काठमाडौं, २ कात्तिक – सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको आन्तरिक विवादले संविधान संशोधन प्रक्रिया नै अघि बढ्न नसकेको तथ्य खुलेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि अन्तिम गृहकार्य भइरहेको दाबी गरिरहेको बेला उनकै राजनीतिक सल्लाहकार चक्रपाणि खनाल र कांग्रेस नेता डा. रामशरण महतले नै संविधान संशोधनमा सत्तारूढ दलबीचमै छलफल भई सहमति जुट्न नसकेको तथ्य बाहिर ल्याएका हुन् ।
सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री निर्वाचनकै दिन (१९ साउन) मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनसँग तीन बुँदे सहमति गरी असोज मसान्तभित्र संविधान संशोधन गर्ने घोषणा गरेका थिए । सोही सहमतिअनुसार मोर्चाका सांसदले प्रधानमन्त्रीका उम्मेदवार दाहाललाई मतदान गरेका हुन् ।
मोर्चाका नेताहरूले असोज मसान्तभित्र संविधान संशोधन भइसक्ने तीन बुँदेको भद्र सहमति रहेको दाबी पनि त्यतिबेलै गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै मोर्चालाई आश्वस्त पार्दै दाहालले सरकारको पहिलो काम संविधानलाई सर्वस्वीकार्य बनाउने रहेको जनाई आफ्नो भारत भ्रमण अघि संशोधन विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्ने सार्वजनिक घोषणासमेत गरे । तर, कात्तिक लागिसक्दा पनि संशोधनका लागि कुनै प्रक्रिया अघि बढेको छैन ।
बालुवाटार स्रोतका अनुसार मधेसी मोर्चा र गठबन्धनका माग सम्बोधनका लागि संविधान संशोधन गर्ने भनिए पनि सत्तारूढ दलबीच नै सहमति कायम हुन नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन ।
पछिल्लो समय प्रधानमन्त्रीले सत्ता साझेदार दलबीच सहमति नहुनु, सत्तारूढ दलमै आन्तरिक समस्या रहनु र मोर्चाको नियत पनि ठीक नहुनुले संशोधन निकै जटिल बनेको अनुभूति आफूनिकटलाई सुनाउन थालेका छन् ।
‘सत्तारूढ पार्टीबीच मात्रै होइन, पार्टीभित्रै, पार्टीभित्र पनि आफ्नै समूहभित्रै समस्या छ, त्यसैले संविधान संशोधनको कुनै काम अघि बढ्न सकेको छैन, मोर्चाभित्र पनि समस्या नै समस्या रहेको प्रधानमन्त्रीले सुनाउनुभएको छ,’ प्रधानमन्त्री दाहालनिकट माओवादीका एक नेताले भने ।
उनका अनुसार सत्तारूढदेखि मोर्चासम्मका नेताहरूले आफ्नो क्षेत्रअनुसार संशोधन गर्नुपर्ने कुरा उठाएका छन् । ‘कसैलाई पूर्व चाहिएको छ, कसैलाई पश्चिम चाहिएको छ, कसैलाई मध्य तराई चाहिएको छ, हामीभित्र मात्रै होइन, कांग्रेस र मोर्चामा पनि यस्तै समस्या देखियो,’ आफूनिकटसँग दाहालको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
सत्तारूढ कांग्रेस र माओवादीभित्रै पनि संशोधनमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालले सार्वजनिक गरेअनुसार कांग्रेस र माओवादीबीच नै संविधान संशोधन प्रक्रियामा सहमति हुन नसक्दा काम अघि बढ्न नसकेको हो ।
दुई दलबीच खासगरी मोर्चाले प्रमुख मुद्दा बनाएको प्रदेशको सीमांकन हेरफेर, नागरिकता र हिन्दी भाषालगायतका विषयमा ठूलै मतभेद छ ।
कांग्रेस नेता महतले त संशोधनको विषयमा अहिलेसम्म कुनै छलफलसमेत नभएको खुलासा गरेका छन् ।
राजधानी दैनिक
कांग्रेस-माओवादी विवादले संविधान संशोधन अघि बढ्न सकेन
Previous Articleसी र मोदी भेटेका प्रचण्डले फर्किएर के– के भने ?
Next Article दस युवा एक उद्यम कार्यान्वयन गरिँदै