अमृत बास्कुने
विश्वमा सहकारी आन्दोलनलाई पछिल्लो समय सन १८४४ बाट आएको भनेर भन्ने गरिए पनि त्यो भन्दा धेरै पहिला सहकारी आन्दोलन सुरु भएको थियो । सहकारी भन्दैमा संस्था दर्ता गरेर गरिने काम मात्र होइन यसका रुप धेरै फरक छन् । नेपालका ग्रामिण भेक तिर परापूर्व काल देखि नै मेला, पर्म तथा हुद्दा एवम् डफ्फा भनेर लिइने नाम पनि सहकारीताकै एउटा रुप हो । पछिल्लो समय कम्तीमा २५ जनाको समूह बनाएर सहकारी डिभिजन कार्यालयमा दर्ता गरे अगाडी बढ्ने संस्थालाई पो सहकारी भन्ने हो भन्ने मानसीकता विकास भएको भए पनि त्यस भन्दा पहिलाका सहकार्य र ऐचो पैचोलाई हाम्रो समाजले सहकारीता भनेर नमानेको अवस्था हो । मानव विकासक्रम सँगै विश्वभर नै सहकारीताको पनि बिकास भएको हो र छ पनि । गाउँ घरमा खेतीपाती गर्दा होस या अन्य कार्यमा एक अर्का सँग सहकार्य गरेर आलोपालो गरेर अगाडी बढ्ने परम्परा पनि सहकारीता नै हो । हामीले अहिले आएर पछिल्लो समय च्याउ सरी उम्रिएका सहकारी संस्थाहरुलाई हेरेर सोही अनुरुप ब्याख्या गरेर सहकारीको इतिहास लेख्न थालियो भने विगत देखि चलिआएको सहकारीको इतिहास नै नामेट भएर जान्छ । त्यसैले अहिले पछिल्लो समयमा सहकारीको विकास र विस्तार सँगै अगाडी बढ्ने क्रममा नयां संरचना र नयाँ शैलिको सहकारीको मात्र ब्याख्या गरियो भने पुरानो र चलनचल्तीको सहकारीतालाई अबमूल्यन तथा अपमान हुन सक्छ ।
१५ औं सताब्दीमा बेलायतमा सहकारीता सुरु भएको थियो । आधुनिक सहकारीको अवधारणालाई नै लक्षित गरेर थालिएको सहकारी अभियान १५ औं सताब्दीमा केही समय चले पनि त्यस पछि पुनः सुस्तायो र सन १८४४ मा जुलाह मजदुरहरुले सुरु गरेको सहकारीलाई विश्वको पहिलो सहकारी भन्ने गरिन्छ । रोचडेली जुलाह मजदुरहरुले सुरु गरेको सहकारीताले अहिलेको विश्वमा अर्थनीतिमा नै निकै दरिलो साथ दिएको छ। नेपालको अर्थतन्त्रमा तीन खम्बे अर्थ नीतिको अवधारणा अनुसार सहकारी राज्य र नीजि क्षेत्रको सहकार्यमा देश विकास गर्ने मार्गमा अगाडी बढेको छ । नेपालमा अहिले झण्डै ३४ हजार सहकारीहरु रहेका छन् । यतीका सहकारीहरु स्थापना हुँदा त्यसको नेतृत्वमा कति पुगे त ? यसले मानिसको क्षमता बृद्धि गर्ने मार्गमा पनि निकै महत्वपूर्ण काम गरेको छ । सहकारी जात, धर्म, भाषा, लिङ्गका आधारमा स्थापना र सञ्चालन गर्न पाइँदैन तर पनि नेपालमा भने महिलाहरुलाई नेतृत्वमा ल्याउने तथा महिलामा नेतृत्व क्षमता बृद्धि गर्ने उद्देश्यले महिला सहकारी स्थापना गर्ने छुट दिइएको छ । तर त्यस्ता सहकारीमा पनि महिला मात्र नभै पुरुष पनि शेयर सदस्य भने बन्न पाउने गरेका छन् । काठमाडौमा एउटा महिला सहकारीले पुरुषलाई शेयर खरिद गर्न नदिएको सन्दर्भमा अदालतमा मुद्धा परेपछि महिला सहकारीले पनि पुरुषलाई शेयर बिक्री गरेको भएपनि अझै पनि नेपालमा महिला सहकारी संस्था दर्ता गर्न भने राज्यले दिँदै आएको छ । त्यसको मुल ध्यय भनेकै महिलाहरुमा नेतृत्व क्षमता बढाउँदै राज्यका हरेक निकायमा महिला सहभागितालाई बृद्धि गर्नु नै हो ।
अहिले नेपालमा रहेका ३४ हजार सहकारी संस्थाहरुमा झण्डै ६ लाखले रोजगारी पाइ रहेका छन् । प्रत्यक्ष रुपमा ६ लाखले रोजगारी पाएको र अप्रत्यक्ष रुपमा पनि त्यत्तिनै हाराहारीले रोजगारी पाएका छन् सहकारी बाट । त्यसैले अहिले हाम्रो देशमा अर्थतन्त्रको ठूलो हिस्सा सहकारीले ओगटेको छ भन्दा फरक पर्दैन । किन र कुन मान्यता अनुसार यस्तो भन्न सकिन्छ भने झण्डै १० लाख हाराहारीलाई सहकारीले देशमै रोकेर राखेको छ । सहकारीमा प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका र सञ्चालक तथा लेखा समितिमा सदस्यहरु गरेर अहिले देशका १५ लाख जती मानिसहरु सहकारीमा आबद्ध छन् । त्यस्तै सहकारीमा करिब करिब डेढ करोड शेयर सदस्यहरु छन् । राज्यको जनसंख्याको आधा हिस्सा सहकारी संस्थामा शेयर सदस्यका रुपमा रहेको अवस्थामा सहकारी अहिले प्रत्येक घरभित्र पुगेको छ । त्यसले मानिसलाई सवल र सक्षम बनाउनका साथै नेतृत्वमा पुग्न पर्छ भन्ने मानसिकताको पनि विकास पक्कै पनि गरेको छ । म्याग्दी जिल्ला भित्र २ सय भन्दा धेरै सहकारी संस्थाहरु दर्ता भएर सञ्चालनमा रहेका छन् । तत्कालिन डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भएर सञ्चालनमा रहेका २१५ सहकारीहरुले म्याग्दी जिल्ला भित्र झण्डै ५ अर्ब रुपैंया परिचालन गरेको छ । यसले के देखाउँछ भने म्याग्दी जिल्ला मात्र नभै नेपाल भर र विश्वमै सहकारीले न्यून आय भएका नागरिकको अत्यावश्यक गर्जो टार्ने काम गरेको छ ।
सन १४९८ मा बेलायतको एवर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्था नै विश्वको पहिलो सहकारी संस्था हो । यस संस्था स्थापना सँगै आधुनिक अवस्थाका सहकारीको जन्म भएको मान्न सकिन्छ । त्यस पछि बेलायतमै सन १८३२ मा स्थापना भएको लकहस्ट लेन इन्डष्ट्रिज कोअपरेटिभ सोसाइटी र १८३९ मा स्थापना भएको ग्यालासिल्स एण्ड हावीक कोअपरेटीभ सोसाइटी हाल सम्म पनि सञ्चालनमा रहेका पुराना सहकारीहरु हुन् । अहिले आएर आफ्नो नाम परिवर्तन गरेर हर्ट अफ इङ्गल्याण्ड कोअपरेटिभ सोसाइटी र लोथिएन बोडर्स एण्ड आर्गस कोअपरेटीभ सोसाइटी भएको छ । तर पनि विश्वको पहिलो सहकारी भनेर रोच्डाल सोसाइटी नामक संस्थालाई लिइन्छ । रोवर्ड ओवनलाई सहकारी आन्दोलनका पिताका रुपमा लिइन्छ र उनी कपास ब्यापारी थिए । आफ्नोमा काम गर्ने कर्मचारी र तीनका बालबालिकालाई उचित शिक्षादिक्षा दिने हेतुले न्यू लनार्क स्कटल्याण्डको कटन मिलमा संसारकै पहिलो कोअपरेटीभ स्टोर खोलेका थिए । पछि उनकै बिचारलाई मूर्त रुप दिँदै विलियम किङले सहकारीमा विभिन्न नियमहरु बसाले । सन १८४४ मा स्थापना भएको रोच्डाल सहकारीले पछि यसका नियमहरु बनायो र सहकारी आन्दोलनलाई स्थापित गर्ने एवम नियमन गर्ने र निरन्तरता दिने हेतुले अगाडी बढेकै कारणले गर्दा नै रोचडाल सहकारीलाई विश्वकै पहिलो सहकारी मान्न थालियो र त्यो अहिले सम्म पनि छ । रोच्डालहरुले उपभोक्ता सहकारीको अवधारणा ल्याएका थिए भने बचत तथा ऋण सहकारी भने जर्मनबाट सुरु भएको हो । जर्मनीमा रेफइसनले गरिब जनताहरुलाई उत्थान गर्ने हेतुले बचत तथा ऋण सहकारी संस्था स्थापना गरी ग्रामिण जनतालाई शोषणबाट मुक्त गराएका थिए । त्यसैले जर्मनीका रेफेइसनलाई बचत तथा ऋण सहकारीका पिता भनेर विश्वभर मानिन्छ ।
नेपालमा भने बखान बेलायती सेनाका अवकास प्राप्त बखानसिंह गुरुङले सुरु गरेको चितवनको बखान सहकारी पहिलो सहकारी संस्था हो । नेपालमा वि.सं. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी बिभाग गठन गरी सहकारीको विकास थालनी गरिएको थियो । तात्कालिन नेपाल सरकारले २०१३ सालमा सहकारी गठन, दर्ता रसञ्चालन आदेश जारी गरेपछि सोही कानुनलाई आधार मानेर बखान सहकारी दर्ता भएको थियो । सहकारी ऐन २०४८ अनुसार सहकारी दर्ता हुँदै आएको भए पनि अब भने संघीयतामा मुलुक प्रवेश गरी सकेको अवस्थामा अब भने मुलुकमा संघीय संरचना र स्थानियतहले बनाएका सहकारी ऐन अनुसार नै सहकारी संस्थाहरु स्थापना र सञ्चालन हुँदै जाने छन् ।
सहकारी स्थापनाका लागि नेपालमा कम्तिमा पनि २५ जना आवश्यकता पर्छ भने अन्य देशहरुमा फरकफरक अवधारणा रहेको छ । सहकारीको विकासक्रमलाई हेर्ने हो भने जापानमा एकपरिवारका ५ मध्ये ४ जना कुनै न कुनै सहकारीमा आवद्ध भएका छन् । जापानमा काम गर्नु भन्दा पहिला केही वेर परामर्श गरेर मात्र काम थालनी गर्ने हुँदा जापानमा हुने कामहरु अधिकांश सफल भएका उदाहरणहरु प्रसस्त छन् । तर त्यही सहकारीलाई आधार बनाएर गलत नियतले काम गर्नेहरुको कमि पनि छैन । अब देशको विकासका लागि सहकारीलाई अग्रस्थानमा राखेर काम गर्ने हो भने नै सबैको भलो हुने हो तर काठमाडौंको ओरियन्टल सहकारीले जस्तो गलत नियतले काम गरियो भने त्यस सहकारीमा बचत गर्नेहरुले जस्तै अन्यले पनि आत्महत्या गर्नु पर्ने अवस्था पनि नआउला भन्न सकिदैन । जब सम्म सहकारीका जुन अन्तर्राष्ट्रिय मान्यता अनुसारका ७ सिद्धान्त छन् त्यसको मर्म नमर्ने गरी काम गरेको खण्डमा न त सहकारी विग्रन्छ न त सहकारीका शेयर सदस्यहरु । सहकारीले अंगिकार गरेको मार्गदर्शन अनुरुप अगाडी बढेको खण्डमा कुनै पनि हालतमा सबको बिकास हुन्छ ।