बडादशैंको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार फूलपाती बढाइँ गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए ।
सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायत मन्त्री, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ । बढाइँ अघि राष्ट्रपति भण्डारीको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको रहेको छ ।