बिजुली बत्तीको प्रयोग गरेर पनि लामो समयसम्म विद्युत महशुल नबुझाउने ग्राहकहरुको लाइन काट्न थालिएको छ । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीले विगत लामो समयसम्म विद्युतको बाँकी बक्यौता नतिर्ने ग्राहकको लाइन काटेको हो ।
विद्युत प्रयोगवागत भुक्तानी गर्नुपर्ने रकम नबुझाएका ग्राहकहरुको बिजुली बत्ती काटिएको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीले जनाएको छ । लामो समयदेखि विद्युत महशुल नबुझाएका ग्राहकहरुको लाइन काट्ने अभियानमार्फत विद्युत कार्यालयलाई विद्युत महशुल नतिर्ने ग्राहकको लाइन काटिएको म्याग्दी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।
उनका अनुसार सार्वजनिक सूचना जारी गर्दा पनि विद्युत महशुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काटिएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को साउन महिनादेखि नै लामो समय विद्युत महशुल नतिर्ने ग्राहकमध्ये हालसम्म करिब २५ जनाको बत्ती काटिएको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिएका छन् । विद्युतको धेरै बक्यौता रहेको, लामो समय महशुल नबुझाएका ठूला ग्राहकको विद्युत लाइन काटिएको छ । विद्युत महशुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान कार्यालयको नियमित कार्यक्रम रहेको केन्द्र प्रमुख न्यौपानेको भनाइ छ ।
विद्युत महशुल नतिर्नेहरुमा विगत पाँच छ वर्षदेखि निरन्तर रुपमा विद्युत प्रयोग गर्दै आइरहेका ग्राहकहरु रहेका छन् । खासगरी विद्युत प्रयोग गरेवापत बक्यौता नतिर्नेहरुमा फर्निचर तथा क्रसर उद्योग, ह्याचरी, केही सरकारी तथा गैरसरकारी कार्यालय रहेको विद्युत कार्यालयले जानकारी दिएको छ । विद्युतको महशुल नतिर्नेहरु म्याग्दी सदरमुकाम बेनीबजार र ग्रामीण भेगका उपभोक्ताहरु हुन् । म्याग्दी जिल्लामा मात्रै विद्युत उपभोग गर्ने १६ हजार ग्राहकहरु रहेको कार्यालयको तथ्याङ्क छ । न्युनतम मासिक ३० रुपैयाँदेखि एकलाख ५० हजार रुपैयाँसम्म विद्युत महशुल तिर्ने ग्राहकहरु रहेका छन् ।
गतवर्ष विद्युत कार्यालयले समयमै विद्युत महशुल नबुझाउने १ सय ४५ जना ग्राहकहरुको लाइन काटेर २२ लाख रुपैयाँ भन्दाबढी बक्यौता उठाएको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिए । विद्युत नियमावलीमा ६० दिनसम्म विद्युत महशुल नबुझाउने ग्राहकहरुको विना सूचना लाइन काटिने कानुनी व्यवस्था छ । यसैबीच विद्युत कार्यालयले दरबन्दी अनुसारका कर्मचारी नहुँदा दैनिक कार्यसम्पादनमा समस्या भएको बताएको छ । विद्युत कार्यालय म्याग्दीमा कुल ५३ जनाको जनशक्ति हुनुपर्नेमा हाल ३९ जना मात्रै कार्यरत छन् ।
कार्यालयले जनाए अनुसार प्रशासनतर्फ २२ हुनुपर्नेमा कार्यरत ११ र ३१ दरबन्दीमा कार्यरत १५ जना मात्रै छन् । कार्यालयमा २५ जना कर्मचारी स्थायी र बाँकी ज्यालादारीका रहेका छन् । कर्मचारी अभावका कारण भौगोलिक विकटता र ग्रामीण क्षेत्रमा विद्युत बिग्रिएको खण्डमा तुरुन्तै काम गर्न समस्या रहेको कार्यालयको भनाइ छ ।
Previous Article१६ हजारभन्दा बढी पोर्न साईटमाथि निषेध
Next Article पर्वत बेनीमा रक्तदान कार्यक्रम