प्रकृति अधिकारी
काठमाडौँ, २ कात्तिक – देशमा बर्सेनि पाँच लाख नयाँ युवा नेपाली श्रम बजारमा थपिने गरेको अनुमान छ । तीमध्ये एक लाखका हातमा मात्र औपचारिक वा अनौपचारिक तालिम पूरा गरेको प्रमाणपत्र रहने गरेको छ । स्वदेशमा रोजगारीको राम्रो अवसर नपाएपछि ती अदक्ष युवाको गन्तव्य वैदेशिक रोजगारी बन्न पुग्दछ ।
वैदेशिक रोजगारीमा जानेमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र दुई प्रतिशत दक्ष हुनेगरेका छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई रोक्न र स्वदेशमै युवा स्वरोजगारी वा उद्यमशीलताको विकास गर्न सरकारले राष्ट्रिय युवा नीतिमा नेपाली युवालाई उद्यमशील बनाउने नीति लिएको छ । युवा दृष्टिकोण २०२५ र १० वर्षे रणनीतिक योजनामा पनि उद्यमशील बनाउने लक्ष्यलाई उत्तिकै प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
भक्तपुरमा आयोजित नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलनले बोडे घोषणापत्र पारित गरेको छ । त्यस घोषणापत्रमा युवामा उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्नका लागि गैरआवासीय नेपाली सङ्घबाट लघुवित्त कार्यक्रम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी नेपाल र वैदेशिक रोजगारीमा फर्किएका युवालाई नेपालमै स्वरोजगार र उद्यमशीलताका लागि राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक प्रदेशमा एक एकवटा नमुना परियोजना सञ्चालन गर्ने, प्रत्येक प्रदेशमा एकएकवटा मेगा परियोजना स्थापना गर्नेलगायतका योजना समेटिएका छन् ।
मुलुकभित्रै युवा उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम सञ्चालन भएपछि चालु आर्थिक वर्षमा दुई हजार चार सय युवा उद्यमी बन्नेछन् । त्यसका लागि १२ करोड रुपियाँ विनियोजन गरिएको छ ।
परिषद्ले ‘१० युवा एक उद्यम’ नाम दिएको यस कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छनोटमा परेका एउटा वडामा युवा समूहलाई निब्र्याजी ऋण उपलब्ध गराउनेछ ।
२४० निर्वाचन क्षेत्रका एक एक वडामा छनोट गरिएका युवा समूहलाई पाँच लाख रुपियाँसम्म लगानी गरिने भएको छ । परिषद्ले यस्तो कार्यक्रम सञ्चालन गर्न निर्देशिका तयार गरिरहेको छ र त्यसलाई तिहारअघि अन्तिम रूप दिइनेभएको छ । यस्तो कार्यक्रम पहिलोपटक परीक्षणका रूपमा सञ्चालन गरिँदैछ । आगामी वर्षहरूमा पनि यस कार्यक्रमले निरन्तरता पाउनेछ भने उपलब्ध गराइने रकममा समेत वृद्धि गर्ने योजनामा परिषद् रहेको परिषद्का प्रशासकीय प्रमुख (सहसचिव) मुक्तिसिंह ठकुरीले जानकारी दिए ।
उहाँका अनुसार कात्तिकको तेस्रो सातासम्ममा परियोजना प्रस्ताव माग गर्ने योजना बनाइएको छ । आगामी पुससम्ममा परियोजना छनोट गरिसक्ने र माघमा रकम वितरण सुरु गरिनेछ । १६ देखि ४० वर्ष उमेरसम्मका बढीमा १० जना युवाले स्थापना गरेको संस्थामार्फत यस्तो रकम उपलब्ध गराइनेछ । उनीहरूलाई कृषि, वन, पशुपालनलगायतका क्षेत्रमा परियोजना प्रस्ताव दिनसक्ने छुट दिइनेछ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको युवा संस्थाले यस्तो कार्यक्रममा सहभागी हुन कम्तीमा ५० प्रतिशत महिलालाई समूहमा समावेस गर्नुपर्ने हुन्छ । सहसचिव सिंहले प्रमाणपत्रका आधारमा युवा समूहलाई निब्र्याजी ऋण उपलब्ध गराइने बताउँदै भने-“उनीहरूले शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र धितोस्वरूप राख्नुपर्दछ । साथै आफ्ना अभिभावकलाई साक्षीका रूपमा राख्नुपर्ने हुन्छ । उनीहरूलाई जिम्मेवार बनाउन र ऋण तिर्नुपर्दछ भन्ने सोच अभिवृद्धिका लागि प्रमाणपत्र धितोमा राख्नुपर्ने नियम बनाउन लागेका हौँ । ”
यस्तो ऋण लिएपछि युवाले तीन वर्षसम्म सो रकमको उपयोग गरी उद्यमी बन्न सक्नेछन् र चौथो वर्षमा ऋणको ४० प्रतिशत तथा पाचौँ वर्षमा ६० प्रतिशत कर्जा फिर्ता गर्नुपर्ने हुन्छ । उनीहरूले यस्तो ऋण लिन १० देखि २० प्रतिशतसम्म आफूले पनि लगानी गर्नुपर्ने हुन्छ । घरेलु विकास समिति, सीटीईभीटी, इभेन्टलगायतका नेपाल सरकारअन्तर्गतका वा सरकारद्वारा मान्यताप्राप्त तालिम प्रदान गर्ने संस्थाबाट सम्बन्धित विषयमा तालिम लिएका युवाले प्रस्ताव दिनसक्ने बताइएको छ ।
तालिम नलिएकाहरूको हकमा संस्था छनोटपछि तालिम लिनुपर्ने व्यवस्था गरिँदैछ । यस कार्यक्रममा परेको प्रस्तावलाई सम्बन्धित जिल्ला युवा समितिसमक्ष पेश गर्नुपर्ने हुन्छ । समितिले परिषद्समक्ष पठाउँछ । परिषद्ले विशेषज्ञ समितिमार्फत संस्था छनोट गर्नेछ । सहसचिव सिंहले पहिलोपटक भएकाले परिषद्ले नै संस्था छनोट गर्ने बताउँदै आगामी वर्षबाट जिल्ला युवा समितिले नै संस्था छनोट गर्ने जानकारी दिए ।
राष्ट्रिय युवा नीतिका केही नीति ः
– राज्यका नीति निर्माणमा अर्थपूर्ण योगदान पु¥याउन युवालाई आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक शक्तीकरणका माध्यमबाट प्रोत्साहन गरिनेछ ।
– सबै वर्ग, लिङ्ग, जातजाति, धर्म, वर्ण र क्षेत्रका युवाका विविधतालाई दृष्टिगत गर्दै सशक्तीकरण र विकासका लागि समान अवसर सिर्जना गरिने छ ।
– युवामा उद्यमशीलता विकास गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिने छन् ।
– विभिन्न क्षेत्रका प्रतिभावान् युवालाई देशभित्रै वृत्तिविकासका अवसरहरूसिर्जना गरी प्रतिभा लायन हुनबाट जोगाउने वातावरण सिर्जना गरिने छ ।
– युवा रोजगारी प्रवद्र्धन गर्न रोजगारसम्बन्धी कार्ययोजना बनाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
– युवाका लागि रोजगारी अभिवृद्धि गर्न उद्यमशीलता तथा अन्य सीपमूलक एवं व्यावसायिक तालिम प्रदान गरिनेछ ।
– स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न कृषि, कृषिजन्य उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार विकासमा जोड दिइनेछ ।
-रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जनाका लागि गाउँ र सहरमा सहकारी स्थापना गर्न युवालाई प्रोत्साहन गरिनेछ ।
– युवामा व्यावसायिकता तथा उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न आवश्यकता अनुसार वित्तीय संस्था स्थापना र विकास गरिनेछ । प्राविधिक ज्ञान तथा सिपभएका युवामा उद्यमशीलता विकास गर्न प्रमाणपत्रका आधारमा युवामैत्री ऋण र बीउ पुँजी उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिने छ ।
– कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यावसायीकरणमार्फत अर्धबेरोजगार युवालाई पूर्ण रोजगारीको अवसर सिर्जना गरिने छ ।
गोरखापत्र दैनिक
Previous Articleकांग्रेस-माओवादी विवादले संविधान संशोधन अघि बढ्न सकेन
Next Article असुरक्षित यौन र गर्भ बस्न नदिने उपाय