मनाङ, २ कात्तिक – यहाँका किसानले एउटै बगैंचाबाट तीन करोड रुपैयाँ बराबरको स्याउ फलाएका छन् । गत वर्ष ६० हजार किलो स्याउ फलेको बगैंचामा अहिले १ लाख ५० हजार किलोभन्दा बढी फलेको सम्बद्ध सञ्चालकले बताएका छन् ।
मनाङको पिसाङ १ भ्राताङमा एग्रो मनाङ प्रालिले तीनवटा वर्णसंकर (हाइब्रिड) जातका स्याउ खेती गरेका छ । एग्रो मनाङले इटली र सर्भियाबाट गाला, गोल्डेन र फुजी जातका स्याउका विरुवा ल्याएर खेती गरेका हो । उत्पादनको दोस्रो वर्ष यसपटक कम्तीमा २ करोड ८० लाख रुपैयाँ बढीको स्याउ फलेको एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताए ।
उनका अनुसार अहिले ४ सय १५ रोपनी जग्गामा ६० हजार स्याउका बिरुवा लगाइएका छन् । वर्णसंकर भएकाले बगैंचामा लगाइएको बिरुवा अरू स्याउको जस्तो अग्ला र मोटा नरहेको उनले बताए । यी बिरुवा मनाङसम्म ल्याउँदा प्रतिगोटा १ हजार ५ सय रुपैयाँ परेको थियो ।
‘प्रत्येक बोटमा सात किलोसम्म स्याउ फलेका छन्,’ उनले भने, ‘अबको ३/४ बर्षमा प्रत्येक बोटबाट ३५ किलो सम्म स्याउ फल्न सक्छ ।’ उनका अनुसार प्रतिदाना २ सयदेखि २ सय ५० ग्रामसम्म तौलका छन् । बगैंचाबाट गाला प्रतिकिलो १ सय ७५ र गोल्डेन १ सय ६५ मा बिक्री भइरहेको छ । फुजी जातका स्याउ केही सातापछि मात्रै टिप्ने उनले बताए । यसको खुद्रा मूल्य प्रतिकिलो १ सय ९५ रुपैयाँ तोकिएको छ । ‘अहिले काठमाडौं र पोखराका ठूला मार्केटमा गइरहेको स्याउ यहीँको हो,’ उनले भने ।
एग्रो मनाङले ७ सय ३५ रोपनी जग्गामा स्याउ खेती गर्ने जनाएको छ । हाल १६ करोड रुपैयाँ लगानी गरिएको उक्त स्याउ फर्ममा लगानी बढाएर २३ करोड रुपैयाँ पुर्याइने सञ्चालकमध्येका पोल्देन छोपाङ गुरुङले बताए । उनका अनुसार फर्मसँगै जोडेर होटल र कोल्डस्टोरसमेत निर्माण भइरहेको छ । बगैंचाको बिक्री केन्द्रबाट जुस बनाएर बेच्ने गरिएको छ ।
स्याउ खेतीबाट कृषिमा आधारित पर्यटन ‘एग्रो टुरिजम’ को विकास गर्न खोजेको उनले बताए । स्याउ खेतीका लागि एसियाली विकास बैंक (एडीबी) मार्फत हिमाली आयोजनाले २ करोड २४ लाख ९९ हजार ९ सय ७८ रुपैयाँ अनुदान सहयोग गरेका छन् । कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेको छ ।
यी जातका स्याउ समुद्री सतहबाट १८ सय मिटरमाथि राम्रो फल्ने पोल्देन छोपाङले बताए । ‘स्याउ खेती गरिएको क्षेत्र २८ सय ५० मिटर उचाइमा छ । यसलाई हिमपातले पनि असर गर्दैन,’ उनले भने ।
एग्रो मनाङले माथिल्लो मनाङका ७ गाविसको संगोलमा रहेको जग्गा भाडामा लिएर स्याउ खेती गरेको हो । गाविसले मनाङ मस्र्याङी क्लबको आयस्रोत बढाउन उक्त जग्गा उपलब्ध गराएको थियो । उक्त जग्गामा ४० वर्षदेखि परम्परागत रूपमा स्याउ खेती गरिँदै आएकोमा स्याउ खेती राम्रो नभई जग्गा खेर जान थालेपछि एग्रो मनाङले टेन्डर प्रक्रियाबाट २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिजमा लिएको हो । ‘हामीले सार्क राष्ट्रकै ठूलो र नमुना स्याउ बगान निर्माण गर्ने योजना बनाएका छौं,’ पोल्देन छोपाङले भने, ‘स्याउका बिरुवा थप्दै लगेका छौं ।
सबै बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक २० लाख किलो बढी स्याउ उत्पादन हुन्छ ।’ गुरुङले उक्त बगैंचामा आलुसमेत रोपेका छन् । स्याउ उत्पादनको यसबेला ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
पोल्देन छोपाङले स्याउबारीको काम र बजार हेर्ने जिम्मा आफ्ना छोराहरू समराज र युवराजलाई दिएका छन् । समराजले बगानको व्यवस्थापन गरिरहेका छन् । युवराजले तेस्रो मुलुकसम्म स्याउ निर्यात गर्ने योजना बुनिरहेका छन् । उत्पादित स्याउलाई खाद्य तथा पेय पदार्थ बनाउने योजना रहेको सञ्चालक गुरुङले बताए । उनका अनुसार स्याउको रस निकालेर बाँकी रहेका छोक्राबाट पशुको दाना पनि बनाउन सकिन्छ । कान्तिपुर दैनिक
Previous Articleमहायज्ञ अघिनै एक करोड संकलन
Next Article पोखरा–बागलुङ सडक मर्मत नसकिँदै भत्कियो