तीते करेली
कृष्णराज शर्मा
दशैंहरू सबै उत्तिकै उमँगका छन् । उत्तिकै रमाईला छन् । यसपाली देखेको र भोगेको यो ऋतुको यो दशैंमा पनि त्यत्तिकै रमाईलो र उमँग छ, फेरीपनि फरक छ । फरक त उमेर र समयले पार्ने रहेछ । फरक उमेर र समयको होईछ । उमेरले दशैं मनाए जस्तो मैले मनाएर रमाईलो नहुने रहेछ । मेरा नशा नशामा दौडने दशैं समय क्रममा हिंडन थालेको छ । झुल्के घाम देखि डुबुल्के घाम सम्म मेरो उमेरको दशैंले उफाथ्र्यो । आज समयले त्यसो हुन दिंदैन । त्यति साह्रै डाँडा माथी पुगेकै त होईन म । र पनि जुनियरहरूको बाहुल्यताले ढेपेपछि मैले यसो भन्न सक्ने रहेछु र भनें । यिनै दशैं खेल्दै हेर्दै आएको म यसपालीको दशैंमा अर्कै खेलें,अर्कै देखें । अर्थात यसपालीको दशैंमा जे देखें, त्यही लेखें !
मेरो घरको सामुन्ने यौटा पक्की घर बनिरहेको छ । घर बनाउने ज्यामीहरू राती अबेर सम्म काम गर्छन् । सबैलाई दशैंको रमाईलो छ । तर यि मजदुरलाई दशैं थाहै छैन । कालो बालुवा रातो अबीर हो । सिमेण्टका बोरिका त्यान्द्रा जमरा हुन् । गिट्टी अक्षेता हुन् । यिनलाई रमाईलो भनेपनि नरमाईलो भनेपनि यही काम छ,बस् ! यिनीहरू पनि हिन्दु धर्माबल्बी हुन् । यिनले पनि दशैं मनाउँछन् । तिहार मनाउँछन् । जनैपूर्णीमा मनाउँछन् । हामी सबैले मान्ने पञ्चाङ्ग पात्रो अनुसार यिनीहरू चल्छन् । तर उनीहरूको मुख्य चाड दशैं बनेन । दशैं लाग्दैन । दशैं भन्दा ठूलो चाड छठ् पर्व हो । अरू चाडपर्व घरमा भएको बेला मान्छन्, काम भएको बेला पर्यो भने थाँती राख्छन् । तर जहाँ भएपनि जहाँ रहेपनि छठ् पर्वका बेला कुनैपनि हालतमा घरमा पुग्नै पर्छ यिनीहरूलाई । साहूसंग वादा गरे अनुसार सकिनसकि काम गरेर आफ्नो पसिना पोको पारेर छठ् पर्वमा घर पुग्छन् । हाम्रो देशको तराईमा यस्तो सांस्कृतिक परम्परा छ । यो निम्नवर्गका समुदायमा रहेको अवस्था हो । उता मध्यम र उच्चवर्गका तराईबासी नेपालीले पनि दशैंलाई भन्दा छठ्पर्वलाई नै बढी महत्व दिएर धुमधामका साथ मनाउँछन् । देश विदेशमा रहेका सबै यही अबसरमा आफ्नो घर भित्रिन्छन् । यो छठ्पर्वका बेला कुनैपनि तराईबासी नेपाली दाज्यूभाई अन्यत्र गएर वा भएर रमाउन सक्दैनन्,जति आफ्नै घर आँगनीमा रमाउँछन् । बाध्यताले रोक्नु अर्कै कुरा हो ।
तर हाम्रो पहाडी साँस्कृतिक परम्परामा भने अरू चाड जे सुकै होस्, दशैंमा घर पुग्नै पर्छ । ठूलाबडाको हातबाट आशीर्वाद लिनै पर्छ । लठेपिङ खेल्नै पर्छ । चहमच्चा टेक्नै पर्छ । च्याङ्ग्रा च्यालुक् काट्नै पर्छ । खोरखोरे अथवा झण्डीडबल खेल्नै पर्छ । चङ्गा उडाउनै पर्छ । तर आजकल कतिपयलाई यसो गर्नैपर्ने हुन छाडेको छ । यो दशैंमा घर आउन भन्दा पर गएर दशैं मनाउन खोजिंदैछ । त्यो परम्परा तोडिंदैछ । अझ भनौं विश्वको एकमात्र हिन्दुराष्ट्र नेपालका हिन्दुहरू ‘छिटो छिटो’ दुईचार पैसा कमाएँ भनेर मुस्लिम देशलाई गन्तब्य बनाएर दशैं मनाउन थालिएको छ । दशैंको फूलपाती देखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मलेशिया सिंगापुर दुबई तर्फ लाग्दै गर्दाका अनुहारहरू देख्न थालेका छौं । फेसबुक वालमा सगौरब ति अनुहार छापिन्छन् । मैले ति अनुहारको जन्मदिने एक आमाको रोदन सुनेको छु । उनी आफ्नो जीवनको बाँकी दिन गन्दैछिन् । यो दशैंमा सबै छोराछोरी जम्मा भएको हेर्न चाहन्थिन् । समयले नेपालीका छोराछोरी परदेशिन बाध्य छन् । यो एउटा पक्ष छँदैछ तर, स्वेशमै भएका छोरा बुहारी दशैंमा घरमा आउलान् भनेर आश गरेकी आमा निराश बनेको देखेको छु । थुप्रै आमाहरू दशैंमा छोरा नातीको अनुहारको सट्टा पैसाले खरिद गरेका उपहार हेरेर दशैंमा बस्न विवश छन् । यो दशैंमा पनि त्यसै गर्यो त्यो आमाको छोराले । आमाले त्यो छोराको लागि साँचेर राखेको आशीर्वाद मुटु भित्रै गाँठो पारेकी छिन् । नवदुर्गा भवानीले तिम्रो ईच्छा पुरा गरून् भन्दै आएको आशीर्वाद् फेरी दिन चान्थिन् । समाजमा सबैको मान्यगुन्य भए भन्ने आशीर्वाद दिन चाहन्थिन् । तर छोरो विदेशतिर बुहारी लिएर हुईंकियो । अब दशैंको भोलीपल्ट फर्कनेछ । आफ्नो व्यापार व्यवशाय र पेशामा फर्कने छ । उस्तै परे फर्केपछि छोराले आमालाई फोनगर्न बिर्सने छ । आमाका मन भरि यिनै कुरा भक्कानिएर रहने छन् । आमा अस्तिभर्खर हृदयघातले थला परेर पुनर्जीवन लिएर आएकि हुन् । उनमा जीवन ज्यूने उच्च मनोबल खस्केको छ । त्यही भएर कोखबाट झरेका मुटुका टुक्रा घरी घरी सुमसुमाउन चाहन्थिन् यसपालीको दशैंमा ! यसपाली यस्तै भयो ति आमालाई ! म चाहन्छु ति आमाको दीर्घायू होस्!
पोहोर छोराले बुहारी ल्यायो । आयस्था कमजोर हुँदाहुँदै उमेर हुँदाहुँदै छोराले केटी टिपेर ल्यायो । आमाले घरको सबै व्यवहार आँफै गर्छिन् । बाबालाई आमाले व्यवहारमा अँठ्याएकी छिन् । त्यसैले आमालाई सबथोक कुराको मेसो मिलाउनु पर्छ । पढ्न पठाएको छोरो नोकरी गर्न थाल्यो । नोकरी गर्दा गर्दै छोकरीमा दिल बहलाए पछि बीसको नपुग्दै छोराले यस्तो उपती गर्यो । बुहारी भित्र्याउन आमाले सबै कुराको जोहो गरिन् । बाठा आफन्तले चर्को व्याजमा आमाको अप्ठेरो फुकाई दिए । आमाले बुहारी हप्तादिन पनि चाख्न पाईनन् । नोकरीमा फर्के छोरा बुहारी । ठीकै हो गरिखान हिंड्नै पर्यो ! आमाले चित्त बुझाईन् । दशैंमा आएर दुःख सुख कुरा गरौंला । बाठा आफन्तको चर्को ब्याज थोरै भएपनि बुझाउँला । कत्रो आशा राखेकी छिन् आमाले । दशैंको अघिल्लो साँझ आए नव दम्पति छोराबुहारी । आमा खुशी भईन् । हस्याङ फस्याङ गर्दै आमाले खाना खान दिईन् । बुहारीले लटर पटर साथ दिईन् । यसैबेला छोराले भन्यो– आमा बिहान टिको चाँडै छ । छिटो गरेर फर्कने हो है ! आमाले पहिलो दशैं ससुराली पठाउन यसो गर्नै पथ्र्यो । तर छोराले भन्यो– त्यसपछि घोडेपानी ट्रेकिङमा जाने हो । उतैबाट नोकरीमा फर्कने हो । आमाले यो सुनेपछि खिन्न भईन् । भोलीपल्ट भने अनुसार सबै भए । घोडेपानी पुन हिल हुँदै पर्यटक बनेका फोटो फेसबुकमा देखिए । आमाले छोराको विवाहको खर्चको साँवा त के ब्याज बुझाउन सकेकी छैनन् । छोरो लाहुरे पल्टेर बुहारीसँग सेल्फी खिच्दै रमाएको छ । म सित यौटा फोटो खिचेनन्,आँफु आँफु यस्ता फोटा खिच्दै हिड्दा रैछन भन्दै आमाले मनमनै भन्थिन् मोवाईलको फोटो देखाईदिनेलाई । आमाले गतिलो सुकिलो गुन्यू आफ्नो हर ढाक्न नपाएर मन कुँडाएर बसेकी छन् । उनैको छोलो घोरेपानी र स्याङ्बोचेको टुरिष्ट बनेको छ । पोखराको फेवाताल र लुम्विनीको आन्तरिक पर्यटक बनेको छ । परिवारमा एउटा उफ्रि उफ्रि रमाएको छ अर्को झुम्रो बनेको छ । बाबु यो सबै तिम्रो सम्पत्ति हो । तिम्रै लागि हो । हामीले खाई नखाई जोगाएको तिम्रै लागि हो । आमाबाबुले यसै भनेर उनैका लागि गरि जोगाएका हुन् । समयले बनाएका सन्तानहरू तिम्रो सम्पत्ति तिम्लेई खाऊ । मेरो लागि मैलेई जे गर्छ गर्छु भन्दै बाउँठिएर रमाएको यही दशैंमा देखिएका लाहुरेहरू देखेर म दङ्ग परें । छ न त धेरै छन्,तर यो दशैंमा खास यी दुई कुरा देखें !