दशैंमा नेपालीको भान्छामा मासु अत्यधिक रूपमा पाक्ने गर्छ । यसैगरी चिल्ला मिठाई र रोटी, पीरो र अमिलो अचार धेरै खाने गरिन्छ । मदिराको त खोलो नै बग्छ । खसीको कबाब बनाएर एक दिन हैन, तीनचार दिनसम्म राखेर खाने हाम्रो चलन छ । तर के यसो गर्नु स्वास्थ्यवर्धक हो त ? पक्कै हैन ।
दशैंको बेला दुईचार दिन जिब्रोका स्वादका लागि खाइने यस्ता परिकारले अन्ततः महिनौं दिनसम्म हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ । यसो भन्दैमा यी परिकारको मजा लिनै हुँदैन भन्ने पनि हैन ।
यस्ता चाडपर्वका बेला खानपिनमा रमाउँदा के के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे हाम्रो प्राचीन चिकित्साविज्ञान आयुर्वेदले धेरै कुरा प्रकाश पारेको छ । धन्वन्तरी, चरक, सुश्रुत, अश्विनीकुमारजस्ता ती प्राचीन ऋषिहरूले हजारौं वर्षपहिले नै हामीलाई भोजनकला सिकाएर गएका छन् ।
आउनुस्, दशैंको खानपिनमा रमाउँदै गर्दा हामी आयुर्वेदको त्यो पक्षको चर्चा गरौं जसले हामीलाई ठीकठीक ढंगले ठीकठीक चीज खान सिकाउँछ ।
पथ्यापथ्यको महत्त्व
‘पथ्य’ भन्नाले संस्कृतमा पथको लागि हितकारी भन्ने बुझिन्छ भने अपथ्य त्यसको विपरीत । पथ भनेको शरीरमा विभिन्न तत्त्वहरूको आवागमनका लागि स्रोत वा अवकाशयुक्त बाटोहरू हुन् । पथ्य आहारविहारले शरीर र मन दुवैलाई सुखी र सन्तुष्ट बनाउँछ ।
सामान्य भाषामा भन्नुपर्दा रगत बग्ने शिरा, धमनीदेखि लिएर श्वास बग्ने श्वासनली र अन्न बग्ने अन्ननलीसम्म सबै पथ वा स्रोत हुन् । हरेक बिरामीले मात्र नभई स्वस्थ व्यक्तिले पनि उसको शारीरिक तथा मानसिक अवस्था, प्रकृति (व्यक्तिको मौलिक गुण), देश (भौगोलिक अवस्था), काल (हिउँद र बर्खायाम), वय, अग्नि (व्यक्तिको पचाउने क्षमता), सात्म्य (मन पर्ने, नपर्ने) आदि विचार गरी खान/ गर्न हुने (पथ्य) र खान÷गर्न नहुने (अपथ्य) पक्षलाई राम्रोसँग बुझ्नु आवश्यक छ ।
आयुर्वेदमा पथ्यापथ्यको निकै महत्त्व छ । आयुर्वेद पद्धतिअनुसार रोग उत्पन्न हुनुमा एउटा मुख्य भूमिका अपथ्य आहार/विहारको हुने गर्दछ । उदाहरणका लागि, चिल्लोको मात्रा रगतमा बढी भएका बिरामीहरूका लागि रातो मासु तथा बोसो भएको मासु खानु अपथ्य हो किनभने यसो गर्दा तुरुन्त रोगीको रक्तमा टीजी, एलडीएलको मात्रा बढाइदिन्छ र यसले दीर्घकालीन रूपमा रक्तनलीमा र त्यसमा पनि विशेषगरी मुटुको कोरोनरी आर्टरीमा चिल्लोको मात्रा (प्लेक) जम्न जान्छ । त्यसबाट मायोकाडिर्यल इन्फार्कसन (हृदयघात)को सम्भावना रहन्छ ।
हिमाली भेगमा बसोवास गर्नेका लागि चिसो वातावरणलाई छल्न उष्ण, गुरु खानपान र न्यानो कपडा लगाउनु पथ्य हुन्छ्र । तराईमा भने उष्ण मौसमबाट बच्न पातलो कपडा, चिसो पानी र शीतल गराउने खानपान पथ्य हुन्छ्र । त्यस्तै कब्जियत हुनेका लागि सागसब्जी, गहुँ खानु पथ्य हुन्छ भने मासु, गेडागुडी बढी खानु अपथ्य हुन्छ ।
मासुको मात्रा
अहिलेको अस्तव्यस्त समाजमा उचित रूपमा व्यायाम, आराम र खानाको अनुपात नमिल्दा कैयौं नसर्ने रोगहरू जस्तै सुगर, उच्च रक्तचाप, युरिक एसिडलगायत उत्पन्न हुन्छन् । र दशैं नै यस्तो पर्व हो जहाँ हाम्रो खानाको सन्तुलन मिल्दैन । टीका लगाउन विभिन्न आफन्तकहाँ जाँदा केही न केही खानै दिन्छन् । नखाए आफन्तले चित्त दुःखाउलान् भनेर एक दुइ टुक्रा मासु खाइहालिन्छ । यो स्वाभाविक हो ।
तर हामीले बुझ्नुपर्छ, दशैं शरद ऋतुमा पर्छ र यस ऋतुमा पित्तको प्रकोप हुन्छ । अर्थात् शरीरको अग्नि क्षीण हुन्छ्र । यसकारण खानामा रुचि पनि कम नै हुने गर्दछ्र, तैपनि खाइरहनुपर्छ । हो, असन्तुलन यहीँनेर हुन जान्छ । शरद ऋतुलगत्तै हेमन्त ऋतुको आगमनसँगै हिउँद याम शुरू हुन्छ । शरद ऋतुको उत्तरार्धबाट नै केही अग्निबल र खानामा रुचिमा वृद्धि महसूस गर्न सकिन्छ ।
दशैंमा विशेष रूपमा मासुजन्य पदार्थको उपभोग गरिने भएकाले अग्निको ख्याल राख्नुपर्दछ्र । मासु पचाउन गाह्रो पर्छ्र । तसर्थ वयस्क व्यक्तिले मासुमा नियन्त्रण नै कायम गर्नुपर्छ । एक व्यक्तिले मासुको उपभोग दिनमा बढीमा १०० ग्राममा सीमित गर्नु वेश हुन्छ्र । बढी मासु खाँदा अग्निले काम गर्न सक्दैन । अपच भई समस्या हुन्छ्र ।
मसाला कस्तो ?
मसला पनि खानपिनको मुख्य पक्ष हो । दालचिनी, जीरा, धनियाँ, लसुन, अदुवा, सुकुमेल प्रयोग गर्दा यसले शरीरको अग्नि बढाई भोक जगाउँछ र खाना पचाउँछ । यस्ता मसाला सकेसम्म बाहिरबाट किनेर ल्याउनुभन्दा घरमै तयार गर्नु उपयुक्त हुन्छ । बजारमा पाइने मसलाहरूमा अनेक मिसावट हुने भएकाले घरमै ओखलमा पिसेर तयार गरिने मसला उत्तम । हेक्का रहोस्, यहाँ उल्लेख गरिएका धेरै मसलाहरू औषधीय गुणले भरिएका हुन्छन् ।
झोलमा डुबेर मरिँदैन
नेपालीमा एउटा उखान छ, ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ ।
चोक्टा भन्नासाथ मासुको कुरा आउँछ । तर स्वास्थ्यका दृष्टिले हेर्दा यो उखान थोरै सच्याउनुपर्ने हुन्छ । चोक्टै चोक्टाले भरिएको र डीप फ्राइ गरिएको मासु भन्दा झोलिलो मासु सुपाच्य हुन्छ । अतः झोलमा डुबेर मरिँदैन ।
मासुलाई पोलेर, तारेर, बार्बेक्यू गरेर र खासगरी बोसै बोसो हुने गरी कबाब बनाएर खाने चलन छ । यस्तो मासुले कब्जियत मात्र गराउँदैन, रगतमा टीजी, एलडीएल बढी भएकालाई अपथ्य हुन्छ्र । बरू झोल बनाएर खाँदा बोसो पग्लिन्छ र चिल्लो खपत कम हुन्छ । तार्दा र पोल्दा प्रोटीनको झनै सुगठन हुन्छ, झोल मासु भने पचाउन पनि सहज हुन्छ ।
दशैंमा परिवारका सबैजना जम्मा भई तास इत्यादि खेल्ने गरिन्छ । यसरी जुवाको खालमा अहोरात्र बस्ने प्रवृत्ति पनि हामी पाउँछौं । यसले शरीर चलायमान हुन पाउँदैन र खाएको पनि राम्ररी पच्दैन । त्यसमाथि अनिद्रा । अतः जुवातासमा अलमलिनुभन्दा घुम्नु, टहलिनु , पिङ खेल्नु जाती । यसो गर्दा व्यायाम पनि हुन्छ र अग्नि बढेर पाचनमा पनि सहयोग पुग्छ ।
सधैं पालना गरौं
पथ्यापथ्यको विषयमा ‘वैद्यजीवनम्’मा भनिएको पनि छ :
‘पथ्ये सति गदार्तस्य किमौषधनिषेवणैः ।
पथ्येऽसति गदार्तस्य किमौषधनिषेवणैः ।।’
अर्थात्, यदि पथ्यको पालना गरिएको छ भने औषधिको के खाँचो ? यदि पथ्यको पालना गरिएको छैन भने औषधिको प्रयोग गरेर पनि के नै हुन्छ र ?
आयुर्वेदले सन्तुलित आहारविहारलाई कति महत्त्व दिएको छ भन्ने यस श्लोकबाट स्पष्ट हुन्छ । आयुर्वेदको मुख्य ग्रन्थमध्ये चरकसंहितामा ऋतुचर्या (ऋतुअनुसार पालना गर्नुपर्ने नियम), दिनचर्या (बिहान निद्राबाट जागेपछि फेरि सुत्नुअघि दिनभर पालना गर्नुपर्ने नियम) जस्ता सूक्ष्म विषयमा व्याख्या गरिएको पाइन्छ ।
आयुर्वेदको उपयोगिता दशैं चाडमा मात्र छैन । यो जीवनविज्ञानको उपयोगिता सार्वभौम छ । सनातन विद्या भएकाले युग युगान्तरसम्म यसको महत्ता कायमै रहनेछ । यस विद्याको शीघ्रातिशीघ्र उचित प्रयोग, संरक्षण र प्रवर्धनमै मानवताको हित देखिन्छ ।