पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा बुधबार भूकम्प पीडितहरुको गुनासो व्यवस्थापनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीको आयोजनामा भूकम्पपीडितहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको हो ।
कार्यक्रममा भूकम्प पीडितहरुको घर पुनर्निर्माण कार्यका विषयमा अन्तत्र्रिmया गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा भूकम्प प्रभावितहरुको दर्ता गर्ने प्रक्रिया, वडास्तरीय गुनासो व्यवस्थापनका लागि समिति गठन गर्ने प्रक्रिया, गाउँपालिकास्तरीय गुनासो व्यवस्थापन गर्ने समिति गठन गर्ने प्रक्रिया, केन्द्रको समिति गठन गर्ने प्रक्रिया र समितिहरुको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराइएको छ ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा भूकम्प पीडितहरुको घर निर्माणको काम राम्रो रहेको बताउँदै केही समस्या भएमा समन्वय गरिने बताए । उनले भूकम्पपीडितको घर निर्माणका लागि किस्ताबन्दीको रकम सहज रुपमा उपलब्ध गराउनुपर्ने बताउँदै भूकम्प प्रभावितहरुले पनि पाएको सेवासुविधाको समयमै सदुपयोग गर्न सुझाव दिएका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्लामा यसअघि छुट हुन गएका भूकम्प पीडितहरुको तथ्याङ्क सङ्कलन गरेर सम्बन्धित निकाय केन्द्रमा पठाइएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय अनुभवका आधारमा भूकम्प प्रभावितहरुको घर बनाउँदा केही ढिलाई भएको बताउँदै म्याग्दी जिल्लामा हालसम्म ९५ ओटा भूकम्प पीडितहरुको घर निर्माणसम्पन्न गरिसकिएको बताएका छन् ।
कार्यक्रममाथि सहजीकरण गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीका प्रमुख शिवराम गेलालले जिल्लाभित्रै कार्यालय रहेको हुँदा सेवा प्रवाहमा तिव्रता दिइने बताएका थिए । उनले भूकम्प प्रभावितहरुको घर निर्माणका लागि कामको आधारमा पाउने रकम समयमै किस्तावन्दीस्वरुप उपलब्ध गराइने बताएका छन् ।
यसैबीच मंगला गाउँपालिकाका भूकम्पपीडितहरुले भने पुनर्निर्माणको रकम समयमै पाउनुपर्ने माग गरेका छन् । पहिला घर बनाइसकेका भूकम्प पीडितहरुले समेत लाभग्राहीमा परेको हुँदा भूकम्प प्राधिकरणबाट हुने उपलब्ध सबै सेवासुविधाहरु पनि पाउनुपर्ने बताएका थिए । कार्यक्रमको कार्यालय प्रमुख शिवराम गेलाल र मंगला गाउँपालिकामा कार्यरत इन्जिनियर शोहनजङ कार्कीले सहजीकरण गरेका थिए ।
कार्यक्रमको समापन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले गाउँपालिकामार्फत पनि भूकम्पपीडित र प्रभावितहरुको घर निर्माणमा आवश्यक सहयोग गर्ने गरिएको बताए । उनले गाउँपालिका अन्तर्गत रहेका विभिन्न वडाहरुमा पुनर्निर्माणको काम तिव्र गतिमा अगाडि बढेको बताउँदै सम्बन्धित कार्यालयबाट उपलब्ध हुने सेवासुविधा समयमै दिनुपर्ने बताएका छन् । कार्यक्रम गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका कम्प्युटर अपरेटर दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleखेलकुद विकासको निःशर्त आयामहरु
Next Article ६३औं प्रहरी दिवसमा रक्तदान