वर्षात्को समयमा रोकिएको बेनी–पोखरा सडकखण्ड वर्षा सकिएसँगै नयाँ समय तालिका अनुसार पुनः मर्मतको काम सुरु भएको छ । उच्च पहाडी जिल्ला म्याग्दी र हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–पोखरा सडकखण्ड दैनिक ७ घण्टा बन्द गरी मर्मतको काम अगाडि बढाइएको हो ।
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा असोज २० गतेसम्म दैनिक ७ घण्टा पर्वत खण्ड बन्द गर्न थालिएको छ । सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि खरेहा गेटसम्म असोज १ गतेदेखि २० गतेसम्म दैनिक ७ घण्टा बन्द गर्न लागिएको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भैरहेको छ ।
सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राती ८ बजेसम्म २ घण्टा सडक बन्द भैरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जनाएको छ । असोज २० देखि दशैं शुरू हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविद भूषालले जानकारी दिए । सडक खुल्ला हुँदा सबै प्रकारका सवारीसाधन आवतजावत गर्न कुनै समस्या नहुने गरी व्यवस्थापन भैरहेको छ ।
आजदेखि हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनका बेला सडक किनारमा राखिएको निर्माण सामग्रीलाई समेत हटाएर सडक फराकिलो बनाउने काम भएको प्रोजेक्ट म्यानेजर भूषालले बताएका छन् । आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म १५ प्रतिशत काम सकिएको कम्पनीको भनाइ छ ।
हाल सबै ठाउँबाट काम शुरू गरिएको र दशै तिहारपछि कामलाई अझै तिव्र बनाइने भएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तिव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरूपमा विस्तार र स्तरोन्नति गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीनवर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्ने भएको छ ।
Previous Articleदसैंका लागि अग्रिम टिकट बुकिङ आज नखुल्ने
Next Article जनकल्याण माविमा अभिभावक भेला