-कृष्णकुमार विश्वकर्मा
नेपाली खेलकुदको अवस्था कस्तो छ भन्यो भने जो कसैले भन्न सक्छ कि त्रिभुवन विमानस्थलबाट बिदा गर्दा गत वर्षको रेकर्डमा कम्तीमा गिरावट नआओस् ।
यो वाक्यांशले नेपाली खेलकुद जगतको समग्र अवस्था झल्काउँछ । सामान्यतया अधिकांश प्रतियोगिताहरु जित्नको निम्ति उच्च मनोबलसहित मैदान उत्रनु पर्ने हुन्छ तर हामी सधैं खादा लगाएर बिदा गर्दा दोहो¥याइरहने शब्दहरु यस्तै नै हुन् ।
खेलको महत्व पहिचान गरी छुट्टै संरचना तयार गरी नेपाली भूमिमा क्रियाशील भएको राष्ट्रिय खेलकुद परिषद् पनि करिब ६ दशक पार गरिसकेको छ, कहिले निकै उत्साहका साथ कहिले धिमे गतिमा । जे होस्, नेपाली खेलकुद चली नै रह्यो । देशको आर्थिक, सामाजिक, भौगोलिक र अस्थिर राजनीतिलाई पनि हामी सराप्छौं बेलाबखत । शारीरिक अवस्था पनि हाम्रो विडम्बना भो भनी भन्छौं । अन्य धेरै नजिर पेश गर्छौं, खेलकुद यसकारण अपेक्षा अनुरुप अगाडि बढ्न सकेन ।
विश्वका विरलै देशमा पाइने विविध प्रकारको हावापानी हामीसँग उपलब्ध छ । हाई अल्टिच्यूडको अग्लो भूभागदेखि समुन्द्री तहका हाराहारीका जमिनहरु हामीसँग छन् । यस अर्थ गर्मी र चिसो दुबै ठाउँहरु हामीसँग अनवरत अभ्यासका लागि पर्याप्त छँदैछ । हामीभन्दा धेरै पछि अस्तित्वमा आएका धेरै देशहल्े यसै क्षेत्रबाट पहिचान बलियो बनाइसके । के कारणले हामी यस्तै रहिरह्यौं ? केही विषयमा चर्चा मनासिव होला ।
१. धारणामा परिवर्तन ः
संस्कृति र परम्परा जगेर्नाको महत्वपूर्ण अङ्ग खेलकुद हो भन्ने अझै पनि जबरस्त धारणा छ । खेलेर काम छैन, छोरी मान्छे त खेल्नै हुँदैन । खेलेर भविष्य किन अन्धकार बनाउने ? यिनै प्रश्नहरु खेल्ने खेलाडी, खेलाउने आयोजक र खेल्नको लागि आधारहरु तयार गरिदिने प्रायोजकहरुमा गहिरो गरी मानसपटलमा डेरा जमाएका भावनाहरु हुन् । करिब सबैबाट अभिव्यक्त हुने गर्दछ । व्यवहारतः धेरै यस्ता घटना देखिन्छ । उमेर र क्षमता हुँदा देशलाई योगदान गरेको खेलाडीहरु पछि भोग्नु परेको दयनीय दिनहरु जसरी बाहिर आइरहन्छन्, एउटा मुख्य कारण यो पनि हो । हामी सधैं बुद्ध जन्मिएको देश, सगरमाथाको देश, संसारको गहिरो अन्धगल्छीको देश लगायतका उपमाहरुबाट परिचय गराइरहने पक्षमा पक्कै छैनौं । भनेपछि कसरी विश्वसामु सशक्त उपस्थिति जनाउन सकिएला ? आर्थिक रुपले संसारकै गरिबीको अन्त्यतर्फ छौं, क्षेत्रफलका हिसाबले धेरै साना छौं, के सम्भव छ ?
अन्य के क्षेत्रमा जितौंला, गरिब छौं, सानो देशका नागरिक हौं तर अमेरिका जस्तो महाशक्ति राष्ट्रलाई क्रिकेटमा जित्न सक्ने रैछौं । यस्तै छौं हामी तर भारत जस्तो देशलाई उसैको मैदानमा हुने फुटबलमा जित्न पनि सक्ने रहेछौं ।
खेलेर केही हुँदैन हैन, खेलेरै संसारको सबभन्दा बढी कमाउने व्यक्ति पनि खेलाडी नै भइसके, खेलेरै देशको फरक पहिचान निर्माण गरिसके । खेलले नै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई पुनः नवीकृत गर्छ । खेल्ने खेलाडी मात्र यो समाजको बौद्धिक सँगै शारीरिक हिसाबले पनि महत्वपूर्ण नागरिक बन्न सक्दछ । हो यिनै विषयहरु समाजका अगुवाहरुबाट बाहिर लैजानु पर्दछ । प्रत्येक टोल टोलमा बहस सृजना गराउनु पर्ने छ । यस्तो वातावरण बनोस्, हर परिवारले आफ्ना सन्ततिलाई डाक्टर, पाइलट, इन्जिनियर मात्र हैन, खेलाडी बनाउन तीव्र चाहना राखून् । असाधारण लहर पैदा हुन सक्यो भने पहिलो चरणमा हामी सफलताको पहिलो सिँडी चढेको ठहरिनेछ ।
२. व्यापक राजनीति गरौंः
धेरैले खेलकुदमा राजनीति भयो र विकास हुन सकेन भन्ने निक्र्यौल गरेको पाइन्छ । आखिर देश सञ्चालन गर्ने, नीति पद्धति निर्माण गर्ने लगायतका महत्वपूर्ण विषयहरु राजनीतिक क्षेत्रहरु नै हुन् । आज शिक्षाको विषयमा सबै क्षेत्रबाट व्यापक कुरा उठाउने काम भयो । यसलाई राजनीतिक दलले आफ्नो पनि विषय बनाए । सबैको चासोको विषय बन्दा केही वर्षयता शैक्षिक साक्षरताको अवस्था हेर्ने हो भने धेरै राम्रो सुुधार भएको पाइन्छ । स्वास्थ्यको विषय पनि सबै राजनीतिक दलहरुले महत्वका साथ उठाउने विषय बनेको छ । यी लगायतका धेरै क्षेत्रहरु छन्, जहाँ राजनीतिक विषय र एजेण्डा जब्बर ढङ्गले प्रवेश ग¥यो र सुधार पनि भयो । तर स्मरण गरौं त ! कुन राजनीतिक दलले निर्वाचनका बखत कति समय खेलकुद विकासको निम्ति आफ्नो अवधारणा पेश गरे ? बोलेको मध्ये कति समय खेल क्षेत्रमा खर्चिए भन्दा यसो युवा देखिए भने १÷२ वटा मैदान मर्मतका कुरा उठाए होलान् हैन भने देश बनाउने कैयौं आयामहरुमा घन्टौं छलफल हुन्छन् । अबका दिनमा कुनै एक पार्टीलाई होइन, सबै क्रियाशील दलहरुलाई हामी सम्बद्ध हिसाबले प्रश्न गरौं, खेलकुदको विकासमा धारणा के हो ? घोषणापत्रमा कति विषय उल्लेख छन् ? अल्पकालिन र दीर्घकालीन योजनाहरु के के छन् ? समय तालिका अनुरुप कति वर्षमा खेल क्षेत्रलाई कहाँ पु¥याउने ? लगायतका विषयमा हाम्रो खबरदारी पुगेन । अब पनि ढिलो गर्दा फेरि बेलाबखत ब्युँझिँदै अल्मलिँदै, बिर्सँदै हुनेछ । तसर्थ खेलकुदलाई राजनीतिको महत्वपूर्ण विषय बनाऔं । यसर्थ व्यापक राजनीति गरौं ।
३. खेलमैत्री राज्य
राज्य आफैंमा सबैथोक होइन । यसलाई त्यहाँको भूगोल, जनताको चाहना, पर्याप्तता र आवश्यकताको आधारमा परिमार्जन गर्दै लैजाने गतिशील शब्द हो राज्य । आज जहाँसम्म हामी आइपुग्यौं, ठूलो चुनौती र अवरोधको सामना गर्नुप¥यो । हिजोसम्म हाम्रो आवश्यकता र प्राथमिकताको विषय बिल्कुलै भिन्न थियो । राज्यको कोर्ष फेरिएको छ । मुलुक संघीय गणतन्त्रात्मक ढाँचामा अगाडि बढिसकेको छ । हिजोको हाम्रा विविध संयन्त्रहरुमा परिवर्तन आएको छ । तीन तहको सरकार हामीबीच क्रियाशील छ । अब माथि उल्लेख भएका बुँदाहरुमा हामी अगाडि बढ्दा आगामी १० वर्षमा नेपाली खेलकुदले छलाङ मार्न सक्ने पर्याप्त आधारहरु छन् । तीन तहबाटै खेलमैत्री नीतिहरु निर्माण गराऔं । जस्तो कि निश्चित अवधी राज्यको निम्ति खेल्दछ भने उसको सामाजिक आर्थिक जीवनमा राज्यले ग्यारेन्टी गर्न सक्नु पर्दछ । जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक जित्दा खेलाडीले पाउने सहुलियतहरुको प्रष्ट व्याख्या गरिनु पर्दछ । शिक्षा, स्वास्थ्य, यातायात लगायत दैनिक जीवनयापनका विविध क्षेत्रमा उपयुक्त सेवा सुविधाको ग्यारेन्टी गर्न सकियो भने त्यही घडीबाट नेपाली खेलकुदको वृहत्तर विकास देख्न सकिन्छ । प्रत्येक पालिकामा बहुउद्देश्यीय खेलमैदान निर्माण गरौं । वडा, गाउँ तहमा लोकप्रियता र सम्भावनाका हिसाबले पूर्वाधार निर्माणमा जुटौं र सातवटै प्रदेशमा खेलकुद विश्वविद्यालय स्थापना गरौं । इच्छाइएको खेल विधा हाम्रा सन्ततिले छनोट गर्न पाउन् र त्यसैमा लागिरहून् । सोलोडोलोको विषय नबनाइकन निश्चित खेलविधामा हाम्रो सम्भावना यति छ भन्ने एकीन सहित लाग्न राज्य, नागरिक र खेलाडीले प्रण गरौं । यसको परिणाम धेरै कुर्नु पर्ने छैन, देखिने गरी केही समयमै पदार्पण हुने नै छ ।
४. पूर्वाधार, पुरस्कार, प्रतियोगिता र प्रोत्साहन
अभावै अभावको बीचमा पनि नेपाली खेलाडीले बेलाबखत हामीलाई खुसीको बहार उपहार दिन्छन् । एकथरि सबै पुगेको छ । उसको निजी जीवनको विषयमा १ मिनेट खर्चिनु पर्दैन, अर्काथरि छौं – हामी सबै प्रतिकूलताभित्र क्षणिक अस्थायी अनुकूलता निर्माण गरी प्रतिस्पर्धा गर्नु छ । त्यसैले मुख्यतयाः पूर्वाधार यत्रतत्र निर्माण गरौं । जति पूर्वाधार उपलब्ध हुन्छ, त्यति नै मात्रामा खेलाडीहरु उत्पादन हुन्छन् । जति उत्पादन हुनेछन्, तिनको कौशलता मापनको लागि प्रतियोगिता आवश्यकताको अनुभूति गरिनेछ र प्रतियोगिताबाट नयाँ नयाँ उत्कृष्ट प्रतिभाहरु निस्कने छन् । तिनैले जिल्ला, प्रदेश र देशको निम्ति खेल्ने छन् र हामी उनीहरुले जितेको पदकहरुको आधारमा सम्मान गर्नेछौं । यसले खेलप्रतिको आम वितृष्णामा विल्कुलै परिवर्तन ल्याउनेछ । हिजोभन्दा केही फरक त भएकै छ र पनि अझै ठोस हिसाबले देखिन र अनुभूति गर्न सकिने गरी नेपाली खेलजगतलाई उठाउने सबैको सामूहिक प्रयत्न अपरिहार्य शर्त हो । सुविधासम्पन्न मापदण्ड अनुसारका पूर्वाधारहरु निर्माण गरौं, उपलब्धीमूलक प्रतियोगिताहरु सञ्चालन गरौं र उचित पुरस्कार र प्रोत्साहन ग¥यौं भने विमानस्थलबाट फर्कँदै गर्दा स्वागत ¥यालीको आयोजना हुनेछ कि जितेको अदम्य विश्वाससहित ।
अन्त्यमा यी सबै विषयहरुमा व्यापक छलफल र बहस गरिसकेपछि हाम्रो खेल संस्कृति र परम्परा आधुनिकीकरण गर्नको लागि आवश्यकता ठानिनेछ । अहिले सबै हामीसँग भएका संरचना र जनशक्ति पुरानै कार्यशैली र अवस्थाका छन् । यिनीहरुमा पनि व्यापक फेरबदल गरेर विदेशी शैलीको सीप, दक्षता र पूर्वाधारमा हामी अभ्यस्त हुन सक्यौं भने, हेर्दाहेर्दै नेपाली पोसाकमा हाम्रा खेलाडीले विदेशीहरुलाई हराउने क्षमता विकास गर्नेछन् र अर्को एउटा परिचय थपौंला – खेलकुदमा नव उदीयमान देश हाम्रो नेपाल ।
जय स्वाभिमान, जय खेलकुद !
(लेखक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुन् ।)
Previous Articleरुप्से र ब्रेन स्ट्रोमिङ
Next Article मंगलामा भूकम्पपीडितको गुनासो व्यवस्थापन