
मस्कट, नेपाली दूतावास ओमानले नेपाली कामदारलाई लाई सहयोग पुर्याउने उदेश्य सहित “नेपालिज इन ओमान “नामक मोबाइल एप ल्याएको छ।
गत १९ तारीख दूतावासले औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एप्स सार्बजनिक गरेको हो ।कार्यक्रमको उद्घाटन ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र गैर आवासीय नेपाली संघका सचीव डि.बि क्षेत्रीले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गरेर गरेका थिए।
कार्यक्रममा राजदूत ढकालले सूचना प्रविधिको वर्तमान युगमा ओमानमा रहनु भएका नेपालीहरु तथा ओमान आउन लागेका नेपालीहरुलाई नेपाली राजदुतावास ओमानका प्रमुख गन्तब्यहरु, ओमानका सरकारी निकायहरु, ओमानको श्रम कानून आदिका बारेमा आधारभूत जानकारीहरु दिदै सहयोग गर्ने लक्ष्यसहित “नेपालिज इन ओमान” नामक मोबाइल एप नेपाली राजदूतावासबाट सार्बजनिक गरिएको जानकारी दिएकी छिन ।
उक्त एपले दूतावास तथा ओमानमा रहेका नेपालीहरुबीच छिटो र सरल रुपमा संचार हुने बताउदै एप्सको प्रयोगले नेपाली दूतावासबाट दिइने कन्सुलर सेवाहरुलाई भविष्यमा अनलाइन प्रणालीबाट प्रदान गरी दूतावासका सेवाहरु कागज बिहिन पेपर लेस बनाउन सकिनुका साथै नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरु समेत उक्त एपमा समाबेश गरि
ओमानीहरुलाई पनि नेपाल भ्रमणको लागि प्रयोग गर्न सकिने र यसरी नेपालमा पर्यटन प्रवर्द्धन गर्दै नेपाल र ओमानबीचको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पु-याउने बताएकि छिन।
यस्तै कार्यक्रममा बोल्दै एनआरएनका सचीव डि.बि क्षेत्रीले एपको प्रयोगले रोजगारीका लागि ओमान आउन चाहाने नेपालीहरु ठगिने संभावना कम रहने बताउदै कामदारलाई निक्कै महत्त्वपूर्ण सहयोग पुर्याउने आशा लिएको बताएका छन।
कार्यक्रममा ओमानस्थित विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरु, पत्रकारहरु तथा ओमानमा कार्यरत नेपालीहरु र दूतावासका कर्मचारी सहित सयौं नेपालीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित सबैलाई दूतावासले नेपाली खानाको व्यवस्था समेत गरेको थियो।