विद्यामन्दिर उमाविको प्रस्तावित भवनको इन्जिनियरिङ डिजाईन
बागलुङ, २ कात्तिक
जिल्लाकै सबै भन्दा पुरानो विद्यामन्दिर उमाविको भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञको पूर्व सन्ध्यामा १ करोड रुपैयाँ संकलन भएको छ । भूकम्पले क्षतिग्रस्त विद्यालयको पुन निर्माण अभियानका लागि ५ करोड ५० लाख रुपैयाँ संकलन गर्न यो अभियान संचालन गरिएको हो ।
विद्यालयले आयोजना गरेको कालीगण्डकी बागलुङ कालिका धार्मिक तथा शैक्षिक महोत्सव, विद्यामन्दिर धनधान्याचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मंगलवार देखि शुरु हुँदैछ । पहिलो दिन कालीगण्डकी नदीबाट २ हजार १ सय कलशबाट जल ल्याएर कलश यात्रा गर्ने कार्यक्रम छ । बुधवारदेखि महायज्ञको मुल समारोह संचालन हुने बताइएको छ ।
दुइ महिना अघिनै भवनको शिलान्यास भैसकेकाले सहयोगीहरु धमाधम आइरहेका छन् । अहिले सम्म २१ वटा कोठा निर्माणका लागि केहीले नगद र केहीले बागदान गरिसकेका छन् । विद्यामन्दिर उमाविले १२ लाख ५० हजार रुपैयाँ दान गर्नेलाइ उनीहरुकै इच्छा अनुसार कक्षा कोठाको नामाकरण गर्न दिने व्यवस्था गरेपछि सहयोगी आएका हुन् । सोमबार विहान आयोजित पत्रकार सम्मेलनमा विद्यालयले हाल सम्मका दाता र बागदान गर्नेको जानकारी समेत दिएको थियो ।
अहिले सम्म सबैभन्दा धेरै बागलुङ बजारका तीर्थप्रसाद श्रेष्ठले आफ्ना पितृ र परिवारको नाउँमा २२ लाख ५० हजार रुपैयाँको लागतमा ३ कोठा निर्माण गर्न काम थालिसकेका छन् । त्यस्तै यस अघि ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर उनले हरेक बर्ष उमावि तर्फ उत्कृष्ठ हुने ३ जना विद्यार्थीलाइ २५ हजार रुपैयाँका दरले पुरस्कृत गर्न थालिसकेका छन् ।
विद्यालयको अभियानका लागि जयप्रकाश श्रेष्ठले १२ लाख ५७ हजार, ओमकारप्रसाद गौचनले १२ लाख ५० हजार, अमेरिकामा बस्ने हिरालाल गौतमले १२ लाख ५० हजार सहयोग बोलीसकेका छन् । त्यस्तै सुवास राजभण्डारी र रामचन्द्र राजभण्डारीले १२ लाख ५० हजार, पुष्पमान श्रेष्ठले पनि १२ लाख ५० हजार, पूर्व न्यायाधिस कुलबहादुर श्रेष्ठले १२ लाख ५० हजार, ग्लोबल आइएमी बैंकका अध्यक्ष चन्द्र ढकालले पनि १२ लाख ५० हजार रुपैयाँ बोलेका छन् । प्रभु बैंकका सिइओ अशोक शेरचन, दिल विकास राज भण्डारी, भरत श्रेष्ठ, सुकुन्द प्रधान, दीपक प्रधान (शिव), पूर्व शिक्षक शत्रुधन श्रेष्ठ, सहदेव राजभण्डारी, आनन्द राजभण्डारी, बागलुङ समाज काठमाण्डौका अध्यक्ष सुमन शाक्य, संजय अधिकारी तथा विरेन्द्र नारायण श्रेष्ठ समेतले १२ लाख ५० हजार रुपैयाँका दरले सहयोग गर्ने गरी बागदान गरेका छन् । ‘अहिले सम्म १ करोड भन्दा धेरै बागदान भैसकेको छ, महायज्ञको समयमा उहाँहरु आएर नगद सहयोग गर्ने कार्यक्रम छ’ प्रअ जगन्नाथ आचार्यले भने, ‘विद्यालयले ५ करोड ५० लाख रुपैयाँ संकलन गरेर २५ कोठे भवन र शैक्षिक गुणस्तर सुधारको काम गर्ने योजना बनाएको छ ।’ धौलागिरी बहुमुखी क्याम्पसमा नभएका तथा प्राविधिक विषयको अध्यापन समेत थाल्ने गरी यो अभियानले लक्ष बनाएको पनि उनले बताए ।
जिल्ला शिक्षाबाट पनि ८ कोठे भवनका लागि ६० लाख रुपैयाँ सहयोग प्राप्त हुने योजना छ । कार्यरत शिक्षकहरुले १२ लाख ५० हजार संकलन गर्ने योजना बनाएका छन् । जिल्लाकै पुरानो विद्यालय भएकोले सबैको साथ र सहयोग प्राप्त हुने मुल आयोजक समितिका अध्यक्ष लालचन्द्र राज भण्डारीले बताए । यो अभियानका लागि ५ सय १ सदस्य रहेको मुल आयोजक समिति गठन गरिएको छ ।
विसं १९९७ सालमा स्थापना भएको यो विद्यालयले हाल उमावि तर्फ शिक्षा, विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पढाइ संचालन गर्दै आएको छ । विद्यालयमा हाल सबै संकाय र मावि तहमा गरी १ हजार २ सय ९७ विद्यार्थी अध्ययनरत छन् । उक्त भवन निर्माणका लागि प्रदिप शेरचनले ठेक्का लिइसकेको उमावि तर्फका संयोजक डिल्लीराज गौतमले बताए । विद्यालयले यो महाअभियान सकेपछि उमावि तर्फको पूर्वाधार सुधार, पक्की छात्रावास निर्माण तथा गुणस्तर सुधार अभियानलाइ पनि अगाडि बढाउने लक्ष राखेको छ ।
Previous Article३ महिनामा १२ लाख राजस्व उठ्यो
Next Article मनाङमा फल्यो एउटै बगैंचामा ३ करोडको स्याउ