जिल्ला प्रहरी कार्यालय म्याग्दीले फरार अभियुक्तहरुको खोजीकार्य जारी राखेको जनाएको छ । विभिन्न अपराधमा संलग्न भई जिल्ला अदालतबाट सजायँ सुनाइए पनि फरार रहेका ती अभियुक्तहरुलाई खोजी गरी पक्राउ गर्ने कार्यलाई तिव्र पारिएको हो ।
यसरी फरार रहेका अभिुक्तहरुलाई पक्राउ गर्ने क्रममा चालु आर्थिक वर्ष २०७५÷७६ को साउन भदौमा विभिन्न १४ जनालाई पक्राउ गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताए । उनका अनुसार चोरी, डकैती, लुटपाट, कर्तव्य ज्यानलगायत सजायँ सुनाइएका अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।
बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रनाउ बुढामगरले गत आवमा १२ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । आर्थिक वर्ष २०७४÷७५ मा १२ जनाबाट १० वर्ष १० महिना १३ दिन कैद र २१ हजार ९१६ रुपैयाँ जरिवाना रहेको छ । यसैगरी आर्थिक वर्ष २०७३÷७४ मा ५ जनालाई पक्राउ गरिएकोमा ३५ वर्ष ९ महिना २९ दिन र दुईलाख ९ सय १६ रुपैयाँ जरिवाना असुलउपर गरिएको छ ।
चालु वर्षमा १४ जनाबाट ६ वर्ष ५ महिना ८ दिन कैद सजायँ र ९७ हजार ४९० रुपैयाँ जरिवाना असुली भएको छ । अहिलेसम्म म्याग्दीमा अझै ३४ जना अभियुक्त फरार सुचीमा रहेका छन् । चालु वर्षमा फरार सबै अभियुक्तलाई पक्राउ गर्नका लागि विशेष योजना बनाइएको प्रनाउ बुढामगरको भनाइ छ ।