तीते करेली
कृष्णराज शर्मा
बहुदलीय शासन व्यवस्थाको पुनरागमन पछि तीसबर्ष सम्म पंचायतको मियोमा बाँधिएर पंहेलो परालमा ढलिमली गरेका पञ्चहरू बेठेगानका भए । घरबार बिहीन जस्तै भए । सुकुम्बासी भए राजनीतिमा । गास बास कपास बिहीन भए । तै, राजनीतिको मियो पक्डन–पक्डन थालेका थिए, दुईचीरा परेको फुटेको बाँसको मियो खडा गरेर कच्ची दाम्लोमा घुमे । यि पञ्चहरू यसरी नघुमेको भए, नेपाल यति धेरै घाईते हुने थिएन । आजको मरणासन्न अवस्था देशको हुने थिएन शायद ! त्यतिबेला अरूलाई अत (अराष्ट्रिय तत्व) भन्ने आँफुभित्रका अतलाई पालन पोषण गर्ने र प्रतिष्पर्धी साथीलाई ठेगान लगाउने काम यिनैले गरे । पालित पोषित अतहरूको भरमा यो जमानामा र यो हालतमा पनि राप्रपाहरू गजक्क हुने कारण हुन् । गाउँ गाउँमा जरा गाडेका यिनीहरू यौटै भएको भएको भए आजका दिनसम्म अरूले नेपालको शासन सत्ता देख्न मुश्किल थियो भन्दा अत्युक्ति लाग्दैन । परचक्रिको उक्साहट् र आपसी बेमेलको कारण गलत मस्तिष्क संसर्गबाट जुम्ल्याहा राप्रपा जन्मेर हुर्केको आजको अवस्था हो । जुम्ल्याहा त हो नै हो, मुल्याहा जन्मेर बाऊ नै खाए । बाऊ खानेको साँठगाँठ यतिबेला उजागर हुँदैछ । राप्रपाहरू नमिल्नुको मूल कडि पनि यही हो ।
पञ्चायतमा अभिव्यक्ति स्वतन्त्रता र देशैभरि एउटै चुनाव चिन्ह लिएर चुनाव लड्न पाउने भए त्यतिबेलाका गिरिजा प्रसाद कोईराला पंचायत पस्ने तरखरमै थिए । यिनी पञ्चायतमा समाहित भए पञ्चायत अरू एक दशक टिक्ने ठहर गरेर अर्काथरी अतहरू उचालेर ०४६ साल आएको रहेछ भनेर बुझ्दा कत्तिको सही होला नहोला गर्भै भित्र रह्यो । अर्थात यसो हुनुमा पञ्चहरूकै आपसि प्रतिस्पर्धाले काम गर्यो । पञ्चहरूले नै आजको अदृश्य शक्तिले चलखेल गर्ने अबसर घुसाएको सजिलै बुझ्न सकिन्छ । ०४६ साल माघमा क्षेत्ररपाटी स्थित गणेशमानको घर कम्पाउण्डमा अदृश्य शक्तिलाई सदृश्यमा ढाल्ने पनि पञ्चहरूनै हुन् । यो समय सम्म आईपुग्दा त्यो शक्ति डरछेरूवाहरूका आँत आँतमा खेल्न थालेको छ । आँत छामी सकेपछि ब्याटीङ र बलिङमा जे खेल्दा मजा आउँछ,उसरी नै खेल्ने भयो । अदृश्य शक्तिको खेल जारी छ ।
उस्तै उस्तै तर जुम्ल्याहाको चरित्र पनि देखिएन । यो हुनुनै नेपालको दूर्भाग्य थियो । पञ्चहरूमा महेन्द्र राजाको बीऊ बाँकी हुँदो हो त यसो हुनै सक्दैनथ्यो । पंचायत अबधिभर राजा महेन्द्रको आची पनि बाँकी नराखि ज्यूनार गर्नेहरू ०४६ साल चेत्र २७ गते बिहान विपी र पुष्पलालका जूत्ताका तलुवाका अस्तु चाट्न आतुर गरे । देशैभरी त्यस्ता पंच देखिए । मन्त्री रापंस देखि गाउँका प्रधानपंच समेत सहारा खोज्दै तितर बितर भए । धौलागिरीका चार पाँचजनामा पर्ने पञ्च मध्ये पहिलो नम्बरमा ॐकार प्रसाद गौचनको नाम आउँथ्यो । नैतिकवान र क्षमतावान पञ्चमा उनी दरिन्थे । मैले पनि उनको कार्यशैली सुन्दा सम्मान गर्न हिच्किचाउन्न । उनै ॐकार प्रसाद गौचन यसका नम्वर एक चाटुकार बने । उनले पन्ध्रसालमा बा ॐकारलाई विपीले लेखेको चिट्ठी मुधुसबाट धुलो टकटकाउँदै निकाले र तत्कालिन साप्ताहिक बिमर्शमा त्यही चिट्ठीको फोटोकपी छपाएर ०४८ सालको पहिलो संसदीय निर्वाचनमा आँफुलाई अस्सली र खाँटी पुरानो काँग्रेस बनाए । काँग्रेसको स्वतन्त्र उमेदवार बने । काँग्रेसकै टीकटधारी रामप्रसाद शर्मा आचार्यलाईलाई उछिट्याए । मध्याबधि चुनावको घोषणाले गर्दा चुनाव जितेको छत्तिस महिनामै काँग्रेसबाट बिच्किए । तर काँग्रेसले आत्मसात गरिदिएन । अहिले जीवनको उत्तरार्धमा पछुतो लाग्दो हो । बरू त्यस्तै व्यवस्थामा उनी जनताका असल नेता बनेका थिए ।
बहुदल आउँदा बित्तिकै पंचायतको स्वास्थ्यमन्त्री बनेको बिर्सेर काँग्रेसको काँग्रेसै भएर आएका अर्जुन नरसिंह के.सी. त अझै काँग्रेस गनिन गाह्रो परेको छ । बहुदल आगमनसँगै यिनि काँग्रेसको घर पसेका हुन् । आजपनि बिरोधीले मौका पर्नासाथ सुनपानी छर्कन बाध्य पार्छन् । यिनै केसी सूर्यबहादुरका सत्र भाइ मध्येका एक हुन् । उनले पञ्चहरू मिलेर यौटै पार्टी खोलेको अवस्था भएको भए आजका काँग्रेस नहुँदा हुन् । यि राप्रपा कै खम्बा भएर उभिदा हुन् । अहिले काँग्रेसको उच्चनेतृत्व तहमा रहँदा पनि इतिहास उप्किन्छ । यस्ता व्यक्तिहरू पाखापार्ने पनि त्यही अदृश्य शक्ति हो । फुट ल्याउने त्यो शक्ति आजपनि ज्यूंका त्यूँ छ । म्याग्दीका भीम प्रसाद गौचन पनि पारिवारीक खटपट परेपछि एमालेमा ईन् भएकै हुन् । उनले केटाकेटीमा गोलो घेरा लगाएर ईन आउट खेले जस्तै खेले । एमालेमा ईन भएर पछि फुत्त आउट भएर राप्रपा मै छन् । एमालेले आत्मसात नगरिदिंदा राप्रपै छन् । यस्तो अवस्था देशैभरीका पञ्चहरूमा भएको छ । यो दोष यि पञ्चहरूको होईन ति महापञ्चहरूको हो । सूर्यबहादुर र लोकेन्द्रबहादुरहरूको हो । त्यही अदृश्य शक्तिलाई आज आएर कमल थापाले देखेका छन् । अदृश्य शक्ति दृश्यमा त्यतिबेला आउँछ,४ कि नेतृत्व सत्ताको शिखरमा पुग्न लाग्दा देख्छ कि पुगेपछि देख्छ । भैराखेको यही छ ।
मैले माथी उल्लेख गरेका व्यक्तित्वहरू प्रति मेरो आदरभाव छ । सम्मान नै गर्छु । तर यसो हुनुको कारण पञ्चहरू राप्रपा भएर अडिन किन सक्दैनन् र भएका राप्रपा बारम्बार जुट्ने टुट्ने सन्दर्भमा प्रसँग कोट्टीएको हो । अहिले चर्चीत राप्रपाहरूको एकीकरणको सवालमा मूल तत्वले मिल्न नदिनुको छनक् मात्र यहाँ गर्न खोजिएको हो । पशुपतिहरूमा महाराज भाव बढी देखिनु र कमलहरूमा जनमतको पल्लाभारी आँफूसँग रहेको दम्भ हो । जुन जनमत हिंजो राप्रपाहरूले पाएका थिए, त्यसैको आधारमा भोलीको कल्पना गर्नु मूर्खता हो । सांगठनिक मजबुती हुनु पर्छ भन्ने उनीहरूको ध्येय कहिल्यै रहेन । पछिलाग्ने जनता सँधै भेडाबाख्रा ठान्ने प्रबृत्ति राप्रपाहरूमा अझै हटेको छैन । दुईचार जना धुपौरेहरूले हजूर त महान हो नि भनेको भरमा ईगो बढेको छ । यो जनतामा बेस बन्ने पार्टी हुँदो हो त मिल्न गाह्रो थिएन । कोठा चोटा बाट गोटी चालेर राजनीति दिगो कहिल्यै हुँदैन । उनीहरू आँफू छौउन्जेल राप्रपा मरेपछि जोसुकै होस् भन्ने प्रबृत्ति देखिन्छ । त्यसैले राप्रपाहरू मिलिहाले पनि धेरै टिक्दैनन् । पृष्ठभूमी नै त्यस्तो छ । तर ढिलो भएपनि मिलाप गर्छन् । मिलाप दिगो भैदिए देशको भलो नै हुन्थ्यो ।