्गता परिचयपत्र वितरण, जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलनलगायत विभिन्न सरकारी सेवाहरु उपलब्ध गराइएको थियो ।
एकीकृत घुम्ती शिविरमा पुगेका सांसद भूपेन्द्रबहादुर थापाले दुर्गम क्षेत्रका जनतालाई सहज सरकारी सेवासुविधा उपलब्ध गराउन आवश्यक सहयोग गर्ने बताएका छन् । गाउँमै सरकारी सेवा पाउने गरी थप पहल गर्ने बताउँदै उनले सरकारी सुविधाबाट बन्चित भएकाको पहिचानमा स्थानीय प्रतिनिधिले सघाउनुपर्ने बताए । शिविरमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, धौलागिरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर, नेपाली कांग्रेसका प्रतिनिधि कमल छन्त्याल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
यसैबीच आइतबार लुलाङमा शिविर सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षभित्रै जिल्लाको बेनी नगरपालिकाबाहेक अन्य पाँचवटै स्थानीय तहका दु्र्गम क्षेत्रमा पुगेर घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Previous Article१७औं जेसीज कप फुटबल प्रतियोगिता मंसिरमा
Next Article लोमान्थाङमा सेनाको क्याम्प स्थापना