किशोर पहाडी
कथाको शीर्षक— डोरी ।
डोरीको पनि कहीँ कथा हुन्छ ?
तर यो कथा डोरीकै हो— करिब तीन फिट लामो प्लास्टिकको डोरी । त्यो डोरी हरियो रङ्गको थियो । एउटा अव्यवस्थित ढोकामा झुन्डिएको थियो, कीलामा बाँधिएर । अर्कोतिर भित्तामा एउटा फलामको डन्डी घुसारिएको थियो र ढोका लगाउन डोरी त्यो फलामको डन्डीमा अड्काउनुपथ्र्यो ।
प्लास्टिकको डोरी डन्डीमा अड्काउन गाह्रो थियो किनभने चिप्लो हुनुको कारण त्यो पूर्णतः अड्किँदैनथ्यो । त्यसैले भित्र बस्ने मान्छे सधैँ सचेत हुनुपथ्र्यो— ह्वात्त कसैले ढोका खोलिनहालोस् ।
सचेत यस कारण हुनुपथ्र्यो कि डोरी झुन्डिएको त्यो ढोका पूर्णमानको घरको चर्पीको ढोका थियो ।
सचेत चर्पीभित्र बस्नेले मात्र होइन, भित्र जान चाहनेले पनि हुनुपथ्र्यो । कि त जुत्ता बजार्दै जानुप-यो, नभए गीत गुनगुनाउँदै जानुप-यो । बिस्तारै गई ढोका खोल्ने हो भने त दुवै जनालाई लाजमर्दो !
अब तपाईं नै भन्नोस् न— पूर्णमान भित्र हुँदा उसकी बुहारीले ढोका खोली भने ? अथवा आमाचाहिँ हुँदा छोराले ढोका खोल्यो भने ?— एउटा आशङ्का नि !
तर हरियो डोरी तीन फिटको झुन्डिरहेकै छ— निष्प्राण । पूर्णमानलाई चलेकै छ । उसका श्रीमती, छोरा, बुहारी र छोरीलाई पनि चलेकै छ ।
एक दिन बरु ज्वाइँलाई चाहिँ आपद् परेको थियो, पहिलो दिन ।
भर्खर–भर्खर आएका थिए नवविवाहित छोरी–ज्वाइँ पूर्णमानको घरमा । ज्वाइँ चर्पीभित्र गएर छेस्किनी खोज्छ त नदारत !
डोरी !
डोरी कहाँ अड्काउने कहाँ अड्काउने, एकदमै अलमलमा परेको थियो । र, अनि त्यो डोरी हातमा समाएर बसेको थियो ऊ चर्पीमा ।
त्यस दिन पूर्णमानको ज्वाइँले पूर्णमानकी छोरीसँग पूर्णमानको कन्जुस्याइँको बारेमा टीकाटिप्पणी गरेको थियो । लोग्नेस्वास्नीबीच ठाकठुक पनि परेको थियो ।
यद्यपि पूर्णमान कन्जुस छैन । राम्रै लुगा लगाएर हिँड्छ, राम्रै खाएर हिँड्छ । लुगा त अझ पूर्णमानले भन्दा पूर्णमानकी स्वास्नीले पो लगाउँछे त— ठ्याक्कै पैँतीस सय जाने साडी । त्यो पैँतीस सय जाने साडी किन्नलाई पैसा दिँदा पूर्णमानलाई निकै सास्ती भएको थियो— मानसिक ।
करिब आठ चोटि गनेको थियो उसले ती दरा–दरा नोटहरूलाई । गन्न त उसले आपूmले सँगालेर राखेको रुपियाँलाई कति गन्ने गरेको छ कति । साँधी छैन ।
बढेको पनि होइन । घटेको पनि होइन । तर गन्न चाहिँ छोडेको होइन । पूर्णमानले चोर औँलालाई जिब्रोमा दल्दै पैसा गनेको पूर्णमानको सानो नाति बिजूले हेरिरहने गर्छ र भन्छ— “बाजे ! मलाई पैसा दिनोस् न । मोमो खान्छु ।”
“धत्, खानु हुन्न मोमो । बोसो हुन्छ, छ्या !” —पूर्णमान झटपट पैसा लुकाउँछ ।
“नाइँ, खान्छु के” —नाति जिद्दी गर्छ । बाजेचाहिँ झटपट सेफमा ताल्चा मार्छ ।
हो, मोमो खानु हुन्न । बोसो हुन्छ । जे भए तापनि सेफभित्र राखेको पैसाबाट त झन् हुँदैन ।
हरेक बिहान एकपल्ट पूर्णमान सेफको पैसा गन्छ । हरेक साँझ पनि गन्छ । बिटाका बिटा राखिएका नोटहरू मुसार्छ । आश्वस्तताको सास फेर्छ ।
र, चर्पीको ढोकामा प्लास्टिकको डोरी झुन्डिएको झुन्डिएकै छ ।
बूढीमाउ ३–४ हजार पर्ने सारी लगाएर ट्याक्सी चढ्छिन् । चढेकै छिन् ।
नाति ‘मोमो खाऊँ’ भन्दै नै छ । बाजे ‘बोसो हुन्छ खानु हुन्न’ भनेर पन्छेको पन्छेकै छ ।
र, पूर्णमानको छोरो ?
पूर्णमानको छोरो छ फेरि अनौठाको । पूर्णमानले छोराको निम्ति एउटा कोल्डस्टोर पसल थापिदिएको छ । छोरो गोज्याङ्ग्रो छ, त्यसैले बुहारी पनि ऊसँगै पसलमा बस्छे । पसलमा राम्रो व्यापार छ । हरेक साँझ पसलमा भएको पैसा उनीहरूले पूर्णमानलाई बुझाउन ल्याउनुपर्छ ।
छोरो गोज्याङ्ग्रो छ, तर बुहारी बाठी छे । व्यापार भएको सबै पैसा बुझाउँदिन घरमा । अलिकति आफ्नो लागि पनि छुट्ट्याउँछे । ज्यादै बाठी छे, ‘व्यापार अलि घट्दै छ’ भन्ने गुनासो गर्छे । तर सुटुक्क केही पैसा आफ्नो पोल्टोमा हाल्छे ।
पूर्णमानका छोरा–बुहारी पनि त्यही चर्पी प्रयोग गर्छन् र चर्पीको ढोकामा प्लास्टिकको डोरी झुन्डिएको छ ।
पैसा खर्च गर्नुप¥यो भने मानसिक सास्ती पाउँछ पूर्णमानले । राम्ररी थाहा छ घरका सबै जनालाई; त्यो फुच्चे बिजूलाई समेत ।
त्यसैले त एक दिन बिजूले आफ्नो बाजेलाई भनेको थियो— “बाजे ! तपाईंसित कत्तिका पैसा छ हगि ?”
“छ छ । चुप लाग् ।” पूर्णमानले नाक चेप्य्राउँदै गाली गरेको थियो ।
“किन जम्मा मात्र पारिराखेको त ? खर्च पनि गर्नोस् न ।”
“किन खर्च गर्ने ? किन ?” रिसले आफ्नो नाक मुठ्याउँदै पूर्णमान बम्केको थियो— “खर्च ग¥यो भने त सिद्धिइहाल्छ नि !”
“खर्च गरेन भने झन् ढुसी पर्ला नि त !” ताली बजाउँदै हाँस्यो बिजू ।
पूर्णमान गम्भीर भयो र बिजूलाई आफ्नो नजिकै बोलायो । उसको टाउको मुसा-यो । माया गरेझैँ गाला पनि मुसा-यो र भन्यो— “हेर्, यी सब जम्मा पारेको तेरै निम्ति हो । तँ पछि ठूलो हुन्छस् । तँलाई पढाउनुपर्छ । तेरो बाउ हेर् त्यस्तो गोज्याङ्ग्रो छ ।… आपूmसँग पैसा छ भन्ने विचार मात्रले पनि मलाई कति आनन्द लाग्छ ।”
यसरी बूढाले आफ्नो टाउको र गाला मुसारेकोमा बिजू दङ्ग प-यो— ‘कति माया गर्छ बाजेले मलाई । हो त नि, पैसा सेफमै भएको राम्रो ।’
तर बूढाले चाहिएको चीज पनि किनिदिँदैन । खान मन लागेको खानेकुरा पनि खान दिँदैन । ‘बोसो हुन्छ । धत् !’
आइसक्रिम खाऊँ भन्यो भने ‘चिसो लाग्छ’ भन्ने । मोमो खाऊँ भन्यो भने ‘बोसो हुन्छ’ भन्ने । चकलेट खाऊँ भन्यो भने ‘दाँत कीराले खान्छ’ भन्ने । पैसा खर्च गर्नप-यो कि त नाना थरीका बहानाहरू । त्यस्तो पैसा पनि के त, नभएकै जाती ।
तर त्यस दिन टाउको र गाला मुसारेर पूर्णमानले बिजूलाई सिटी बज्ने चकलेट खानलाई पैसा पनि दिएको थियो । पूरा दस रुपियाँ ।
‘मासु खानु हुँदैन, मुटुको रोग हुन्छ’ भन्ने बूढोले त त्यो दिन बिजूलाई ‘ल, कलेजो ल्याएर तारेर खाऔँ’ भनी आधा किलो कलेजोको निम्ति पैसा पनि दिएको थियो ।
बिजू दङ्ग परेको थियो । खसीको दुई टुक्रा कलेजो खान पाएको हुनाले त्यो दिन बिजूको गोज्याङ्ग्रो बाबु पनि दङ्ग परेको थियो । सबै दङ्ग परेका थिए ।
तर यो कुरा त्यो एक दिनको मात्र कुरा हो । प्रायजसो त पूर्णमान मासु, चकलेट खान पैसा खर्च गर्दैगर्दैन ।
बिजूलाई चाहिँ मोमो खान एकदमै मन पर्छ ।
घरछेउमै मोमोपसल खुलेको छ एउटा नयाँ र फुच्चे बिजू मोमो कसरी खाने भन्ने ध्याउन्नमै हुन्छ ।
एक दिन बिजूका बाबु र आमा पसल गएका थिए । बज्यैसँग मोमो खान पैसा माग्दा ‘छैन’ भनी दिइनन् । बाजेले त झन् दिने कुरै भएन । तर मनचाहिँ मोमो खानेमै थियो ।
त्यसपछि बिजूले एउटा जुक्ति गर्ने विचार ग-यो— घरमा भएका पुराना अखबारहरू बेचेर त्यसबाट आएको पैसाले मोमो खाने । घरको हरेक कोठाका पुराना अखबारहरू बटुलेर ठिक्क पा-यो उसले । अखबारको सानो मुठो नै तयार भयो तर त्यसलाई बाँध्ने केले ? उसले घरको हरेक कोठामा अखबार बाँध्ने चीज खोज्यो तर भेटेन ।
डोरीसोरी केही भेटिन्छ कि भनेर उसले हरेक कोठा चहा¥यो । भान्छामा खोज्यो, बैठकमा खोज्यो, पलङमुनि खोज्यो, बाकसमाथि खोज्यो तर भेटेन । अन्ततः झल्याँस्स चर्पीको ढोकाको डोरी सम्झ्यो, पल्याकपुलुक हेर्दै गयो । बालबुद्धि र मेहनतले निकै समय लगाएर डोरी निकालिछाड्यो । अखबार बाँध्यो ।
‘खाली सिसी, पुरानो कागत ।’ आवाज सुन्नासाथ उफ्य्रो ऊ, र अखबार लगेर त्यसलाई बेचिदियो ।
बिजूले त्यो दिन एक प्लेट मोमो खाने पैसा पायो । ऊ दङ्ग थियो । मनमनै विचार गर्दै थियो— त्यसैले पो किताबमा बलभन्दा बुद्धि ठूलो हुन्छ भनी लेखेको रहेछ त !
बिजूले मोमोको पहिलो डल्ला मुखमा हाल्दा उता घरमा पूर्णमान चर्पीभित्र छि-यो । अभ्यस्त हातले फलामको डन्डीमा डोरी बाँध्न खोज्दा डोरी उसले भेटेन त्यहाँ ।
ऊ छक्क प-यो । भुइँतिर हे-यो । ढोकाबाहिर हे-यो । माथि हे-यो । तल हे-यो । तर डोरी अहँ, थिएन त ! चर्पीको प्यानको खोपिल्टोमा समेत हे-यो । तर डोरी पाउन सकेन ।
अनि ऊ झोक्कियो— चर्पीको डोरी खोइ ?
डोरी खोइ ?
चर्पीको ढोकाको डोरी खोइ ? स्वास्नीलाई सोध्यो ।
“थाहा छैन । जे पनि मलाई मात्र भन्नुहुन्छ ।”
बिजूलाई सोध्यो, जो भर्खर घरभित्र पसेको थियो ।
“के थाहा मलाई ?”
आखिरमा तीनै जना मिलेर घरभरि अर्को डोरीको खोजी भयो । बिजूलाई त थाहा थियो घरमा डोरी छैन भनेर । तर उसले पनि खोजेझैँ ग-यो । पूर्णमान र उसकी स्वास्नीले चाहिँ कुना–कुनामा खोजे एक टुक्रा डोरी ।
तपाईंहरू जाबो डोरीको पनि कहीँ कथा हुन्छ ? भन्नुहुन्छ, तर त्यो घरमा कतै पनि एक टुक्रा डोरी भेटिएन ।
पूर्णमान निराश भयो । उसको अनुहार कालोनीलो भयो । स्वास्नीलाई सोध्यो थाकेर— “एई ! तीन–चार फिट डोरीको कति पर्ला हँ ?”
बूढी हाँसी— “केको डोरी नि अब ? एउटा छेस्किनी नै किनेर ल्याउनोस् । बेकारमा लोभ गर्नुहुन्छ ।”
पूर्णमानले पनि अब डोरीको सट्टा छेस्किनी नै किन्ने विचार ग-यो ।
र, मैले कथा अन्त्य गर्न लागुन्जेलमा पूर्णमान एउटा हार्डवेयर पसलमा पुगेर भन्दै थियो— “साहूजी ! एउटा एकदमै सस्तोचाहिँ छेस्किनी दिनोस् न । त्यति बलियो चाहिँदैन, चर्पीमा लगाउने त हो नि !”
वरिष्ठ कथाकार किशोर पहाडीको चर्चित कथा ।