अमेरिका र चीनबीच अहिले व्यापार युद्ध चर्किएको छ। यो व्यापार हो वा यसमाव्यापारभन्दा ठूलो बिषय छ? यो कहिले सकिन्छ? कसले जित्छ वा यो युद्ध चर्किँदै जाँदा विश्व अर्थतन्त्र नै हार्छ?
संसारका सबैभन्दा शक्तिशाली दुई अर्थतन्त्रबीच व्यापार युद्ध चर्कँदै गएपछि यी प्रश्न स्वभाविक रूपमा उठेका छन्।
पाठकहरूलाई यो ‘व्यापार युद्धका’ आयाम बुझ्न सजिलो होस् भनेर सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकालले तयार पारेको रिपोर्टिङ सान्दर्भीक भएकाले साभार गरी यहाँ प्रस्तुत गरीएको छ ।
यो व्यापार युद्धको गुह्य बुझ्न चार महिनाअघि टम फ्रिडम्यानले न्युयोर्क टाइम्सको आफ्नो स्तम्भमा लेखेको लेखले धेरै मद्दत गर्छ।
जुन बेला उनले यो लेख लेखे, त्यो बेला ‘व्यापार युद्ध’ सुरू भएकै थिएन। अमेरिकी र चिनियाँ प्रतिनिधिहरू वार्ताकै क्रममा थिए।
त्यस्तै एउटा वार्ता बेइजिङमा सुरू हुनुअघि फ्रिडम्यानले मेमा लेख लेखेका थिए।
उनले सो लेख यसरी सुरू गरेका छन्- यो साता अमेरिकी वार्ताकारहरू बेइजिङ आउँदा तपाईंलाई लागेको हुनसक्छ, अमेरिका र चीन सम्भावित ‘व्यापार युद्ध’ टाल्न भेट गर्दैछन्। तपाईंलाई लाग्न सक्छ- यो बिजनेश पृष्ठको ठूलो स्टोरी हो।
एक पटक फेरि सोच्नुहोस्। यो भविष्यमा लेखिने इतिहासका पुस्तकको पहिलो च्याप्टर हो।
उनको भनाइमा यो ‘व्यापार युद्ध’ मात्र होइन।
उनी लेख्छन्-अहिले जे भैरहेको छ, त्यो पुरानो र नयाँ महाशक्तिबीच भविष्यको आर्थिक र शक्ति सम्बन्ध पुनर्परिभाषित गर्ने संघर्षभन्दा कम छैन। चिनियाँ विदेश मन्त्रालयका एक उच्च अधिकारीलाई उद्धृत गर्दै उनी लेख्छन् ‘ यसमा व्यापारर भन्सार शुल्कभन्दा ठूलो कुरा छ। यो भविष्यका बारेको (लडाइँ) हो।’
चीन र अमेरिका आज संसारको जुन ठाउँमा छन्, त्यहाँबाट हेर्दा यो ‘व्यापार युद्ध’मा कोही पनि पछि हट्न सक्ने देखिन्न।
त्यसैले दुबैले एक अर्काका उत्पादनविरूद्ध प्रतिशोधपूर्ण भन्सार शुल्क बढाउँदै लगेका छन्। गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक ३४ अर्ब मूल्य बराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएका थिए। पछि अमेरिकाले सो शुल्क ५० अर्ब डलर बराबरका सामानमा लगायो।
त्यसलगत्तै चीनले पनि ५० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा २५ प्रतिशत शुल्क थप्यो।
ट्रम्पले सोमबार एक विज्ञप्ति जारी गर्दै थप दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा सेप्टेम्बर २४ देखि (अर्को साता) १० प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन्। यो शुल्क बढेर जनवरी १ देखि २५ प्रतिशत पुग्नेछ।
चीनले पनि मंगलबार ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा ‘काउन्टर’ शुल्क लगाउने घोषणा गरेको छ।
चीनले त्यस्तो शुल्क लगाएको खण्डमा चीनबाट आफूले आयात गर्ने सबै पाँच सय अर्ब डलर बराबरका सामानमा २५ प्रतिशत शुल्क लगाउने चेतावनी ट्रम्पले पहिले नै दिइसकेका छन्।
किन अमेरिका र चीन दुबै पछि हट्ने छाँट देखाएरहेका छैनन्?
फ्रिडम्यान लेख्छन्- राष्ट्रपति ट्रम्प र उनको टिमलाई लाग्छ, यो झगडा अहिले गरिनु आवश्यक छ, ढिलो हुनुअघि र चीन हामीले लड्नै नसक्ने गरी ठुलो हुनु अघि!
अर्कोतिर चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि लाग्छ- यो झगडा गरिनु लायक छ किनभने ढिलो भैसक्यो। चीन अमेरिकाले थेग्न सक्नेभन्दा ठूलो भैसक्यो।
अमेरिका तथा युरोपियन युनियनको चीनसँग व्यापारका विषयमा असन्तुष्टि आज देखिएको होइन। लामो समयदेखि नै असन्तुष्टि थियो।
पश्चिमा मुलुकहरूको मूलत: चीनमाथि दुईटा आरोप लगाउने गरेका छन्।
चीनले विश्व व्यापार संगठनका (डब्लुटिओ) नियमहरूको अपव्याख्या गरेर पश्चिमा मुलुकका उत्पादनलाई आफ्नो बजारमा निरुत्साहित गर्छ। चीनले सन् २००१ मा डब्लुटिओ सदस्यता लिएको थियो। त्यो बेला चीन अहिलेको जस्तो आर्थिक महाशक्ति भैसकेको थिएन। त्यसैले उसलाई आफ्नो बजारमा विकसित देशका उत्पादनमा तुलनात्मक रूपमा धेरै शुल्क लगाउन सक्ने छुट थियो।
जस्तै, अमेरीकाले चिनियाँ गाडीमा २.५ प्रतिशत शुल्क लगाउँछ। तर चीनले आफ्नो बजारमा प्रवेशका लागि अमेरिकी गाडीमा दश गुणा बढी अर्थात् २५ प्रतिशत शुल्क लगाउँछ।
विदेशी कम्पनीलाई चिनियाँ बजारमा प्रवेश गर्न राखिएका शर्तसँग पनि पश्चिमा मुलुक क्रुद्ध छन्। विदेशी कम्पनीले चिनियाँ बजारमा आफूलाई स्थापित गर्न स्थानीय साझेदार कम्पनीलाई सो कम्पनीको प्रविधिबारे जानकारी गराउनु पर्छ।
यो नीति अन्तत: विदेशी कम्पनीबाट प्रविधि हत्याउने रणनीति हो भन्ने पश्चिमा मुलुकको आरोप छ। चीनमा बौद्धिक सम्पत्तिको अधिकार कमजोर रहेको र कैंयन् चिनियाँ कम्पनीले पश्चिमा कम्पनीको प्रविधि चोरेको आरोप उनीहरूले लगाउने गरेका छन्।
युरोपियन युनियनले चिनियाँ अर्थतन्त्रलाई राज्य सञ्चालित ‘विकृत’ अर्थतन्त्र भनेको छ। विदेशी कम्पनीलाई चिनियाँ बजारमा प्रवेश नदिएको वा प्रवेश सीमित गरिएको उसको आरोप छ।
‘चिनियाँ कम्पनीलाई जे कुरामा छुट दिइन्छ, त्यही कुरामा विदेशी कम्पनीलाई भने कज्याइन्छ,’ उसले भनेको छ।
चीन अझै पनि विकासशील मुलुक भएको, चिनियाँ नागरिकको जीवनस्तर अझै पनि पश्चिमा मुलुकसरह नपुगिसकेकोले चिनियाँ बजार पश्चिमाका लागि अहिलेनै पूर्ण रूपमा खोल्न नसकिने उसले जनाउँदै आएको छ। साथै विदेशी समानमा लाग्ने शुल्कमा लगातार सुधार हुँदै आएको र यो क्रम जारी रहने पनि उसले जनाएको छ।
अमेरिका, युरोपियन युनियन र चीनबीच व्यापार र चिनियाँ बजारका सवालमा यो मतभेद नयाँ होइन। चीन डब्लुटिओमा प्रवेश गरेको केहि वर्षदेखि नै यी विवाद जारी छन्। तर अहिले आएर आधारभुत रूपमा के कुरामा परिवर्तन भयो, जसले अमेरिका र चीनलाई आमनेसामने मात्र ल्याएन, उनीहरूबीच व्यापार युद्ध नै सुरू भयो?
एउटा कारण अमेरिकी राष्ट्रपति ट्रम्प हुन्। उनले आफ्नो चुनावप्रचारकै दौरान चीनसँगको व्यापार घाटालाई प्रमुख मुद्दा बनाएका थिए। तर ट्रम्पका कारणमात्र अहिले अमेरिका-चीन ‘व्यापार युद्ध’ चर्किएको होइन। सायद अर्को कोही राष्ट्रपति भएको भए पनि अमेरिका र चीन यसपालि व्यापारका विषयमा आमनेसामने हुने थिए भन्ने विश्लेषण धेरैको छ। किनभने यो व्यापारको झगडा कम र भविष्यमा गएर विश्वमा अमेरिका वा चीन कसको प्रभुत्व स्थापित हुने भन्ने झगडा बढी हो।
अहिलेको अमेरिका र चीनबीचको प्रतिष्पर्धामा सन् २०१५लाई ‘टर्निङ पोइन्ट’ मान्ने धेरै छन्। सन् २०१५ मा अमेरिका र पश्चिमा मुलुक साँच्चै नै झस्केको र अब चीनलाई ‘छुट’ दिन हुन्न भन्ने निष्कर्षमा पुगेको धेरैको ठम्याइ छ।
सन् २०१५ त्यो वर्ष थियो जहिले चीनले ‘मेड इन चाइना-२०२५’ रणनीतिको घोषणा गर्यो।
२०१५ सम्म पश्चिमा मुलुकले कचकच गरे पनि चीनलाई धेरै गम्भीरतापूर्वक लिएका थिएनन्। धेरै पश्चिमा मुलुकका नजरमा चीन ‘सस्तो र कमसल’ सामान उत्पादन गर्ने मुलुक थियो। अमेरिका, जापान र युरोपका कैंयन् मुलुकका दाँजोमा चीनको प्रविधि क्षेत्रमा पकड कम थियो। नयाँ अनुसन्धान, अविष्कार र महंगा सामानको उत्पादनमा चीन पछाडि नै थियो।
‘मेड इन चाइना- २०२५’ चीनको यस्तो छवि बदल्ने महत्वकांक्षी योजना थियो। ‘सस्ता’ सामानमात्र बनाउने चीनले नवीनतम् प्रविधि प्रयोग हुने १० क्षेत्रमा भविष्यमा चिनियाँ कम्पनीले संसारकै
नेतृत्व लिनेगरि काम गर्ने महत्वकांक्षी योजनाका साथ अघि बढ्यो।
‘मेड इन चाइना-२०२५’ चीनलाई भविष्यमा ‘टेक्नोलोजिकल सुपरपावर’का रूपमा स्थापित गराउने रणनीति हो भन्ने पश्चिमा मुलुकले बुझे।
ती १० क्षेत्रमा काम गर्ने चिनियाँ कम्पनीलाई चाहिने पूँजी, प्रविधि र बजार संरक्षणको प्रतिवद्धता चीनले गरेपछि पश्चिमाहरू झनै चिढिए।
जब चीनले हवाइजहाज र रकेट, नयाँ पुस्ताको सुचना प्रविधि, मेरीटाइम इन्जिनियरिङ, सौर्य र बिजुलीबाट चल्ने गाडी, उच्चस्तरका रोबर्ट, रेल यातायात, आधुनिक कृषि मेसिन, बायोमेडिसिन र आधुनिक स्वास्थ्य उपकरण, बिजुली र उर्जाका उपकरण र ‘न्यु मेटेरियल’का क्षेत्रलाई राज्यको संरक्षणमा अघि बढाउने योजना सार्वजनिक गर्यो, अमेरिका र पश्चिमा मुलुक, खासगरि अमेरिकाले आफ्नो आर्थिक र सामरिक प्रभुत्वमाथि खतरा महशुस गर्यो।
चीनले आफ्नो बजार नखोली, पश्चिमा प्रविधि ‘सारेर’ सस्ता सामानको उत्पादन गरून्जेल पश्चिमा मुलुकले खासै टाउको दुखाएका थिएनन्। डब्लुटिओको सदस्य चीनले बिस्तारै बजार खोलिहाल्छ, आफ्ना कम्पनीले प्रवेश पाइहाल्छन्, र नयाँ प्रविधिको विकास र अविष्कारमा आफ्नै नेतृत्व कायम रहन्छ भन्ने उनीहरूको विश्वास थियो।
‘मेड इन चाइना-२०२५’ रणनीतिले पश्चिमाको यो विश्वासमाथि प्रहार गर्यो। यदि यी १० क्षेत्रमा चीनले ठूलो उपलब्धि हासिल गर्यो र नेतृत्व नै लियो भने लामो समयसम्म बर्चश्व रहेको युरोपियन र त्यसपछिको अमेरिकी युग समाप्त हुनेछ। यसले चीनलाई आर्थिक मात्र होइन, सामरिक महाशक्तिका रूपमा पनि स्थापित गर्नेछ। भविष्यमा उसकै प्रभुत्व स्थापित हुनेछ, जसरी २० औं शताब्दीमा अमेरिकी प्रभुत्व स्थापित भयो।
त्यसैले पश्चिमा मुलुक चीनलाई कस्न थालेका छन्। ‘व्यापार युद्ध’ त्यसकै कडी हो।
चीनले कतिपय क्षेत्रमा ठूलो प्रगति हासिल गरेको छ। जस्तै, संसारमा सबैभन्दा चाँडो कुद्ने ‘बुलेट ट्रेन’ चीनले नै बनाएको छ। बिजुलीबाट चल्ने गाडी र सौर्य उर्जाका क्षेत्रमा पनि चीन अग्रणी स्थानमा छ। रोबोटिक्समा उसले ठूलो फड्को मारेको छ।
तर अझै पनि ‘मेड इन चाइना २०२५’ रणनीति अन्तर्गत विकास गर्ने भनिएका धेरै क्षेत्रमा प्रविधिका हिसाबले चीन धेरै पछि छ। ती क्षेत्रमा फड्को मार्न चीनले केही हदसम्म पश्चिमा ज्ञान र प्रविधिमा अझै पनि भर पर्नुपर्छ।
चीनले यी क्षेत्रमा प्रविधि भित्र्याउन आफ्ना कम्पनीलाई पश्चिमी मुलुकमै गएर त्यहाँका महत्वपूर्ण कम्पनी किन्न प्रोत्साहित गरेको थियो। नयाँ प्रविधिमा तीव्र विकास गरिरहेका पश्चिमी कम्पनीमा लगानी गर्ने र त्यो प्रविधि चीन भित्र्याउने ती कम्पनीको रणनीति हुन्थ्यो।
अहिले धेरै पश्चिमा मुलुक चिनियाँ कम्पनीलाई त्यस्ता महत्वपूर्ण क्षेत्रका कम्पनीमा लगानी गर्न बन्देज गर्ने कानुन पास गर्न लागेका छन्।
अमेरिकाले केही समयअघि संसारकै चौथो ठूलो चिनियाँ टेलिकम्युनिकेसन कम्पनी जेटिईलाई सुपर कन्डक्टर बेच्न अमेरिकी कम्पनीलाई प्रतिबन्ध लगाएको थियो। उसले जेटिईसँग कुनै पनि सामान नकिन्ने पनि जनाएको थियो। यो प्रतिबन्ध अहिले केही खुकुलो पारिएको छ।
अष्ट्रेलियाले एक महिना अघिमात्र दुई चिनियाँ टेलिकम्युम्निकेसन कम्पनी जेटिई र हुवाईसँग राष्ट्रिय सुरक्षाका कारण फाइभ-जी प्रविधि नकिन्ने निर्णय गरेको छ।
त्यसैले यो ‘व्यापार युद्ध’ अमेरिका र चीनबीच मात्र सीमित छैन। यो फैलिँदै छ र पेचिलो बन्दैछ।
अन्तत: कस्ले जित्छ यो व्यापार युद्ध?
यसको एकिन उत्तर छैन।
धेरै विश्लेषकले अमेरिका अहिले बलियो अवस्था रहेको तर्क गरेका छन्। अमेरिकी अर्थतन्त्र उच्च दरमा वृद्धि भैरहेको छ, प्रत्येक दिन हजारौं रोजगारी सिर्जना भइरहेका छन्। बेरोजगारी पछिल्लो १८ वर्षमा सबैभन्दा न्यून बिन्दुमा छ। त्यसैले व्यापार युद्धको मार अमेरिकी अर्थतन्त्रमा कम पर्ने विश्लेषकहरूले बताएका छन्।
यसको अर्को पाटो पनि छ। अर्थशास्त्रीहरू भन्छन्- दुई मुलुकबीच व्यापार युद्ध भयो भने जसले धेरै निर्यात गर्छ, त्यसैलाई मार पर्छ।
अमेरिकाले चीन जति सामान निर्यात गर्छ, त्यसको तीन गुणा बढी आयात गर्छ। पछिल्लो वर्ष अमेरिकाले १३० अर्ब डलर बराबरका सामान चीन निर्यात गरेको थियो भने, चीनबाट ५०० अर्ब डलर बराबरका सामान आयात गरेको थियो।
त्यसको अर्थ व्यापार युद्ध चर्कदै जाँदा अमेरिकी उत्पादकलाई भन्दा ज्यादा मार चिनियाँ उत्पादकलाई पर्छ।
यहाँसम्म की चीनले अमेरिकी शुल्कको काउन्टरमा भन्सार शुल्क बढाउन पर्याप्त सामान पनि पाउने छैन।
उदाहरणको लागि पहिलो चरणमा अमेरिकाले ५० अर्ब डलर बराबरको चिनियाँ आयातमा शुल्क लगायो। चीनले पनि तुरुन्तै ५० अर्ब डलर बराबरकै अमेरिकी सामानमा शुल्क लगायो। दोस्रो चरणमा अमेरिकाले २०० अर्ब डलर बराबरका सामानमा भन्सार शुल्क वृद्धि गरेपछि चीनले बुधावार ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा भन्सार शुल्क बढाउने जनाएको छ। किनकी चीनसँग भन्सार शुल्क लगाउन २ सय अर्ब डलर बराबरको अमेरिकाबाट आउने आयात नै छैन।
राष्ट्रपति ट्रम्पले चेतावनी दिएजस्तो चीनबाट आयात हुने सबै ५ सय अर्ब डलर बराबरका सामानमा अमेरिकाले शुल्क वृद्धि गर्यो भने चीनसँग ‘काउन्टर शुल्क’ लगाउने आयात नै हुँदैन। अमेरिकाबाट आयात गर्ने १ सय ३० अर्ब डलरका सामानमध्ये १ सय १० अर्ब डलरको आयातमा चीनले शुल्क लगाइसकेको छ।
अर्को महत्वपूर्ण पक्ष, चिनियाँ अर्थतन्त्र अहिले अमेरिकी अर्थतन्त्रजस्तो सुदृढ अवस्थमा छैन। चिनियाँ अर्थतन्त्रको वृद्धिदर अझै पनि अमेरिकी अर्थतन्त्रभन्दा धेरै छ। तर चिनियाँ अर्थतन्त्रको वृद्धिदर सुस्त हुन थालेको छ। लगानी कम हुन थालेको छ।
सबैभन्दा महत्वपूर्ण कुरा यो व्यापार युद्धले कृषि क्षेत्रका बाहेक अमेरिकी उत्पादकलाई अहिलेसम्म खासै असर पारेको छैन। चीनमा भने यसको व्यापक असर पर्न थालेको छ।
आफ्ना उत्पादन अमेरिका निर्यात गर्ने साना तथा मझौला उद्योगहरू मारमा पर्न थालेको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
सो पत्रिकाका अनुसार हङकङ पारी रहेको गुवाङडन प्रान्तको उत्पादन सुचाङ्क २९ महिनापछि अगष्टमा पहिलो पटक खुम्चिएको छ। सामानको माग पछिल्लो तीस महिनामा सबैभन्दा कम छ। निर्यातका लागि माग ‘व्यापार युद्ध’ सुरू भएयताका पछिल्ला तीन महिनामा लगातार घटेर गएको छ।
सो पत्रिकाले ग्वाङडोङ प्रान्तको आर्थिक केन्द्र सेनझेनमा बिजुलीका तार उत्पादन गर्ने ४५ वर्षिय जेम्स झाङको भनाइ छापेको छ। अमेरिका-चीन व्यापार युद्ध सुरू भएदेखि नै आफ्नो व्यापारमा लगातार गिरावट आएको उनले जनाएका छन्। व्यापार अझै ३० प्रतिशतले घट्ने उनको अनुमान छ। उनको फ्याक्ट्रीमा अहिले ८ सय जनाले काम गरिरहेका छन्।
उनी भन्छन्, ‘विदेशी ग्राहकले मलाई छाड्न थालिसके। मेरो निद्रा हराम भैसक्यो। अब मैले धान्न सक्ने अवस्था छैन। अगाडिको बाटो भनेको सबै कुरा छाडेर भियतनामतिर गएर नयाँ फ्याक्ट्री सुरू गर्नुमात्र हो।’
चिनियाँ कम्पनीको लगानी पनि पछिल्लो केही समयदेखि खस्किएको देखिएको छ।
तर पनि यो ‘व्यापार युद्ध’मा चीन पछि हट्ने सम्भावना कम रहेको विश्लेषकहरू बताउँछन्। अन्तत: व्यापार युद्ध चीनले नै जित्छ भन्ने मत पनि उत्तिकै बलियो छ।
चीनले यो युद्ध जित्यो भने विश्वमा नयाँ शक्ति सन्तुलन स्थापित हुनेछ। अर्कोतिर प्रविधिको मूल्य संसारमा पश्चिमा मुलुकले जित्दाभन्दा सस्तो हुन्छ भन्ने मान्यता पनि धेरैले राखेका छन्। चीनमा अहिले पनि प्रतिव्यक्ति आय कम छ, लागत मूल्य कम छ। अहिले नै ठूलो व्यापार नाफामा चलिरहेको मुलुकको आर्थिक प्रभुत्व स्थापित भयो भने नयाँ प्रविधिको मूल्यमा पश्चिमा मुलुकको भन्दा सस्तो हुनेछ भन्ने कतिपयको तर्क छ।
चीनको अर्थतन्त्रमा राज्यले नियन्त्रण गरेका उद्योगहरूको योगदान ठूलो छ। यस्ता ७८ ठूला उद्योगको चिनियाँ अर्थतन्त्रमा दबदबा छ, र तिनीहरूको ७ सय ३० खर्ब डरल बराबरको सम्पत्ति छ।
वर्षौंदेखि संसारका लगभग सबै मुलुकसँगको व्यापार नाफामा चलाइरहेको चीनसँग खर्बौं डलर बराबरको नगद मौज्दात छ। त्यसैले चिनियाँ उद्योगले ‘व्यापार युद्ध’को मार सजिलै धान्न सक्छन् भन्ने मत धेरैको छ।
अर्कोतिर अमेरिकाजस्तो चीन खुला समाज होइन जहाँ व्यापार युद्धका सकारात्मक र नकारात्मक पक्षबारे खुलेर बहस होस्। अहिले त अमेरिकी अर्थतन्त्र राम्रो चरणबाट गुज्रिरहेको छ। केही तलमाथि पर्नासाथ राष्ट्रपति ट्रम्प दबाबमा आउनेछन्।
तर चिनियाँ जनमत भने राज्यका पछि एकमत भएर लाग्नेछ।
चिनियाँहरूलाई इतिहासमा विदेशी शक्तिले ज्यादति गरेकोमात्र याद छैन, अब चीनको पालो आयो भन्ने भरपुर आत्मविश्वास पनि छ। अमेरिकालाई भविष्यमा पछि पार्न र विश्वमा चीनको प्रभुत्व स्थापित गर्न यो ‘व्यापार युद्ध’ आफूहरूले जित्नुपर्छ भन्ने गहिरो आभाष चिनियाँमाझ छ।
यो व्यापार युद्ध कसले जित्छ? वा दुबै मुलुक र विश्व अर्थतन्त्रलाई नै यसले ठूलो क्षति गरेर यो व्यापार युद्ध सकिन्छ? वा केही समयपछि चीन र अमेरिकाले समाधान खोज्छन्, अहिले नै कसैले केही भन्न सक्ने अवस्था छैन। सेतोपाटीबाट साभार