बागलुङ, २ कात्तिक
जिल्ला ट्राफिक कार्यालय बागलुङले तीन महिनामा १२ लाखभन्दा बढी राजश्व संकलन गरेको छ ।
ट्राफिक नियमविपरीत सवारी सञ्चालन गर्ने २ हजार ७७ सवारीलाई कारबाही गर्दा तीन महिनामा १२ लाख ९७ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख एवं प्रहरी नायव निरीक्षक छबबहादुर घर्तिले जानकारी दिए ।
ट्राफिक कार्यालयले साउन महिनामा ४ सय ९० ओटा सवारी साधनबाट २ लाख ८६ हजार रुपैयाँ, भाद्र महिनामा ७ सय ४७ ओटा सवारी साधनबाट ५ लाख १५ हजार ५ सय रुपैयाँ र असोज महिनामा ८ सय ४० सवारीबाट ४ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरेको घर्तिले बताए ।
साउन महिनामा ६५ ओटा ट्रकबाट ३० हजार, २६ ओटा बसबाट १३ हजार ५ सय, १६२ ओटा कार र जिपबाट ९१ हजार ५ सय, १४९ ओटा मोटरसाईकलबाट ९९ हजार, ८५ ओटा ट्याक्टरबाट ४६ हजार ५ सय र ३ ओटा इ–रेक्साबाट १ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस्तै भाद्र महिनामा ८१ ओटा ट्रकबाट ४८ हजार, ८८ ओटा बसबाट ५१ हजार ५ सय, २५५ ओटा कार र जिपबाट २ लाख ६ हजार, १७३ ओटा मोटरसाईकलबाट १ लाख १९ हजार ५ सय र १५० ओटा ट्याक्टरबाट ८९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रमुख घर्तिले जानकारी दिए ।
यस्तै असोज महिनामा ५२ ओटा ट्रकबाट २७ हजार, १२४ ओटा बसबाट ६७ हजार, २८५ ओटा कार, जिप र भ्यानबाट १ लाख ६७ हजार ५ सय, १६४ ओटा मोटरसाईकलबाट १ लाख ९ हजार ५ सय र २१५ ओटा ट्याक्टरबाट १ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको प्रमुख घर्तिले बताए ।
सवारी चलाउँदा लाइसेन्स नबोक्ने, ओभरलोड गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, गलत ठाउँमा सवारी रोक्ने, बिलबुक लाइसेन्स नलिने, मादकपदार्थ सेवा गरी सवारी चलाउने जस्ता सवारी नियमविपरीत काम गर्ने सवारी चालक कारबाहीमा परेका थिए ।
ट्राफिक प्रहरीले जेठ महिना यता न्यूनतम ५ सयदेखि अधिकतम १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिने गरेको छ ।
हुवासमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना
बढ्दो सवारी चाप व्यवस्थापनको लागि पर्वतको हुवासमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । वालिङ्ग–हुवास–बर्राचौर सडकखण्ड अन्तर्गत हुवासमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको हो ।
उक्त सडकखण्डमा वालिङ्ग हुँदै पोखरा, बुटवल, नारायणघाट, काठमाण्डौको लागि लामोदुरीका आठ बस तथा छोटो दुरीका दर्जनौ जीप सञ्चालनमा रहेका छन् ।
हुवासमा ईलाका प्रशासन कार्यालयको सेवारम्भ भएसँगै सवारी र यात्रुको संख्यामा पनि वृद्धि हुँदै जाँदा हुनसक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरी पोष्टले नियन्त्रणको भूमिका खेल्ने इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरिक्षक खगेन्द्र खड्काले बताए ।
क्षमताभन्दा बढिमात्रामा यात्रु चढाउने, बढि भाडा लिने सवारी र चालकलाई कारवाही समेत गरिने उनले बताए । ट्राफिक प्रहरी नै नभएपनि ईलाका प्रहरी कार्यालय हुवासले प्रहरी कर्मचारीलाई ट्राफिक व्यवस्थापनमा राखेको इलाका प्रहरी कार्यालय हुवासले जानकारी दिएको छ ।
अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि स्थानीय समाजसेवी डिल्लिराम न्यौपानेले जग्गादान तथा भवनका लागि सामग्री पैयुँकालिका हार्डवेयरका सञ्चालक नरभूपाल काफ्लेले सौजन्य गरेका थिए ।